अकर्मण्य सरकार, निरास जनता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

अकर्मण्य सरकार, निरास जनता

काठमाडौं, २३ साउन । शक्तिशाली भनिएको वर्तमान सरकारको गतिशीलता लगभग शून्यतातर्फ जाँदै गरेको देखिएको छ । लामो समयदेखि सरकारको उपस्थिति क्रमशः घट्दो छ । यसलाई सूक्ष्म रुपले हेर्नेहरु नेपालमा व्याप्त रहेको वैदेशिक संजालको सक्रियतासंग जोड्न पुग्छन । भारतसँगको विवादसँगै चौतर्फी रुपमा घेराउमा परेको वर्तमान सरकार कानुनी रुपमा त अस्थित्वमा छ, तर सरकारले आफ्नो अनुभूति दिलाउन भने सकिरहेको छैन ।

आफ्नै पार्टीका अध्यक्षबाट मागिएको राजीनामा प्रसंगसंगै भारतलाई बचाउ गर्दै आएको भनाई र त्यस पार्टीका अरु दुई जना वरिष्ठ नेताहरुको नाम समेत जोडेर आफ्नो समूहको बैठकमा बताइएको भन्दै भारत मामिलामा पोखिएका समाचारहरु विभिन्न संचार माध्यमहरुमा आएका छन् । यसबाट भारतीय विषय र उसको अभिष्ट कतिसम्म गडेको रहेछ स्पष्ट देखिएको छ । सरकार गिराउन नसकेसंगै अकर्मण्य बनाई सरकारको समय खेर फाल्ने रणनीतिमा रहेको भारत कै सिकार यो सरकार बन्दै गएकोप्रति भने सरकारमा बस्नेहरु गम्भीर देखिएका छैनन् ।

विवादग्रस्त पार्टीमा आवद्ध प्रधानमन्त्रीदेखि मन्त्रीहरु गुटगत अभिलाषामै लिप्त रहनु सरकारको दिनचर्या बनेको छ । मन्त्रीहरु कुन गुटमा लाग्ने ? कसरी बढी कार्यकर्ता समेट्ने ? र सत्ताको कुन संयन्त्र प्रयोग गरेर कार्यकर्तालाई आफ्नो बशमा पार्ने भन्ने हाडबाजीको कारण सरकारी कामकाज काम चलाउ बन्दै गएको छ । छिमेकीसंग विवाद बढी रहेको छ , देश भित्र महामारीले कहालीलाग्दो रुप लिंदै गएको छ । झण्डै ६१ प्रतिशत उद्योगहरु पूर्णरुपमा बन्द छन् । चलेका उद्योग पनि नाम मात्रमा सीमित छन् । उद्योगी व्यवसायीहरुले आफ्नो लगानी कटौती गरेका छन् ।

बैंकहरुको लगानी गर्ने वातावरण करीव करीव निस्क्रिय बन्दै गएको छ । देशकै प्रमुख आयश्रोतको रुपमा गणना गर्ने गरिएको पर्यटन क्षेत्र पूरै थला बसेको छ । कयौं सहरहरुमा लकडाउन र निषेधाज्ञाको आदेश छ । देश भित्र आवागमन गर्ने अवस्था छैन । यी सबै माहौल हेर्ने हो भने, देश भित्र रोजगारी प्राप्त गर्ने निजी क्षेत्रका लगभग सबैले अबको केही महिना भित्र रोजगारी गुमाउनु पर्ने अवस्था आएको छ । सरकारी कार्यालहरुमा कार्यरत कर्मचारीको सेवा सुविधा कटौती गरिएको छ । अनियमितता गर्न नमिल्ने ठाउँमा कार्यरत कर्मचारीले कामको निरन्तरता देलान या नदेलान भन्ने अवस्था देखिएको छ । दिनानुदिन बढ्दै गएको आत्महत्याका घटनाहरु गिर्दाे आर्थिक अवस्थासँग जोडिइ रहको छ । यी सबै अवस्थाको सन्दर्भमा सरकार बेखबर झैं देखिएको छ ।

आज नेपाली जनताको अगाडि एउटा गम्भीर सवाल खडा भइरहेको छ । सरकारको विरोध गर्दा भारतीय शक्तिलाई सहयोग पुग्ला भन्ने डर, समर्थन गरौं भने सरकारको काम लगभग शून्यतातर्फ जांदैछ । तीनै तहको सरकारको आर्थिक चपेटामा पर्दै आएको निरीह जनताको दैनिकी झनझन कष्टकर बन्दैछ । सरकारबाट काम गर्न नसकेको मात्र होइन आशा लाग्दा संकेतहरु पनि देखिएका छैनन् । सरकार आस्थाको केन्द्र पनि हो । आस्था नै रहेन भने जनमानसमा निरासा शाहेक केही रहँदैन । अहिलेको अवस्थामा यस्तै छ । यस्तो अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीसंग नजिक रहेका आम पार्टीपंक्ति समेत गम्भीर हुनुपर्ने अवस्था आएको छ ।

आफ्नो नेताको अगाडि रचनात्मक टिप्पणी गर्न नसक्ने पदलोलुप प्रवृत्तिले नेताको हित गर्दैन । हुँदै नभएको कुरालाई राम्रो भन्न थालियो भने त्यसले नेताको हित होइन, अनिष्ट नै गर्छ । प्रधानमन्त्रीको वरिपरी रहने समूहले पनि देशको वास्तविकता आफ्ना नेता समक्ष प्रष्टसंग राख्न सक्नुपर्छ । वादशाहको शैलीमा गुणगान मात्रै गाउन थालियो भने त्यसले न देशको हित गर्छ न नेतृत्वको नै ।

सबै कुरा ठीक छ भन्दै गुणगानमा रमाउने प्रवृत्ति भनेको स्वार्थलोलुप पद लिप्सा र सामन्ती संस्कारको उपज हो भनेर बुझ्न ढिलो भयो भने, त्यसको परिणाम अकल्पनीय र निरासाजनक हुनसक्छ । याद गरौं, जनताले वर्तमान सरकारलाई समर्थन गरेको भनेको सरकारले गरेको राम्रो कामको कारणले होइन सरकार गिर्दा भारतलाई सहयोग पुग्छ भनेर हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);