प्रधानमन्त्री सामु दुई विकल्प विपक्षीको चाहना अनुसार अकर्मण्य बन्ने कि, कामले मुखभरीको जवाफ दिने ! | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

प्रधानमन्त्री सामु दुई विकल्प विपक्षीको चाहना अनुसार अकर्मण्य बन्ने कि, कामले मुखभरीको जवाफ दिने !

भनिन्छ, कुनै पनि महामारी वा संकटले विनास मात्र ल्याउँदैन, त्यसले विकासको लागि अवसर पनि दिन्छ । जापान, चीन, युरोपका धरै मुलुकहरुले विगतमा धरै संकट र महामारीलाई अवसरको रुपमा लिइ विकास गरेको धेरै उदाहरण पढ्न र देख्न पाइन्छ । कोरोना माहामारी पनि नेपालको लागि अवसर हुनसक्छ । रोजगारको सिलसिलामा विदेशमा रही सीप सिकेर स्वदेश फर्किएका युवालाई नेपालमै काम गर्ने वातावरण बनाउन सके नेपालको लागि अवसर हुन्छ । तर सरकारले यो वातावरण बनाउन नसक्दा उनीहरु फेरी विदेशी भूमिलाई नै गन्तव्य बनाउन बाध्य भएका छन् ।

कोरोनाको महामारीसँगै रोजगरीको सिलसिलामा विश्वभर छरिएर रहेका नेपालीको स्वदेश आगमनलाई अवसरको रुपमा लिनुपर्नेमा सरकारको अकर्मण्यतासँगै निरर्थक हुने देखिएको छ ।द्वन्द्वकालीन समयमा विभिन्न कारणले देश भित्र बस्न नसकेका नेपालीहरु आआफ्नो हैसियत अनुसारको देशहरुमा रोजगारीको लागि जाँदा प्रायः नेपालका वस्तीहरु खाली बन्दै गएका थिए । ग्रामिण बस्तीहरु त लगभग सुनसान नै थिए । एकाध घरले मुश्किलले आफ्नो गाउँको विरासत थामेको देखिएतापनि कसैको मृत्यु हुँदा मलामी जाने मान्छे समेत नभएको कारुणिक अवस्थासँगै त्यस्ता व्यक्तिहरु पनि गाउँबाट विस्थापित भएबाट सम्भावना नै सम्भावनाले भरिएको ग्रामिण बस्ती मृत समान भएका थिए ।

यसै परिवेशमा, विदेशीएका जनहरुको नेपाली मनसहि सहज आगमनले हर्षित बनेका नेपालका ग्रामिण बस्तीहरुको खुशी सरकारको अकर्मण्यतासँगै धेरै दिन नटिक्ने देखिंदैछ । सरकारले विदेशमा रोजगारीको लागि जान सहज वातावरण बनाउँदै गएको देखिएको छ । संसारले आफ्नो नागरिकलाई आफ्नो देशमा केन्द्रित गरिरहेको बेलामा नेपालले रोजगारीको लागि विदेश जानको निमित्त अनुमति दने निर्णय गर्नु असान्दर्भिक मात्र होइन, गैर जिम्मेवारीको पराकाष्टा पनि हो ।

सरकारले यति पनि सोच्न सकेन कि यो परिवेशमा रोजगारीको लागि विदेश जानुपर्दाको नेपाली मनले के सोचेको होला ? तिनीहरुको मनमा नेपालप्रति र नेपाल सरकारप्रतिको भावना कस्तो बन्यो होला ? महामारीको त्रासबीच आफ्नो गाउँ, आफ्नो ठाउँ छोडेर जान कसलाई मन लागेको होला ? त्यसो त सरकारले कुनै पनि अवसरलाई अवसरको रुपमा सोच्ने फुर्सद समेत निकालेको देखिएको छैन । उराठलाग्दो विवादै विवादको भूमरीमा डुबेको सत्तारुढ दल नेकपा, छायाँ सरकारको गफ दिने नाम मात्रको प्रतिपक्षी नेपाली कांग्रेस, राज्य संयन्त्रमा सधैं निर्णायक जस्तो देखिने कर्मचारीतन्त्र सबै नै जनताको अगाडि निकम्मा देखिएका छन् ।

भारतबाट जसरी नेपालीहरु आशा र उमंगकासाथ स्वदेश फर्किएका थिए, त्यसैगरी नेपालमा गरिखाने विकल्प नभएको भन्दै लाइन लागेर फेरी संक्रमणको दलदलमा फस्दै गएको भारततर्फ जानुलाई स्वभाविक मान्नु पर्ने बिडम्बनापूर्ण अवस्थाले सबै नेपालीलाई लज्जित गरेको छ । सरकारले अलिकति पनि पहल गरिदिएको भए सबै नेपालीले नेपाल भित्र हाँसीखेली बस्ने अवसर पाउने थिए । गरिखाने जमिनसँगको मात्र तारतम्य मिलाइ दिएको भए विदेशिनु पर्ने थिएन ।

उत्पादनको साधनहरुको सहज पहुँच मात्रै मिलाइ दिंदा पनि जनता आफ्नै पौरख देखाउन सफल हुने थिए । तर सरकारले सोच्दै सोचेन । दिन दिनै थपिंदै जाने पार्टी नेताहरुको विवादको श्रृंखलाको डोरी जति लम्बिदै गयो, सरकार त्यति अकर्मण्य बन्दै गयो । संक्रमणबाट देशलाई बचाउने कि आफ्नै समकक्षीबाट आएको चुनौतीबाट सरकार बचाउने ? यही खिचातानीमै सरकारले देश र जनताको बारेमा सोच्ने फुर्सद पाएन ।

श्रृंखलाबद्ध भाषणबाजीमा जतिसुकै राम्रा कामहरुको प्रसंग अगाडि देखाइए पनि सरकारको काम घाम जस्तै छर्लङ्ग छ । अब पनि सरकार गम्भीर नहुने हो भने, जनताको नजरमा सरकार निकम्मा सावित हुने निश्चित छ । विरोध गर्नेलाई गाली गरेर मात्र सहानुभूति बटुल्न थाल्नु भन्दा केही न केही जनताको लागि गरेर लोकप्रियता प्राप्त गर्नु सरकारको लागि श्रेष्ठकर छ । सानोसानो कुरामा पनि खुशी हुने नेपालीहरुको सन्तुष्टिपन घोर निराशातर्फ प्रवृत्त हुँदै गयो भने त्यसले सिंगो व्यवस्था र राज्य संयन्त्रप्रति नै आक्रोश सृजना गर्न सक्छ ।

प्रधानमन्त्रीले आफ्ना मन्त्रीहरुलाई सक्रिय पार्दै जनमुखी कार्यक्रमहरु घोषणा गर्न ढिलाई भएमा वर्तमान सरकारका विरोधी र आलोचकहरुलाई नै फाइदा पुग्छ । विपक्षीहरुको चाहना अनुसार अकर्मण्य बन्ने कि कामले मुखभरीको जवाफ दिने ? अबको रोजाई प्रधानमन्त्रीको ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);