एनआरएनए सम्मेलन : ललितपुर घोषणापत्र (पूर्णपाठ) | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

एनआरएनए सम्मेलन : ललितपुर घोषणापत्र (पूर्णपाठ)

ललितपुर । गैर आवाशीय नेपाली संघ (एनआरएनए) को दशौं महाधिवेशन १४ बुँदे घोषणापत्र जारि गर्दै काठमाडौंमा आइतवार मार्च २७ मा सम्पन्न भएको छ ।

दशौँ गैरआवासीय नेपाली विश्व सम्मेलन ललितपुर घोषणा पत्र–२०२२

“गैरआवासीय नेपाली संघको प्रतिबद्धता : समृद्ध राष्ट्र निर्माणमा एकता” भन्ने मूल नारा सहित सम्पन्न दशौं गैरआवासीय नेपाली विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनलाई सभ्य र भब्य रुपमा सफल पार्न आफ्नो उपस्थिति एवं सक्रिय संलग्नता जनाउने सम्माननीय राष्ट्रपतिज्यू, सम्माननीय प्रधानमन्त्रीज्यू, माननीय परराष्ट्रमन्त्रीज्यू, माननीय अर्थमन्त्रीज्यू, माननीय मन्त्रीज्यूहरू, महामहिम राजदूतज्यूहरू, कुटनीतिक नियोगका प्रमुखहरू, नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षज्यू लगायत व्यवसायिक संघसंस्थाका अध्यक्षज्यूहरू, विकास साझेदारहरू, गैरआवासीय नेपाली संघका अध्यक्षज्यू, संरक्षक तथा पदाधिकारीज्यूहरू एवं संसार भरिका गैर नेपाली प्रतिनिधिहरूमा यो सम्मेलन हार्दिक कृतज्ञता ज्ञापन गर्दछ । साथै विभिन्न राजनीतिक दल, विज्ञहरू, संघसंस्था, सञ्चारकर्मी, व्यापारिक समुदाय एवं सम्पूर्ण सौजन्यकर्ताप्रति आभार व्यक्त गर्दै यो सम्मेलन निम्न कार्यहरू गर्ने प्रतिबद्धतासहित ललितपुर घोषणापत्र जारी गर्दछ ।

१. यो सम्मेलन अन्तर्राष्ट्रिय समुदायको सहयोगमा कोभिड १९ को महामारीसँग जुध्न नेपाल सरकारले चालिरहेका कदमहरुको स्वागत गर्दछ। कोभिड १९ को विश्वव्यापी प्रकोप शुरु हुनासाथ संसारभरिबाट गैरआवासीय नेपालीहरुले अक्सिजन कन्सनट्रेटरहरु लगायत अन्य स्वास्थ्य सामग्रीहरु नेपाल पठाएको र संघकै पहलमा विभिन्न प्रदेशहरुमा ४ वटा स्थायी अक्सिजन प्लान्टहरु निर्माण भै सकेको स्मरण गर्दछ । आगामी दिनमा पनि नेपाल र नेपालीलाई कुनै पनि विपद् पर्दा संसारभरिका नेपालीहरुले हातेमालो गर्ने प्रतिबद्धता व्यक्त गर्दछ ।

२‍. नेपालको संविधान २०१५ मा गैर आवासीय नेपाली नागरिकताको प्रवन्ध गरिएता पनि हालसम्म पनि उपयुक्त कानून नबन्दा त्यो कार्यान्वयनमा आउन सकेको छैन । उक्त कानून कार्यान्वयन नहुँदा संसारभरिका नेपालीहरुले नेपालमा आफ्नो सम्पत्ति सुरक्षित भएको महसुस गर्न सकेका छैनन् । तसर्थ छुट्टै ऐनको व्यवस्था गरेर भए पनि संसदको आगामी अधिवेशनबाट उक्त कानून कार्यान्वयनमा ल्याउन हामी नेपाल सरकार लगायत सबै राजनीतिक दलहरुलाई आग्रह गर्दछौं ।

३. “एक पटकको नेपाली सधैंको नेपाली” भन्ने मूल मन्त्रलाई सार्थक गर्न आफूसँग रहेको सीप, पूँजी र प्रविधि नेपाल र नेपालीको हितमा परिचालन गर्न संसार भरि रहेका गैर आवासीय नेपालीहरु प्रतिबद्ध छन् । त्यसका लागि आवश्यक कानूनी सुधार एवं उपयुक्त संरचनाको विकासका लागि हामी नेपाल सरकारका सम्बन्धित निकायहरुलाई अनुरोध गर्दछौं । साथै संघले गत वर्ष आयोजना गरेको दोश्रो विश्व ज्ञान सम्मेलनका निस्कर्षहरु कार्यान्वयन गर्न एउटा कार्यदल बनाउन पनि नेपाल सरकारलाई आग्रह गर्दछौं ।

४. मुलुक आगामी एक वर्ष भित्रै तीनै तह (संघीय, प्रादेशिक र स्थानीय) को निर्वाचनको संघारमा रहेको छ । स्वतन्त्र र निस्पक्ष तवरले उक्त निर्वाचनहरू गराउँदा संविधान कार्यान्वयन भई मुलुकले राजनीतिक स्थायित्व प्राप्त गर्दै आर्थिक विकासको दिशातर्फ उन्मुख हुने हाम्रो विश्वास छ ।

५. गैरआवासीय नेपाली संघले आफ्नो स्थापना कालदेखि प्रतिवद्धता जाहेर गरे अनुरुप कम्तिमा १० अर्ब नेपाल भित्र्याई संस्थागत रुपमा सामूहिक लगानीको आधारशिला खडा गर्दै नेपालको विकासमा सहभागी भई लगानीको अवसर प्रदान गर्न एनआरएन नेपाल डेभलपमेण्ट फण्ड स्थापना गरिएको छ । साथै गैरआवासीय नेपालीहरुबाट हुने लगानीलाई सहजीकरण गर्न, नेपालको संविधानले दिएको आर्थिक तथा सामाजिक अधिकार उपभोग गराउन सहजीकरण गर्नको लागि कानुनी संरचना सुधारको कदम चाल्न नेपाल सरकारलाई हार्दिक आग्रह गर्दछ ।

६. सन् २०३० सम्म नेपाल सरकारद्वारा निर्धा्रित सन् २०२२ भित्र नेपाललाई अल्पविकसित मुलुकको दर्जाबाट स्तरोन्नति गर्ने, संयुक्त राष्ट्र संघले लिएको दिगो विकासका लक्ष्यहरु पूरा गर्ने र मध्यम आय भएको राष्ट्र बन्ने समेत तीन वटा महत्त्वाकांक्षी विकास लक्ष्यहरूसँग सम्बन्धित रणनीतिहरूमा गैरआवासीय नेपालीहरूको महत्त्वपूर्ण भूमिका र योगदान हुन सक्ने जनाउँदै उपरोक्त लक्ष्यहरू पुरा गर्न यो सम्मेलन प्रतिबद्धता व्यक्त गर्दछ ।

७. नेपालीहरूको वैदेशिक रोजगारीबाट प्राप्त हुने विप्रेषणले मुलुकको अर्थतन्त्रलाई ठूलो योगदान दिइरहँदा वैदेशिक रोजगारलाई सुरक्षित, न्यायपूर्ण, मर्या्दित र व्यवस्थित पार्न लागत खर्चमा पारदर्शिता, नियम कानुनको पूर्ण पालना, समस्यामा पर्ने कामदारहरूलाई न्याय, उद्धार र क्षतिपूर्तिका लागि स्वदेश र विदेशमा सेवा दिने न्यायिक संयन्त्र स्थापना तथा परिचालन गर्न संघ नेपाल सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्द छ । कामदारहरूको सीप प्रशिक्षण, परीक्षण तथा प्रमाणीकरणलाई सहयोग गर्दै वैदेशिक रोजगारीको आर्जनलाई राष्ट्र निर्माणमा सदुपयोग गर्ने तथा कामदारहरूको भावी सामाजिक सुरक्षाका लागि यस संघले यसअघि अगाडी बढाएको कर्मचारी सञ्चय कोषसँगको सहकार्यमा अघि सारेको अनिवार्य बचत (हजारे अभियान) सहितको सञ्चय कोष कार्यान्वयनका लागि परिणामदायी पहल गर्ने छ ।

८. कोभिड १९ का कारण थला परेको नेपाली पर्यटन क्षेत्रलाई फेरी क्रियाशील तुल्याउन नेपाल सरकार, नेपाल पर्यटन बोर्ड लगायत संसार भरि रहेका नेपाली कूटनीतिक नियोगहरुसँग सहकार्य गर्न संघ सम्पूर्ण एनसीसीहरु लाई आग्रह गर्दछ । यसका लागि आगामी २ महिना भित्र एउटा कार्ययोजना बनाइ सार्वजनिक गरिने छ ।

९. विज्ञान तथा प्रविधिमा संलग्न गैरआवासीय नेपालीको तथ्यांक तयार गर्दै तीनमा संलग्न शैक्षिक संस्था एवं अनुसन्धान केन्द्र र नेपालका शैक्षिक संस्था र अनुसन्धान केन्द्रबीच समन्वयको वातावरणका साथ प्राज्ञिक आदानप्रदान तथा नेपाल र नेपालीको प्राथमिकताका आधारमा संयुक्त अनुसन्धान सम्बन्धी क्रियाकलापका लागि अनुकूल वातावरण तयार पार्न सम्मेलन प्रतिबद्धता व्यक्त गर्दछ । यसका निम्ति संघले एक स्थायी निकाय स्थापना गर्न पहल गर्नेछ ।

१०. नेपालीहरू अत्यधिक संख्यामा रहेका मुलुकहरूमा नेपाल सरकारको प्रतिनिधित्व रहने गरी नेपाली राजदुतावास वा महावाणिज्यदूतावासको स्थापना गर्न तथा भएका नियोगहरूलाई मानवीय तथा प्राविधिक रूपमा समेत सवल बनाउन नेपाल सरकारलाई यो सम्मेलन अनुरोध गर्दछ । नेपाली नियोगहरू स्थापना नभएसम्म स्थानीय गैरआवासीय नेपाली संघका एनसीसीहरुले नेपालीहरूलाई पुर्‍याईआएको सहयोगको निरन्तरताको प्रतिबद्धता व्यक्त गर्दछ ।

११. वाहय लगानी आकर्षणमा प्रमुख वाधक रुपमा औल्याइएको दोहोरो करको समस्यालाई संवोधन गरी लगानी आकर्षणको वातावरण बनाउन नेपालको कुटनीतिक नियोग रहेका र धेरै नेपालीको वसोवास रहेका मुलुकहरुसँग अभिलम्व दोहोरो कर उन्मुक्तिको संझौता डोउब्ले टक्सतिओन् अवोइदन्के अग्रीमेन्त्-ड्ट),लगानी प्रवर्धधन तथा संरक्षण सम्झौता लगायतका सम्झौता अभिलम्व गर्न नेपाल सरकारसँग आव्हान गर्दै त्यसका लागि सहजकर्ताको भूमिका निर्वाह गर्न गैरआवासीय नेपालीहरू तयार रहेको प्रतिबद्धता व्यक्त गर्दछ ।

१२. गैरआवासीय नेपाली संघ नेपालमा विधिवत रूपमा दर्ता भएको र अभियानले झन्डै दुइ दशक पार गर्न लागेको अवस्थामा संघको सँस्थागत संरचना सुधारमा महसुस गर्दै यो सम्मेलन नयाँ रणनीति बनाई सुधारका कार्यक्रम अघि बढाउने प्रतिवद्धता जाहेर गर्दछ । गत केहि समय यता संघ भित्र उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै संघभित्र बृहत एकता र समझदारी कायम गर्न पहल गर्नु हुने सबै अग्रज तथा अभियन्ता एवं शुभचिन्तकहरु प्रति संघ हार्दिक आभार व्यक्त गर्दछ । संसारभरि रहेका लाखौं प्रवासी नेपालीहरुको भावना अनुरुप संघलाई अरु बढी एकताद्ध बनाउन सानातिना मतमतान्तर त्यागी मूल प्रवाहमा समावेश हुन सबै साथीहरुलाई यो सम्मेलन हार्दिक आह्वान गर्दछ । आगामी दिनमा संघको एकता, मर्यादा र गौरवशाली इतिहासमा ठेस पुग्ने खालका कुनै पनि गतिविधि नगर्न सबैलाई यो सम्मेलन अपिल गर्दछ।

१३. गैरआवासीय नेपालीहरुबिच भाईचाराको एकतालाई कायम राख्न झण्डै २ दशक पार गरिसकेको अवस्थामा संघको संस्थागत संरचना सुधार महसुस गर्दै यो सम्मेलन नयाँ रणनीति बनाई सुधारका कार्यक्रम अघि बढाउने प्रतिवद्धता जाहेर गर्दछ । गैरआवासीय नेपाली अभियान एक विशुद्ध गैरराजनैतिक चरित्रको भएकोले दलगत राजनीतिबाट टाढा राख्न नेपालका राजनैतिक दल र विदेशमा रहेका तीनका भातृसंगठनहरुलाई यो सम्मेलन हार्दिक अनुरोध गर्दछ ।

१४. नवौं गैरआवासीय नेपाली विश्व सम्मेलनलाई भव्यरूपमा सफल पार्न सहयोग गर्नु हुने नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ, संचारकर्मी तथा सम्पूर्ण सौजन्यकर्ता, सहयोगी संघरसंस्था र व्यक्तिहरूप्रति यो सम्मेलन हार्दिक कृतज्ञता ज्ञापन गर्दछ ।

२७ मार्च २०२२
ललितपुर

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);