भारतीय खुल्ला सीमाना र सरकारी उदासिनताका कारण भयावह बन्दै कोरोना संक्रमण (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

असोज १६ २०८१, बुधवार

भारतीय खुल्ला सीमाना र सरकारी उदासिनताका कारण भयावह बन्दै कोरोना संक्रमण (भिडियोसहित)

sima-corona

काठमाडौं, १८ साउन । सरकार र नागरिक दुबै पक्षको चरम लापर्वाहीकै कारण नेपालमा कोरोना संक्रमणको जोखिम तीव्र रुपमा बढिरहेको छ । लकडाउन तथा अन्य केही होसियारीका कारण केही मात्रामा भए पनि, संक्रमण जोखिमबाट टाढा रहन सकेको नेपाली समाज आफ्नै कारणले गर्दा अकल्पनीय जनधनको क्षति हुन जाने हो कि भन्ने चिन्ता सर्वत्र गर्न थालिएको छ । संक्रमण फैलिइ हाल्यो भने त्यसबाट बच्नको निमित्त सरकारसंग भौतिक अवस्था राम्रो र पर्याप्त छैन भन्ने कुरा नागरिकले पनि बुझ्न जरुरत छ ।

काठमाडौं लगायत देशभरिको अस्पतालहरुको भौतिक अवस्थालाई हेर्ने हो भने अत्यन्त न्यून देखिन्छ, जसले संक्रमितको सानो संख्या पनि थाम्न सक्दैन । अहिलेसम्म काठमाडौं उपत्यकाको सरकारी अस्पतालमा ८० र निजी अस्पतालमा १८८ गरी कुल २६८ भेन्टिलेटर संख्या रहेको छ । झण्डै तीन करोड जनसंख्या रहेको नेपालमा देशभर गरी करीव नौ सय भेन्टिलेटर मात्रै छ ।

ज्यामितीय अनुपातमा बढ्ने संक्रमणको दरलाई हेर्ने हो भने, यो भौतिक संरचनाले कति जना विरामीलाई थेग्ला ? लामो समयसम्म लकडाउन गर्न सम्भव थिएन होला, तर भारतीय खुला सीमाना बन्द गर्न त सकिन्थ्यो होला नि ? सवारी साधनमा जोर विजोर प्रणालीलाई निरन्तरता दिन सकिन्थ्यो होला नि ? संवेदनशील क्षेत्रमा हुने उपस्थितिलाई अलि बढी कडाई गर्न सकिन्थ्यो होला नि ?

कर असुलीकै लागि सहज बनाउन लकडाउनलाई पूर्ण रुपमा हटाउने सरकारी निर्णय वास्तवमै गैर जिम्मेवार देखिंदै गएको छ । सरकार सतर्कताको नाममा केवल प्रेस विज्ञप्ति मात्रै निकाल्दै जाने हो र जनता अहिलेकै अवस्थामा खुलमखुल्ला आफ्नो गतिविधिलाई अघि बढाउँदै जाने हो भने, दुबै पक्षको होस आउँदा काठमाडौं लगायतका सहरहरु कोरोना संक्रमणले नराम्रोसँग गाँजिसकेको हुनेछ । विश्वमा नै संक्रमितहरुको हव बन्दै गएको भारतको सहज पहुँच काठमाडौंसम्म हुने गरेबाट पनि निकट भविष्यमै काठमाडौंले ठूलै मूल्य चुकाउनु पर्ने अवस्था आउने स्वास्थ्यविद्हरु बताउन थालेका छन् ।

सधैंको लागि बन्द हुनुपर्ने भारतीय सीमाना, कोरोना संक्रमणको बेलामा पनि किन बन्द गर्न नसकेको होला ? कुन चाँही तत्वले रोकको होला ? सरकारको खुटृा किन कामेको होला ? जनताले प्रश्न उठाइरहेका छन् । नेपालीहरु मरेरै पनि भारतीय स्वार्थ पूरा गरिदिनु पर्ने हो ? आफूलाई राष्ट्रवादी भन्न रुचाउने वर्तमान सरकार किन संवेदनशील हुन सकिरहेको छैन ? तराई क्षेत्रका मुख्य सहरहरु लकडाउन भएसँगै बहुसंख्यक मान्छेहरुको गन्तव्य काठमाडौं बन्न गएबाट आन्तरिक रुपमा पनि काठमाडौं देशकै ठूलो जोखिमको सहर बन्दै गएको छ ।

अहिलेसम्म नेपालभरि करीव चार लाख मानिसलाई पनि कोरोना परीक्षण गर्न नसकिएबाट जोखिमको जानकारी कति लुकेको छ भन्ने सहजै थाहा पाउन सकिन्छ । परीक्षण नगरेकै कारण न्यून तथ्यांक देखाई सबै जना गुमराहमा पर्ने हो भने, संक्रमणको नतिजा एकै पटक विष्फोटक बन्न जाने निश्चित छ । त्यसपछि जनता कहाँ हुन्छन ? अर्थतन्त्र कहाँ पुग्छ ? सरकार कहाँ पुग्छ ? सबै अनिश्चितताको बादल भित्र मडारिन विवश हुनेछन् ।

सरकारले ध्यान देओस्, यदि कुनै पनि नेपाली उपचार नपाएर मृत्युवरण गर्नुपर्ने अवस्था आयो भने, त्यसले ल्याउने परिणाम कस्तोसम्म हुनसक्छ, अमेरिका जस्तो महाशक्ति राष्ट्रले भोगेको जनआक्रोस सबैको लागि साक्षी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);