उपत्यकाका सबै नाकामा सेना परिचालन गर्नुपर्छ : डा. रविन्द्र पाण्डे | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

उपत्यकाका सबै नाकामा सेना परिचालन गर्नुपर्छ : डा. रविन्द्र पाण्डे

काठमाडौं, ४ भदौ । जनस्वाथ्य विज्ञ डा. रविन्द्र पाण्डेले काठमाडौं उपत्यकाका सबै नाकामा सेना परिचालन गर्नुपर्ने बताउनुभएको छ । उपत्यकाभित्र अवैध रुपमा आउनेहरुको संख्या धेरै हुँदा कोभिड १९ संक्रमणको जोखिम बढेकाले साना ठूला सबै नाकामा सेना परिचालन गरी नियन्त्रण गर्नुपर्ने डा. पाण्डेले बताउनुभएको छ ।

डा. पाण्डेले उपत्यकाभित्र अवैधरुपमा एकजनालाई पनि प्रवेश गर्न नदिन सेना परिचालन गनुपर्ने आवस्यकता देखिएको बताउनु भएको हो । भारतबाट आएका धेरै मजदुर र संक्रमित क्षेत्रबाट आएका मानिसहरुलाई खोजेर परीक्षण गर्ने कार्यलाई सरकारले तिब्रता दिनुपर्ने पनि उहाँको भनाई छ । उपत्यकाका भित्रि, बाहिरी र मूख्य सडक लगायत सबै क्षेत्रमा प्रहरीलाई खटाई मानिसहरुलाई घर बाहिर निस्कन नदिने कामलाई प्रभावकारी बनाउनुपर्ने उहाँले बताउनुभयो ।

संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि काठमाडौंमा अहिले सम्म क्वारेन्टीनको व्यवस्था नगरिएकाले तत्काल क्वारेन्टीन केन्द्रहरु निर्माण गर्नुपर्नेमा डा. पाण्डेले जोड दिनुभयो । धेरै जनसंख्या भएको ठाउँमा क्वारेन्टाइन नबनाई बस्नुले सरकारले गम्भिर रुपमा नलिएको स्पस्ट हुने पनि डा. पाण्डेले बताउनुभयो । सरकारले कोरोना रोकथामका लागि लकडाउन तथा निषेधाज्ञा मात्रै गर्ने र अन्य कुनै व्यवस्थापन र तयारीका काम नगर्ने हो भने यसको कुनै अर्थ नहुने उहाको भनाई छ ।

एक हप्ताका लागि गरिएको निषेधाज्ञा बढीमा एक हप्ता मात्रै थपौं

डा. पाण्डेले लामो समयसम्म बन्दाबन्दी अथवा निषेधाज्ञा गर्न नहुने पनि बताउनुभयो । उहाँले एक हप्ताका लागि गरिएको निषेधाज्ञा बढीमा एक हप्ता मात्रै थप्न सुझाव दिनुभयो । १४ दिन निषेधाज्ञा हुँदा समान्य लक्षण भएका संक्रमितहरु निको भइसक्ने र लक्षण देखापरेकाहरु अस्पतालमा जाने भएकाले अर्को व्यक्तिमा संक्रमण सार्न सक्ने सम्भावना कम हुने बताउनुभयो । उहाँले समुदाय स्तरमा संक्रमण फैलिएको देखिएकाले १४ दिन अर्थात एक साइकल अवधिसम्म निषेधाज्ञा गर्नु उपयुक्त हुने बताउनुभयो ।

निषेधाज्ञाको अवस्थामा जनता घरभित्र बस्ने र सरकार सडकमा आउने काम भए मात्रै संक्रमणलाई नियन्त्रण गर्न सकिने डा. पाण्डेको भनाई छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरेपछि सरकारले परीक्षणको दायरा बढाउनुपर्ने र मास परीक्षणमार्फत धेरै भन्दा धेरै व्यक्तिको परीक्षण गर्नुपर्ने बताउनुभयो । अहिले सरकारसँग दैनिक २२ हजारको पीसीआर परीक्षण गर्न सक्ने क्षमता भएकोमा सुमदाय स्तरमा पुगेर पुल प्रणालीबाट दैनिक १ लाख बढीको परीक्षण गर्नुपर्ने सुझाव उहाँले दिनुभयो । यसबाट कुन ठाउँमा संक्रमण बढी छ भन्ने कुरा छुट्याउन सकिने र सोही अनुसार व्यवस्थापनको कार्य गर्न सकिने उहाँले बताउनुभयो ।

संक्रमणको स्थिति बढ्यो भने ठूलो क्षति हुनसक्छ

आइसोलेसन वार्ड र आइसीयु अहिले नै भरिएको अवस्था भएकाले संक्रमणको स्थिति बढ्यो भने ठूलो क्षति हुन सक्ने उहाँको भनाई छ । त्यसैले केही अस्पताललाई कोभिड अस्पतालको रुपमा छुट्याउन समेत सुझाव दिनुभयो । काठमाडौंका दुईवटा मेडिकल कलेज, दुईवटा निजी अस्पताल र दुईवटा सरकारी अस्पताललाई कोरोना अस्पतालको रुपमा छुट्याई भेन्टीलेटर, आइसियु, आइसोलेसन वार्डको संख्या बढाउनुपर्ने उहाँले बताउनुभयो ।

संक्रमण धेरै बढेको अवस्थामा सबै विरामीलाई अस्पतालमा राख्न सम्भवन नहुने भएकाले त्यसका लागि अहिले देखि नै व्यवस्था गर्नुपनेृ उहाँको भनाई छ । सबै स्थानीय तहका सबै वडामार्फत कति मान्छे आफ्नै घरमा बस्छन र कति मान्छे भाडामा बसेका छन भन्ने तथ्याङ्क लिएर सोही अनुसार आइसोलेसन केन्द्रको व्यवसथा गर्नुपर्ने उहाले बताउनुभयो । यसबाट आफ्नो घरमा बस्न सम्भव नहुनेहरुका लागि आइसोलेसन व्यवस्था गर्न सहज हुने छ ।

सम्बन्धित वडामा नै रहेका सरकारी भवन, पार्टीप्यालेस, होटल लगायतको ठाउँमा आइसोलेसन बेड तयार गर्ने र न्यूनतम स्वास्थ्यकर्मीको व्यवस्था गरी उपचारको व्यवस्था गर्नुपर्ने बताउनुभयो । जसलाई आइसियु तथा भेन्टीलेटरमा राख्नुपर्ने विरामीलाई मात्रै अस्पताल भर्ना गर्ने व्यवस्था गर्नुपर्ने बताउनुभयो । भेन्टीलेटरमा राख्नुपर्ने संक्रमितलाई निको हुने सम्भावना कम भएकाले भेन्टीलेटरको संख्या धेरै बढाउने भन्दा आइसियु र आइसोलेसन बेड थप्ने र अक्सिजन प्लान्ट राखेर सेवा दिनुपर्ने बताउनुभयो । कोरोना संक्रमण भएको अवस्थामा सरिरमा अक्सिजनको कमि हुने भएकाले अक्सिजनको प्लान्टको व्यवस्था गर्नुपर्ने उहाँले बताउनुभयो ।

विदेशमा अप्ठेरो अवस्थामा रहेका नेपालीहरुलाई तत्काल उद्दार गरी नेपाल ल्याउने काम पनि निषेधाज्ञाको अवस्थामा नै सम्पन्न गर्नुपर्ने उहाँले बताउनुभयो । नेपालमा क्वारेन्टीनको व्यवस्था गरी उनीहरुलाई उद्दार नगरे ठूलो क्षति हुनसक्ने पनि उहाँले भनाई छ । भारतसँगको सीमानाबाट पनि धेरै मानिसहरु नेपालमा आउने भएकाले त्यसको व्यवस्थापनमा सरकारले प्रभावकारी काम गर्नुपर्ने बताउनुभयो । अब पनि तयारी पुगेको छैन भन्ने अवस्था नरहेको उहाँको तर्क छ । कुनैपनि नेपाली नेपाल आउन चाहन्छ भने त्यसको व्यवस्थापन गरी आउन दिनुपर्ने उहाँले बताउनुभयो । त्यो काम पनि निषेधाज्ञाको अवस्था भित्र नै सम्पन्न गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

सबैले मास्क लगाउँदा ७० प्रतिशत संक्रमणलाई कम गर्न सकिने र मास्कसँगै भौतिक दुरीलाई कायम गर्ने हो भने संक्रमणको अवस्थालाई ९० प्रतिशत कम गर्न सकिने र हात धुने लगायतका काम गर्दा संक्रमणलाई अधिकतम रुपमा नियन्त्रण गर्न सकिने उहाँले बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);