एजेन्सी, ९ साउन । इटालियन सिरी ’ए’ फुटबलमा लिग लिडर युभेन्ट्सले उपाधिका लागि अझै कुर्नु पर्ने भएको छ । बिहीबार राति उडिनेजसँग २–१ गोल अन्तरले पराजित भएपछि युभेन्ट्सले उपाधिका लागि अझै कुर्नु पर्ने भएको हो ।
उडिनेजको मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा युभेन्ट्स पराजित भएको हो । खेलको ४२ औं मिनेटमा म्याथिस डी लिग्टले गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ५२ औं मिनेटमा ल्लिजा नेस्टोरभोस्कीले गोल गर्दै उडिनेजेलाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।
त्यसपछि खेलको इन्जुरी समयमा सेको फोफानाले गोल गर्दै उडिनेजेलाई २–१ को जित दिलाए । जितले लिग उपाधि निश्चित भएको अवस्थामा उडिनेजेसँग पराजित भएसँगै युभेन्ट्सले अर्को खेल कुर्नुपर्ने भएको छ । उपाधिका लागि युभेन्ट्सलाई ३ अंकको आवश्यकता रहेको छ । उडिनेजेलाई हराउन सकेको भए युभेन्ट्स तीन खेल अगावै च्याम्पियन बन्ने थियो ।
युभेन्ट्स लगातार नवौं सिजन सिरी ’ए’ को उपाधि जित्ने संघारमा रहेको छ । युभेन्ट्सले सन् २०११–१२ को सिजन यता लगातार उपाधि जित्दै आइरहेको छ ।
यस सिजनको उपाधि जितेमा युभेन्ट्सले ३६ औं सिरी ’ए’ उपाधि हात पार्नेछ । युभेन्ट्सले ८० अंक जोडेको छ । युभेन्ट्स दोस्रो स्थानको एटलान्टा भन्दा ६ अंकले अघि रहेको छ ।