वीरगन्ज, ८ साउन । काेराेनाका कारण आज बिहान वीरगंज महानगरपालिका माइस्थानका एक ७० वर्षका पुरूषकाे मृत्यु भएकाे सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले पुष्टी गर्नु भएको छ । बुधबार राती आएको रिपोर्ट अनुसार थप १७ जनामा कोरोना पोजेटिभ देखा परेको छ । जसमध्ये १३ जना पुरुष र ४ जना महिला रहेका छन् । संक्रमित मध्ये २ जना चिकित्सक, २ जना बिरामी रहेका छन् । संक्रमित देखिएपछि स्थानिय ए एम सी अस्पताल सिल गरिएको छ ।
हाल गण्डक अस्पतालकाे आइसोलेसनमा २६ पुरुष र ३ महिला गरी कुल २९ जना संक्रमित रहेका छन् । यी मध्ये ५ जना लक्षण सहितका विरामी रहेकाे नारायणी अस्पतालले जनाएको छ । केहि दिन अघि वीरगन्जमा एक जनामा काेराेनाकाे लक्षण देखापरि मृत्यु समेत भएकाे थियो।
नारायणी अस्पतालका फिजिसियन डा.निरज सिंह अनुसार अहिले देखा परेको कोभिड पोजेटिभहरुमा पहिले नै लक्षण देखा पर्न थालेको छ । अझ केही संक्रमितहरुमा निमोनिया जस्तो गम्भीर लक्षण पनि देखा पर्न थालेको छ जुन चिन्ता को विषय भएको डा. सिंह बताउनुभयो ।
सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले गत साता देखी देखा परेका अधिकांश संक्रमिहरुको ट्राभल हिस्ट्री नरहेको र कतिपय लक्षण सहितका संक्रमित समेत देखिएकाेले समुदायमा संक्रमण देखिएको बताउनुहुन्छ । उहाँले पर्सा जिल्लामा निकै गम्भीर बन्नुपर्ने अवस्था सृजना भएकाे बताउदै पुनः कठोर बन्नुपर्ने अवस्था आएको बताउनुभयो।
पर्सामा संक्रमित सबै निकाे हुँदै २ जना मात्र बाँकी रहेकाे अवस्था थियाे तर विभिन्न व्यक्तिहरूले स्वेच्छाले जाँच गर्न थालेपछि काेराेना संक्रमित ठूलाे संख्यामा देखापर्दै जानुले समुदायमा संक्रमण भएको पुष्टि गरीरहेकाे छ । नारायणी अस्पताल मा ५ हजार ५ सय रुपैया तिरी स्वेच्छाले परीक्षण गराउनेहरुको भिड बढेको छ । यता वीरगन्ज महानगरपालिकाले सुरु गर्ने भनिएको एक घर एक परीक्षण अभियान अहिले सम्म सुरु गरेको छैन । बन्दाबन्दीको समाप्तिको घोषणा भएसंगै बजारमा भिडभाड झनै बढेको छ ।