सम्पादकीय
काठमाडौं, २७ असार । एउटा सुन्दर, सम्भावना नै सम्भावनाले भरिएको सार्वभौम मुलुक सही तरिकाबाट नेतृत्व हुन नसक्दा कसरी समस्यै समस्यामा जकडिन पुग्दो रहेछ भन्ने, प्रसंगको राम्रो उदाहरण नेपाल बन्न गएको छ ।
धर्तीको कुनै पनि त्यस्तो ठाउँ छैन जहाँ, स्वर्णिम सम्भावना नभएको होस । प्राकृतिक श्रोत र साधनले भरिपूर्ण देश, दुई घण्टाको दुरीमा पाउन सकिने मौसमी बदलाव अनि विश्वले नै रुचाएको नेपालीरुको इमान्दार, मिहिनेती र परिश्रमी कार्यशैली । यी सबै सम्भावनाले पनि नेपालले प्रगति गर्न नसक्नुको पछाडि केवल राजनीतिलाई मान्न सकिन्छ ।
राजनीतिले नै यी सबै नेपालका उत्पादनशील क्षेत्रहरुलाई नारामा मात्र सीमित गर्यो , काम भने हुन सकेन । हरेक प्रधानमन्त्रीको अगाडि देखिने भीमकाय समस्यै समस्याको पहाड, कुनै पनि समस्या समाधान नै गर्न नसकिकन सत्ता छोड्नु पर्दाको पीडा वास्तवमै संवेदनशील हुँदो हो । आफुले काम गर्न नसकेकोमा हिनता बोध पनि हुँदो हो । यसको कारण कसैले पनि गहिराइमा हेरेको पाईंदैन । दुई भीमकाय मुलुकको बीचमा रहेको देश नेपाल, विकासको निमित्त यी देशहरुलाई नेपालले हेर्ने आँखा महत्वपूर्ण हुन्छ ।
यस्तो अवस्थामा नेपालको राजनीति संधैभरि राष्ट्रियतासंग संवेदनशील देखिनुपर्ने हुन्छ । राष्ट्रियतालाई अर्थतन्त्रसंग पनि जोडेर हेर्नुपर्ने हुन्छ । आज देशले सम्पूर्ण आफ्नो बजार यी दुई भीमकाय मुलुकहरुलाई निर्वाध रुपमा छोडिदिंदा नै हाम्रो विकास हुन नसकेको हो भन्ने कुरामा हामी कहिले निष्कर्षमा पुग्ने ? संभावना नै संभावनाको देशलाई केही पनि हुन सकेन भनेर युवाहरुलाई मरुभूमितिर पठाउनु पर्ने आखिरी किन हो ? कहिले बुझ्ने ?
आज देशमा आफ्नो उत्पादन बिक्दैन, आफ्नो चलचित्र हेर्ने कोही छैन, आफ्नो गार्मेन्टको लुगा लगाउने चलन छैन । सम्पूर्ण बजार विदेशी सामानले भरिएको छ । पिउने पानीको लागि विश्लेरीसमेत हामीले भारतबाट आयात गर्छौ । अनि नेपालीहरु पलायन नभएर के गर्ने ? यस्तो अवस्थामा रोजगारीको वातावरण कसरी बन्न सक्छ ? अब यसतर्फ हाम्रो नेतृत्वको आँखा खुल्नुपर्छ । अब आफ्नो बजारको सुरक्षा तत्काल गर्नुपर्छ । विदेशबाट आयात गरिने, तरकारी तथा फलफूलहरुको आयात तत्काल बन्द गर्नेतर्फ सोच्नुपर्छ । अबको तीन महिनापछि खाद्यन्न लगायतका सामानहरुमा पनि आयात नियन्त्रण नीति लागू गर्नुपर्छ । विदेशबाट आयात हुने सामान तथा सेवाहरुलाई आन्तरिक उत्पादन भन्दा महँगो हुने वातावरण बनाउनु पर्छ ।
यसबाट मात्रै देश भित्र उत्पादन गर्नु पर्ने प्रेसर पर्न जान्छ र उत्पादन हुन्छ । कृषि क्षेत्रलाई केन्द्रबिन्दु बनाई कार्यक्रमहरु अगाडि बढाइनु पर्छ । यसको लागि भूमि बैंक, श्रम बैंक जस्ता महत्वपूर्ण अवधारणाहरुलाई तत्काल कार्यान्वयनमा ल्याउनुपर्छ । औषधि लगायतका अत्यावश्यक वस्तुहरुको देश भित्रै उत्पादनका लागि व्यवसायीहरुलाई आकर्षित गर्ने नीति बनाउनुपर्छ । यी सम्पूर्ण कामहरु गर्नका लागि सरकारको वर्तमान संयन्त्र प्रभावकारी देखिंदैन ।
त्यसैले छिटो र छरितो युद्धस्तरमा काम हुनको लागि प्रधानमन्त्रीकै नेतृत्वमा प्रभावकारी संयन्त्र बन्नु जरुरत छ । आवश्यक परे सम्पूर्ण सांसदहरुलाई समेत आफ्नो क्षेत्रमा गई उत्पादनशील कार्यको निमित्त मोर्चाबन्दी गर्न र सहजकर्ताको भूमिका निर्वाह गर्न पार्टीहरुले निर्देशन दिन सक्नुपर्छ । विदेशबाट आएको अनुदानबाट विदेशी सामान खरिद गर्दै उपभोग गर्ने प्रवृत्ति रहेसम्म राष्ट्रवादको कुरा गर्नु बेकार हो । हामीले छिमेकी देशहरुबाट राजनीति मात्रै आयात गर्ने होइन । उनीहरुले अपनाएको अर्थनीतिलाई पनि अनुसरण गर्न सक्यौं भने, विदेशबाट आयात हुने विदेशी सामानप्रतिको उनीहरुको धारणालाई उदाहरणको रुपमा हेर्न सक्यौ भने, हामीले गरेको भूल मनन गर्न कसैलाई पनि समय लाग्दैन ।
खुल्ला सीमाना नै परनिर्भरताको मुख्य कारण हो । यदि यसतर्फ अब पनि सरकारले नसोच्ने हो भने, जनताले स्वस्पूर्त रुपमा मोर्चा गर्नु जरुरत छ । भारतीय सामान बहिष्कार गर्नु जरुरत छ । हरेक क्षेत्रमा मोर्चाबन्दी गर्दै यस्ता सामानहरुको आयातमा नै प्रतिरोध गर्न जरुरत छ । यसबाट मात्रै अर्थतन्त्रकोे आधार बन्न सक्छ । सबैले रोजगार पाउने र आत्मनिर्भरताका साथ नेपाल अघि बढ्न सक्ने वातावरण बन्न सक्छ । स्वाभिमानी अर्थतन्त्र नै राष्ट्र र राष्ट्रिताको मेरुदण्ड हो भन्ने सबैलाई ज्ञात हुनु जरुरत छ ।




