जेन–जी आन्दोलन कारणले कतिपय निकायले लेखापरीक्षण गराएनन्, स्थानीय तहको बेरुजु पनि घट्योः महालेखा परीक्षक राया | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८३, शुक्रबार

जेन–जी आन्दोलन कारणले कतिपय निकायले लेखापरीक्षण गराएनन्, स्थानीय तहको बेरुजु पनि घट्योः महालेखा परीक्षक राया

काठमाडौँ 

महालेखा परीक्षक तोयम रायाले जेन–जी आन्दोलनको असर लेखापरीक्षणमा देखिएको बताउनुभएको छ । शुक्रवार महालेखा परीक्षक कार्यालयको प्रतिवेदनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उहाँले कतिपय निकायले जेन–जी आन्दोलनलाई देखाएर विवरण उपलव्ध नगराएका कारण लेखापरीक्षण हुन नसकेको बताउनु भयो । उहाँकाअनुसार गत वर्ष ७ सय ५३ स्थानीय तहको अडिट गरिएकोमा यस वर्ष ७ सय २१ स्थानीय तहको मात्रै लेखापरीक्षण गरिएको छ । कतिपय स्थानीय तहले अनुकूल अवस्था नभएको भन्दै अडिट नगराएको तथा आन्दोलनका कारण कार्यालय क्षति र कागजात व्यवस्थित नभएकाले अडिट हुन नसकेको उहाँको भनाइ छ ।

यद्यपि स्थानीय तहको बेरुजु तीन वर्षयता लगातार घट्दो क्रममा रहेको उहाँको भनाई छ । केही स्थानीय तहको लेखापरीक्षण हुन नसके पनि समग्र रूपमा वित्तीय अनुशासनमा सुधार देखिएको रायाले बताउनु भयो । महालेखा परीक्षक  रायाले महालेखा परीक्षकको कार्यालयले अनुसन्धान नभई छानबिन र यकिन गर्नुपर्ने विषय मात्रै औँल्याउने स्पष्ट पार्नुभयो । उहाँकाअनुसार विशेष ऐनहरूले कर निर्धारण वा महसुल निर्धारण गर्ने अधिकार सम्बन्धित अधिकारीलाई दिएका हुन्छन् । लेखापरीक्षक भएकाले देखिएका विषय छानबिन गरी टुंग्याउन सम्बन्धित निकायलाई आग्रह गर्ने गरेको उहाँको भनाइ छ । रायाले यस वर्ष कुल बेरुजु ७ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको जानकारी दिँदै उहाँले लेखा उत्तरदायी अधिकृतहरूको नाम वार्षिक प्रतिवेदनमै सार्वजनिक गरिएको बताउनु भयो  ।

मन्त्रालयका सचिव तथा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई जिम्मेवार अधिकारीका रूपमा प्रतिवेदनमा उल्लेख गरिएको उहाँको भनाइ थियो । अडिटरहरूले होटलमा बसेर अनियमितता गर्ने आरोपबारे उहाँले प्रमाणसहित जानकारी दिन आग्रह गर्नुभयो । उहाँले कसैले अनियमितता गरेको प्रमाण भए आफूलाई जानकारी दिन आग्रह गर्नुभयो । त्यस्तो कर्मचारीमाथि छानबिन हुने उहाँको भनाइ छ ।रायाले अडिट, प्रारम्भिक प्रतिवेदन र सम्परीक्षण प्रक्रियामार्फत यस वर्ष १४ अर्ब रुपैयाँ राजस्व खातामा फिर्ता भएको जानकारी दिनुभयो । उहाँकाअनुसार खर्च भइसकेको वा उठ्न बाँकी रकममध्ये १४ अर्ब रुपैयाँ उठ्नु ठूलो उपलब्धि हो । महालेखा परीक्षकको कार्यालयले बेरुजु औँल्याउने काम गर्ने र त्यसपछि सार्वजनिक लेखा समिति तथा सम्बन्धित निकायमार्फत आवश्यक प्रक्रिया अघि बढ्ने उहाँको भनाइ छ । –

Leave a Reply

ताजा समाचार