समाचार | Page 1711 of 6015 | ईमाउण्टेन समाचार

Our Network

असार २ २०८३, बुधवार

समाचार

बाढी पीडित बोकेको बसमा आगलागी, बालबालिकासहित १८ जनाको मृत्यु

एजेन्सी । मनसुनको विनाशकारी बाढीबाट भागेर घर जाँदै गरेको एउटा बसमा आगलागी हुँदा १२ बालबालिकासहित कम्तीमा १८ पाकिस्तानीको मृत्यु भएको अधिकारी र उद्धारकर्मीले बताएका छन् ।

पाकिस्तानमा यस वर्षको अभूतपूर्व मनसुनी वर्षाबाट प्रभावित भएको छ । वर्षाका कारण देशको एक तिहाइ भूभाग जलमग्न भएको थियो भने ८० लाख मानिस विस्थापित भएका थिए । बाढीले  २८ अर्ब डलर बराबरको क्षति भएको थियो ।

पानी बिस्तारै घट्दै जाँदा हजारौं विस्थापितहरू पुन घर फर्किन थालेका छन् । कराची शहर बाहिर उत्तरतर्फ जाने बसमा राति आगो लाग्दा यात्रुहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

न्युजिल्यान्डको समुद्री रिपोर्टः ७५% माछामा माइक्रोप्लास्टिक्स, ९०% समुद्री पंक्षी लोप हुने खतरा 

एजेन्सी । न्युजिल्यान्डको हालैको एक सरकारी प्रतिवेदनले प्रत्येक चार माछामा तीन वटामा माइक्रोप्लास्टिकको ठूलो अंश रहेको र ठूलो संख्यामा देशी प्रजाति र स्वदेशी चराहरू लोप हुने जोखिममा रहेको खुलासा गरेको छ ।

वातावरण मन्त्रालयले खतरामा परेका प्रजातिको अवस्थाबारे प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनअनुसार करिब ९० प्रतिशत आदिवासी समुद्री पंक्षी, ८२ प्रतिशत समुद्री किनारका स्वदेशी पंक्षी र २२ प्रतिशत समुद्री स्तनधारी प्रजाति लोपोन्मुख वा लोप हुने खतरामा परेका छन् ।

गत वर्ष १४ सय समुद्री चराहरूलाई ठूला माछाहरूले मारिदिएका थिए भने सागर्र अझै अम्लिय बन्दै गएको थियो । सागरको अम्लियपन २२ वर्षमा ८ दशमलब ६ प्रतिशतले वृद्धि भएको थियो । पानीको ताक्रम बढेसँगै समुद्री तापलहर बढी घातक बनेको थियो । कन्भर्सेसन ग्रुप फरेस्ट एन्ड क्राइसिसले प्रतिवेदनलाई ‘संकट’ भनेको छ ।

बिजय गच्छेदार, बिक्रम पाण्डे, गोविन्दराज जोशी, प्रभु साह, सरिता गिरी लगायत ९ जनाको उम्मेदवारी विरुद्ध सर्वोच्चमा रिट 

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा उम्मेदवारी दिएका ९ जनाविरुद्ध सर्वोच्च अदालतमा आज रिट दायर गरिएको छ । अधिवक्ता अनिल आचार्यले उनीहरु विरुद्ध सवोच्च अदालतमा रिट दायर गरेका हुन् ।

नैतिक पतनका मुद्धा खेपेका विजय कुमार गच्छेदार, सरिता गिरी, गोविन्दराज जोशी, बिक्रम पाण्डे, प्रभु साह, टेक बहादुर गुरुङ, लक्ष्मी महतो, युद्ध विक्रम तामाङ र रेवतराज पुरीले दिएको उम्मेदवारी खारेज गरि पाउँ भनी अधिवक्ता आचार्यले रिट दायर गरेका हुन् ।

नेपाली कांग्रेसले सुनसरी क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यमा बिजय कुमार गच्छेदारलाई उम्मेदवार बनाएको छ । तनहुको क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा गोबिन्दराज जोशीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । बिक्रम पाण्डेले चितवन जिल्ला क्षेत्र नं. २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका छन् ।

प्रभु साहले रौतहट क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् । यस्तै सरिता गिरीले सिरहाको क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्ररुपमा उम्मेदवारी दिएकी छन् ।

टेक बहादुर गुरुङले मनाङ जिल्लामा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका छन् । लक्ष्मी महतोले महोत्तरी क्षेत्र नं. १ बाट नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएकी छन् ।

डी. बी. तामाङ भन्ने युद्धबिक्रम तामाङले सिन्धुपाल्चोक क्षेत्र नं.१(क) बाट नेकपा एमालेको तर्फबाट प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएका छन् । गगन भन्ने रेवतराज पुरीले झापा जिल्ला क्षे.नं. ५ (ख) बाट नेकपा (माओवादी केन्द्र) को तर्फबाट प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएका छन् ।

रिटमा नेपालको संबिधानको धारा ८७ र ९०, राजनैतिक दल सम्वन्धि ऐन, २०७३ को दफा १४, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ तथा नेकपा (एमाले) को बिधान, २०४९ को धारा ४ समेतको व्यवस्था बमोजिम नैतिकवान्, स्वच्छ चरित्र र असल चालचलन भएका ब्यक्ति बाहेक अन्य नैतिक पतन देखिने तथा फौजदारी कसुरमा सजाय पाएका ब्यक्तिहरु निर्वाचनमा उम्मेदवार बन्न नपाउने कानूनी ब्यवस्था रहेको दाबी गरिएको छ ।

‘प्रस्तुत विषयमा तत्काल अन्तरिम आदेश जारी नगरेको अवस्थामा विपक्षीहरुले प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्यको उम्मेदवार बनि निर्वाचनमा भाग लिन पाउने भएकोले देश र जनताको भावना तथा भविष्य माथि शक्ति सन्तुलनको रोहमा हुने अपुरणीय क्षतिलाई न्युनिकरण गर्नको लागि विपक्षीहरुको नाममा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ बमोजिम अन्तरिम आदेश समेत जारी गरीपाऊ,’ रिटमा भनिएको छ ।

हृदयेश त्रिपाठीलाई एमालेको समर्थन

काठमाडौं । नेकपा एमालेले जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीलाई समर्थन गरेको छ । नवलपरासी–१ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका त्रिपाठीलाई समर्थन गर्दै एमालेले आफ्ना उम्मेदवार सिन्धु जलेसा बुढाथोकीको उम्मेदवारी फिर्ता लिएको हो । यसअघि २०७४ को प्रतिनिधिसभा निर्वाचनमा त्रिपाठी नेकपा एमालेको सूर्य चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरेर निर्वाचित भएका थिए । नवलपरासी-१ मा नेपाली कांग्रेसका उम्मेदवार उद्योगी विनोद चौधरी छन् । उनलाई सत्तारुढ गठबन्धनमा रहेका दलहरुको साथ छ ।

आफ्ना उम्मेदवारलाई फिर्ता बोलाएर प्रभु साहलाई सघाउने माओवादीको निर्णय

काठमाडौं । माओवादी केन्द्र रौतहटले आफ्ना उम्मेदवार धिरज पटेललाई फिर्ता बोलाएर स्वतन्त्र उम्मेदवार प्रभु साहलाई सर्मथन गर्ने निर्णय गरेको हो । आज बसेको पार्टीको प्रदेश सदस्यहरूको बैठकले अनाैपचारिक रुपमा यस्तो निर्णय गरेको स्राेतकाे भनाइ छ । केन्द्रीय गठबन्धन निर्णयअनुसार  रौतहट–३ को स्वतन्त्र उम्मेदवार साहलाई जिताउने तथा धिरज पटेललाई उम्मेदवारी फिर्ता लिने लगाउने निर्णय भएको हो ।

यस्तै, सम्पूर्ण गठबन्धनका उमेदवारलाई जिताउने निर्णय पनि भएको छ । साथै चार वटा क्षेत्रमा कमाण्ड र आठ वटा प्रदेशसभाको संयोजक गठन भएको छ । जिल्ला स्तरीय चुनाव परिचालन चार सदस्य समिति गठन गरिएको छ ।

राष्ट्रिय राजनीतिको गति र मतिअनुसार आगामी पाइला चाल्ने रावलको घोषणा

काठमाडौं । एमाले नेता भीम रावलले राष्ट्रिय राजनीतिको गति र मतिअनुसार आगामी पाइला चाल्ने बताएका छन् । उनले आगामी दिनमा आफू एमालेमा रहने कि नरहने भन्ने पार्टी नेतृत्वको गतिविधि र कार्यशैलीले निर्धारण गर्ने उनले बिहीबार आयोजित पत्रकार सम्मेलनमा बताए ।

पार्टीमा सधैं दमन र बहिष्करणमा परेमा त्यहाँ विद्रोह हुने उल्लेख गर्दै घनश्याम भुसालको विद्रोहलाई उचित कदमको संज्ञा दिए । उनले आफूले देशभरका एमाले उम्मेदवारलाई जिताउन आग्रह नगर्ने, माक्र्सवाद र लेनिनवादको सिद्धान्त अनुशरण गर्ने तथा देशभक्त र राष्ट्रवादी उम्मेदवारलाई जिताउन आग्रह गरे । अछाममा भने त्यहाँका बहुसंख्यक जनताको भावनाको कदर गर्दै त्यसअनुरुप चल्ने बताए । एमालेले कति सिट जित्छ भनेर आफूले भन्न नसक्ने रावलको भनाइ थियो ।

देशी विदेशीको षडयन्त्रकै कारण मेराे टिकट खाेसियोः भीम रावल

काठमाडौं । एमाले नेता भीम रावलले आफूलाई प्रतिनिधिसभाको टिकटबाट वञ्चित गरिनुमा देशी विदेशी षडयन्त्र भएको र त्यसमै परेर एमाले अध्यक्ष केपी ओलीले टिकट नदिएको बताएका छन् ।

बिहीबार कार्की ब्यांक्वेटमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो देशभक्त र राष्ट्रहितको तेजोबध गर्नकै लागि राजनीति सिध्याउन टिकट नदिइएको आरोप लगाए । उनले आफूले एमसीसीकाे विराेध गर्दा र विपक्षमा भाेट हाल्दा त्यसलाई अहिले टिकट दिने बेला उठाइएकाे बताए ।

रावलले ओलीले गरेको निर्णय प्रथम दृष्टिमै स्वेच्छारिता र गलत रहेको पनि दाबी गरे । ‘षड्यन्त्रपूर्ण स्वेच्छाचारी ढंगले मलाई निर्वाचन नलड्ने भ्रमपूर्ण प्रचार गरियो । सोहीअनुसार रावल सम्पर्कविहीन भनेर प्रचार गरियो । माफी माग्नुपर्ने हल्ला चलाइयो । यसमा पार्टीको जिम्मेवारीमा रहेका केही व्यक्ति लागेका थिए । ओलीका मान्छेले गरेको अध्ययनमा मलाई हराउन नसकिने देखियो । त्यसपछि कुनै योगदान नै नभएका व्यक्तिलाई टिकट दिइयो,’ रावलले भने ।

जुम्ला विपद् : अर्बौंको क्षति भएको प्रारम्भिक अनुमान 

जुम्ला । अविरल वर्षाका कारण जुम्लामा अर्बौं रुपैयाँको क्षेति भएको प्ररम्भिक अनुमान छ । पहिराेका कारण २२ असोज अपरान्ह ४ः०० बजे कनकासुन्दरी गाउँपालिका-५ जुम्ला बारकोटे गाउँका एकाघरका पाँचसहित सात जनाले ज्यान गुमाएका थिए ।

सोही दिन हिमा गाउपालिका-३ जोगीवाडामा आएको बाढीमा परी एकै घरका दुई जनाको ज्यान गयो । पहिराेले डोल्पादेखि जुम्ला आउँदै गरेकी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा अध्ययनरत एक छात्राले गुठिचौर गाउँपालिका-१ मणिसँघुमा ज्यान गुमाइन । १९ असोजदेखि टेलिफोन टावर, इन्टरनेट, विद्युत अवरुद्ध हुँदा कहाँ कति धनजनको क्षति भयो भन्ने एकिन अझै भइनसकेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।

विपद्ले जुम्ला मात्र नभई कर्णालीका दशवटै जिल्लामा बितण्डा मच्चाएको छ । कतै पहिरो, कतै बाढी त कतै चट्याङले अर्बौं रुपैयाँको जनधनको क्षति गरेको छ । सञ्चारका माध्यम अवरुद्ध हुँदा सबै जिल्लाको क्षति लिन मूलतः साविक कर्णालीका पाँच जिल्लाका विपद् व्यवस्थापन समितिहरुलाई समस्या भएको छ ।

पहिरोले कर्णाली राजमार्गलगायत अन्य सहायक मार्ग बन्द हुँदा उद्धार तथा राहतका कार्य गर्न पनि त्यत्तिकै अप्ठ्यारो भएको जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले बताए  ।

यस पटक दसैं मनाएर बाली भित्र्याउने योजना बनाएका यहाँका किसानको मुखको गाँस प्राकृतिक विपद्ले खोसेको छ । २१ असोजमा आएको बाढीले तिला गाउँपालिका-४ साँपुल्ली गाउँमा अवस्थित शेरबहादुर शाही, राईबहादुर शाही, दत्तबहादुर शाही, लंकबहादुर शाही, मीमबहादुर शाही, रतनबहादुर शाही र लालबहादुर सुनार घरमा क्षति पुर्याएको छ । बाढी आएको सूचना गाउँले दिएपछि उनीहरुले घरबाट भागेर ज्यान जोगाउन सफल भए ।

विस्थापित भएका उनीहरूले अहिले छिमेकीको साहारा लिनुपरेको छ । बाढीले विभिन्न परिवारका गरेर करिब एक दर्जन बढी बाख्रा, कुखुरा र खरायो बगाएको पीडित दत्तबहादुर शाहीले बताए ।

यस्तै, फुटाखोला, खानताडो, पानी प्याउन खोलामा आएको बाढीले दुनी, मेहलचुन, धिमधारामा लगाएको सिमी, मकै, कोदो, चिनो, कागुनो बाली नष्ट गरेको छ भने सोही बाढीले झारखेत, मुसीखेत, लिडाला, भुँडाधारा, खोलीखेत, थाम्खोला, मुँडेनी खोला, भूँर र कुनाखेतमा लगाएको सयौं खेतको अन्नबाली पूर्णरुपले नष्ट गरेको स्थानीय पृथ्वीबहादुर शाहीले बताए  ।

विपद्ले जुम्लाका सात गाउँपालिकामा बढी क्षति भएको छ । धनजनको क्षेति कनकासुन्दरी, हिमा र तिला गाउँपालिकाले व्यहोर्नु परेको छ भने तातोपानी गाउँपालिकाको लाक्षु, राँका, बाइराँका ज्यूलो बाढीमा डुबेकाे छ । तिला गाउँपालिकाको घोडासिन बस्ती बढी जोखिम रहेको जिल्ला विपद् व्यवस्थापन समितिले बताएको छ ।

मार्सी धानबालीमा सबैभन्दा बढी क्षति
अविरल वर्षाले जुम्लामा पाक्नै लागेको मार्सीधानबालीका फाँटमा क्षति पुगेको छ । एक सातादेखि परेको अविरल वर्षाले धानबालीमा क्षति हुँदा यहाँका किसान मर्कामा परेका छन् ।

जिल्लाभरका किसानको धानबाली, सिमीलगायतका बालीमा पुर्याएको क्षतिको विवरण सङ्कलन गर्न स्थानीय तहका कृषि शाखासँगको सहकार्यमा कृषि विकास कार्यालयले काम गरिरहेको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले  बताए ।

वर्षाले खेतमा पाक्नै लागेको धान ढालेपछि किसान चिन्तित छन् । भित्र्याउने बेलाको धानबाली ढलेर खेतमै दाना झरेको छ । पाकेको बाली घर भित्र्याउने समयमा वर्षाले क्षति गरेपछि यहाँका किसानलाई वर्षभरि पुग्ने अन्न संकट हुने स्थानीय  जयशंखर धितालले बताए । उनले भने, ‘हाम्रो १४ भारी मार्सी धानसहित खेत बगाएको छ ।’

त्यस्तै धेरैजसो सिञ्जा क्षेत्रमा धानबालीमा क्षति गरेको सिञ्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताए । उनले भने, ‘पालिकाको धान उत्पादन हुने ठाउँका सबै खेतबारी बगरमा परिणत भएको छ ।’ यस्तै, तिला गाउँपालिकाको नुवाकोट, कुडारी र सापुल्ली क्षेत्रका खेतबारीमा लगाएको धानबाली पूर्णरुपमा क्षति गरेको पुगेको छ ।

जिल्ला कृषि विकास कार्यालय जुम्लाको तथ्यांकअनुसार जुम्लामा दुई हजार नौ सय ५० हेक्टरमा धानखेती गरिएको छ । जिल्लाका आठवटै स्थानीय तहमा धानखेती हुन्छ । कृषि बालीमा भएको क्षेतीको एकिन विवरण संकलन गर्न जिल्ला प्रशासनले  सबै स्थानीय तहलाई अनुरोध गरेको छ ।

१० वर्षदेखि अलपत्र फोक्सिनटार पुल अन्तिम चरणमा, पुलको स्ल्याब ढलान सकियाे

उदयपुर । नेपालकाे दोस्राे आर्क ब्रिज उदयपुर-खोटाङ जोड्ने फोक्सिन्टारमा निर्माणाधीन पक्की पुल निर्माण अन्तिम चरणमा पुगेको छ । १० वर्षअघि नै निर्माण सुरू भए पनि विभन्न कारणले पटक पटक अलपत्र पर्दै आएकाे याे पुल यस वर्ष भने पूरा हुने चरणमा छ ।

पुल निर्माणको जिम्मा लिएको निर्माण कम्पनीले चार वर्ष काम नै नगरी अलपत्र छाडेको थियाे । तर, पुल पछिल्लो समय भने द्रुत गतिमा काम गरेपछि उदयपुर-खोटाङ जोडिएको हो । सगरमाथा लोकमार्ग अन्तर्गत गाईघाट–दिक्तेल सडकमा पर्ने सुनकोशी नदीको पक्की पुल निर्माणको म्याद चौथो पटक थपिएपछि निर्माण सम्पन्न हुन लागेकाे हाे ।

गाईघाट–दिक्तेल सडकको उदयपुरतर्फ रौतामाई गाउँपालिका– ५ र खोटाङतर्फ खोटेहाङ गाउँपालिका– ९ बीचको फोक्सिन्टारमा निर्माणाधीन पुल २२ चैत ०७५ मा सम्पन्न गर्नेगरी ३० चैत ०६९ मा ठेक्का सम्झौता भएको थियो ।

एक सय २० मिटर लामो याे पुल निर्माणको जिम्मा गौरी-पार्वती र वाईपी जेबीले लिएको थियाे । पुल योजना पूर्वी क्षेत्र सेक्टर नम्बर १ धरानले सो पुल निर्माणको प्राविधिक रेखदेख गर्ने जिम्मा पाएको छ । अलपत्र अवस्थामा रहेको आर्क डिजाइनको पुल २६ असोजकाे मध्यरात सम्ममा पुलको स्ल्याब ढकान सकिएकाे पुल योजना पुर्वी क्षेत्र सेक्टर नम्बर १ धरानका डिभिजन इन्जिनियर नितेस झाको भनाइ छ ।

उनको भनाइअनुसार इन्जिनियर अजयकुमार साहको रेखदेखमा प्राविधिकसहितको टोलीले पुलको स्ल्याब ढलान गरेकाे र बुधवार अबेर राति काम सकेर कात्तिक मसान्तसम्ममा पुलबाट गाडी चलाउन मिल्ने झाको भनाइ छ । बिहीवार सम्ममा ९० प्रतिशत काम सम्पन्न हुने डिई झाले जानकारी दिए ।

दाङ र पर्साबाट अवैध लागूऔषधसहित पाँच जना पक्राउ 

काठमाडौं । दाङ र पर्साबाट अवैध लागूऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । दाङको गडवा गाउँपालिका–६ गडवाबाट ३० ग्राम खैरो हेरोइन र ५० ग्राम गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कोइलाबासबाट लमहीतर्फ जाँदै गरेको भे.१ ह १६४० नम्बरको अटोलाई इलाका प्रहरी कार्यालय गडवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अटोमा सवार उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरिएको हो ।

पर्साको वीरगंज महानगरपालिका–८ रेल्वे रोडबाट ९ केजी ५ सय ग्राम चरेससहित सोही महानगरपालिका–१६ बस्ने १९ वर्षीय करण राय लगायत २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त वस्तु सहित पक्राउ गरेको हो ।

पछिल्लो चौबिस घण्टामा १० जना मृत अस्थामा फेला  

काठमाडौं । पछिल्लो चौबिस घण्टामा देशका विभिन्न स्थानमा १० जना मृत अवस्थामा फेला परेका छन् । सर्लाहीको बलरा नगरपालिका–८ बलुवाभारस्थित पोखरीमा हाल पहिचान नखुलेकी करिब ३५ वर्षीया महिला बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।

झापाको मेचीनगर नगरपालिका–१४ स्थित हडिया खोलामा सोही नगरपालिका–१३ सुगम टोल बस्ने ४१ वर्षीय बिष्णु राजवंशी बुधबार मृत अवस्थामा फेला परेका छन् ।

मोरङको कटहरी गाउँपालिका–३ सिक्टी बस्ने २२ वर्षीया निसा सिंह सोही नगरपालिकास्थित आफ्नै माईती घरमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।

इलामको चुलाचुली गाउँपालिका–१ श्रीगंगा टोल बस्ने ७१ वर्षीया बुद्दरानी लिम्बु सोही गाउँपालिकास्थित कुलोमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।

कास्कीको पोखरा महानगरपालिका–१५ अमिनतारास्थित सेती नदीको किनारमा हाल पहिचान नखुलेका करिब ३५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।

दाङको गडवा गाउँपालिका–२ स्थित राप्ती नदीको किनारमा हाल पहिचान नखुलेकी १३ वर्षिया बालिका बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।

चितवनको भरतपुर महानरपालिका–२६ हिरापुरस्थित नारायणी नदीको बगरमा हाल पहिचान नखुलेका करिब ३५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी चितवनको भरतपुर महानगरपालिका–१८ बाङ्गेघाटस्थित नारायणी नदीको किनारमा हाल पहिचान नखुलेका पुरुषको बुधबार सडिगलेको अवस्थामा शव फेला परेको छ ।

स्याङ्जाको गल्याङ नगरपालिका–११ निमाघाटस्थित कालिगण्डकी नदीको किनारमा हाल पहिचान नखुलेका पुरुषको बुधबार सडिगलेको अवस्थामा शव फेला परेको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–१७ मुडियारीस्थित पानीको कुलोमा हाल पहिचान नखुलेका करिब ३० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।सबै घटनाको सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

पत्रकार सम्मेलनमा ओलीप्रति आक्रामक देखिए रावल

काठमाडौं । एमाले नेता भीम रावल पार्टी अध्यक्ष केपी ओलीप्रति निकै आक्रामक देखिएका छन् । बिहीबार बबरमहलस्थित कार्की ब्यांक्वेटमा आयोजित पत्रकार सम्मेलनमा रावल ओलीप्रति निकै आक्रोशित भएका हुन् ।

रावलले आफ्नो राजनीति सिध्याउनकै लागि ओलीले अछाम १ बाट टिकट नदिइएको आरोप लगाए । उनले स्वेच्छारी ढंगले अघि बढेको आरोप लगाउँदै तल्लो तहमा सिफारिस नै नभएका तथा एमाले बनाउन कुनै योगदान नै नभएका व्यक्तिलाई टिकट दिएको भन्दै उनले आक्रोश व्यक्त गरे । नेता रावलले झन्डै दुई तिहाइका प्रधानमन्त्री भएका बेला ओलीले अधिकांश समय बालुवाटारकै अस्पतालमा बिताएको, राष्ट्रहित र संवेदनशील विषयमा संसदमा उपस्थित नहुने, आफूलाई बोल्न चाहेको समयमा अरुलाई उर्दी जारी गर्ने भन्दै ओलीको तिखो आलोचना गरे ।

रावलले होलीवाइनको कार्यक्रम आयोजना गर्ने एकनाथ ढकाललाई एमालेको समानुपातिक सूचीमा राखेको, एमालेकै नेतामाथि हत्या गर्ने उद्देश्यले राजविराजमा आक्रमण गर्न लगाउने, संविधान जारी गरेको विरोधमा कालो दिवस मनाउने उपेन्द्र यादवसँग चुनावी तालमेल गरेको तथा पूर्वपञ्चलाई मकवानपुर १ मा सिट छाडेको भन्दै ओलीको कडा आलोचना गरे ।

जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ

काठमाडौं । चितवन र बाँकेमा जुवातास खेलिरहेको अवस्थामा १९ जनालाई प्रहरीले पक्राउ गरेको छ । चितवनको खैरहनी नगरपालिका–३ उनान्टोल बस्ने ४२ बर्षीय चिरञ्जिवी सडौलाको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीलगायत ७ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख २४ हजार ५ सय २० रुपैयाँ र  एक बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

बाँकेको कोहलपुर नगरपालिका–११ न्यूरोडस्थित म्याक्स होटलमा जुवातास खेलिरहेको अवस्थामा  सोही नगरपालिका–११ बस्ने ३५ वर्षीय उपेन्द्र राना लगायत १२ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख ३१ हजार १ सय ८० रुपैयाँ  र ६ गड्डी तास सहित फेला पारी पक्राउ गरेको हो ।

यसपटक कर्णालीमा पूर्वसहकर्मीबीचकाे राेचक भिडन्त

सुर्खेत । कर्णाली प्रदेशका कतिपय निर्वाचन क्षेत्रमा यसपालि पूर्वसहकर्मीहरूबीच रोचक चुनावी प्रतिस्पर्धा हुने भएको छ । एउटै पार्टीमा लामो समय सहकार्य गरेका नेताहरू अहिले फरक दलबाट चुनावी मैदानमा भिड्ने भएका हुन् । दैलेख, सल्यान, डोल्पा, सुर्खेत, मुगु र जुम्लामा पूर्व सहकर्मीहरूबीच प्रतिस्पर्धा हुने भएको हो ।

एमाले विभाजन भइ बनेको नेकपा एकीकृत समाजवादी सत्तारुढ गठबन्धनमा छ भने एमालेले गठबन्धनसँग प्रतिस्पर्धा गर्दैछ । आउँदो ४ मंसिर हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा यी दुई पक्षबीच नै धेरै क्षेत्रमा मुख्य प्रतिस्पर्धा हुनेछ । सत्ता गठबन्धनमा एकीकृत समाजवादीको भाग परेका निर्वाचन क्षेत्रमा एमाले र एकीकृत समाजवादीका उम्मेदवारबीच चुनावी प्रतिस्पर्धा हुने भएको हो ।

कर्णालीमा प्रत्यक्षतर्फ प्रतिनिधिसभाका १२ र प्रदेशसभाका २४ सिट छन् । जसमा सत्तारुढ गठबन्धनको साझा उम्मेदवारका रूपमा एकीकृत समाजवादीले प्रतिनिधिसभाका तीन र प्रदेशसभाका दुई क्षेत्रमा टिकट पाएको छ । त्यसबाहेक आफ्नो उम्मेदवार नभएका केही क्षेत्रमा समाजवादीले गठबन्धनसँग पनि प्रतिस्पर्धा गर्ने भन्दै उम्मेदवारी दिएको छ । एकीकृत समाजवादीले गठबन्धनबाट दैलेख, सल्यान र डोल्पामा प्रतिनिधिसभा र मुगु तथा जुम्लामा प्रदेशको एक एक सीटमा टिकट पाएको छ । तीमध्ये सबैजसोमा मुख्य प्रतिस्पर्धी उम्मेदवार पूर्व सहकर्मीहरू नै छन् ।

प्रतिनिधिसभाको दुई वटा निर्वाचन क्षेत्र रहेको दैलेख-१ मा सत्तारुढ गठबन्धनले एकीकृत समाजवादीका कर्णाली प्रदेश अध्यक्ष अम्मरबहादुर थापालाई उम्मेदवार बनाएको छ । थापासँग एमालेका तर्फबाट जिल्ला पार्टी अध्यक्ष रवीन्द्रराज शर्मा भिड्दै छन् । उनीहरू एमालेमा लामो समय सहकार्य गरेका र एउटै भूगोलमा मिलेर राजनीतिक गरेका नेताहरू हुन् । थापा र शर्माको उम्मेदवारी परेपछि यसपटक त्यहाँ प्रतिस्पर्धा निकै रोचक हुने अड्कलबाजीहरू सुरु भएका छन् । यी दुवैले एमालेबाट उक्त क्षेत्रमा यसअघि संसदीय निर्वाचन जितिसकेका छन् ।

यसपटक भने पुरानै सम्बन्ध भएका मित्रहरू नै फरक दलबाट नयाँ प्रतिस्पर्धीका रूपमा उत्रिएका छन् । एमालेका तुलनामा संगठन कमजोर भएपनि समाजवादीका थापाले गठन्धनसँगै एमालेका मत पनि धेरै लिने अनुमान गरिएको छ । त्यस्तो परिस्थिति बने शर्माका लागि थापा प्रतिस्पर्धामा भारी हुने देखिन्छ ।

यद्यपि, एमाले र समाजवादीका स्थानीय नेताहरूका अनुसार त्यस क्षेत्रमा पूर्वसहकर्मीहरूको टक्करका कारण परिणाम कसको पोल्टामा पर्छ भन्ने अहिले नै सहज अनुमान गर्न सकिने अवस्था भने छैन । यी दुवै यस क्षेत्रमा राम्रो जनाधार भएका प्रभावशाली नेता मानिन्छन् । आफूले एमालेमा रहँदा निर्माण गरेको संगठन र गठबन्धनको पनि साथ रहेकाले जित सुनिश्चित रहेको थापाको दाबी छ । उनी भन्छन्, ‘मेरो क्षेत्रमा एमालेभन्दा गठबन्धन ११ हजार भोटले अगाडि छ । पूर्वएमाले भएकाले मलाई एमालेका ४० प्रतिशत भोट थपिने छ ।’ शर्माले पनि एमालेको बलियो जनाधार भएकाले थापालाई सहजै जित्न सकिने दाबी गर्दै आएका छन् ।

सुर्खेत-२ क मा एमालेका स्थायी कमिटी सदस्य एवं कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेल र एकीकृत समाजवादीका केन्द्रीय सदस्य शिवप्रसाद उपाध्यायबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ । कँडेल र उपाध्याय लामो समय एमालेको राजनीतिका सहकर्मी हुन् । यद्यपि, २०७० को संविधानसभा निर्वाचनमा भने कँडेलविरुद्ध उपाध्यायले बागी उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिएका थिए । उक्त निर्वाचनमा यी दुवैले जित हात पार्न सकेनन् ।

पार्टीभित्र विद्रोही नेताको छवी बनाएका उपाध्याय अन्नतः एमाले विभाजनपछि बनेको एकीकृत समाजवादीमा लागेका थिए । कुनै बेलाका भरसिला सहयात्री उनीहरू अहिले फेरि चुनावी मैदानमा आमुन्नेसामुन्ने भएका छन् । पुराना सहकर्मी कँडेल र उपाध्याय यसपालि दोस्रो पटक प्रतिस्पर्धीका रूपमा देखिएका हुन् ।

प्रतिनिधिसभाको एक मात्र निर्वाचन क्षेत्र रहेको डोल्पामा गठबन्धनले साझा उम्मेदवारका रूपमा एकीकृत समाजवादीका नेता धनबहादुर बुढालाई अघि सारेको छ । उक्त क्षेत्रमा पनि सत्ता गठबन्धन र एमालेको प्रतिस्पर्धा छ । एमालेले भने ठूूलीभेरी नगरपालिकाका निवर्तमान नगरप्रमुख गणेशबहादुर शाहीलाई उम्मेदवार बनाएको छ । बुढा पनि पूर्वएमाले हुन् । २०७४ सालको निर्वाचनमा एमालेबाट प्रतिनिधिसभामा निर्वाचित उनले पार्टी विभाजनपछि समाजवादी रोजेका थिए । त्यहाँ अहिले पूर्वएमाले र एमालेबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ ।

कर्णाली प्रदेश सरकारका पूर्व आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला सल्यानबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् । हाल एकीकृत समाजवादीका उपमहासचिव ज्वाला २०७४ सालमा एमालेबाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । उनलाई सत्ता गठबन्धनले अहिले साझा उम्मेदवार बनाएको हो । उनीविरुद्ध एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हालसालै एमालेमा प्रवेश गरेका राजेन्द्र वीर रायलाई चुनावी मैदानमा उतारेको छ । राय राष्ट्रिय प्रजातन्त्र पार्टीको वरिष्ठ उपाध्यक्ष पद परित्याग गरि एक महिना अघि मात्र एमालेमा प्रवेश गरेका थिए ।

जुम्लामा निवर्तमान प्रदेशसभा सदस्य पदम रोकाय फेरि प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनेका छन् । अघिल्लो निर्वाचनमा एमालेबाट निर्वाचित उनी पार्टी विभाजनपछि एकीकृत समाजवादीमा लागेका छन् । यसपटक सत्तागठबन्धनले उनलाई जुम्ला प्रदेशसभा ‘ख’ बाट उम्मेदवार बनाएको छ । एमालेबाट उक्त क्षेत्रमा प्रदेश कमिटी उपसचिव टेकराज पछाईं चुनाव लड्दैछन् ।

यो क्षेत्रमा पनि एमाले र पूर्वएमालेबीच नै चुनावी रस्साकस्सी हुने भएको छ । रोकाय आफू गठबन्धनको साझा उम्मेदवार भएकाले जित सुनिश्चित जस्तै भएको दाबी गर्छन् । मुगुको प्रदेशसभा ‘क’ बाट एमालेले जितबहादुर मल्ललाई उम्मेदवार बनाएको छ । उनका प्रतिस्पर्धीका रूपमा एकीकृत समाजवादीका नेता गोपाल बम मैदानमा उत्रिएका छन् । पूर्वएमाले बमलाई अहिले कांग्रेस र माओवादी केन्द्रको साथ छ ।

सत्तारुढ गठबन्धनबाट टिकट नपाएका कतिपय ठाउँमा एकीकृत समाजवादीले आफ्ना छुट्टै उम्मेदवार उठाएको छ । सुर्खेत क्षेत्र नं। २ प्रदेशसभा ‘ख’मा सत्तारुढ गठबन्धनले माओवादी केन्द्रका बिन्दमान विष्टलाई उम्मेदवार बनाए पनि एकीकृत समाजवादीका सुर्खेत जिल्ला अध्यक्ष मोहनसिंह बडुवाल पनि उम्मेदवार बनेका छन् । उनले उक्त क्षेत्रमा आफूले गठबन्धनसँग पनि मित्रवत प्रतिस्पर्धा गर्ने बताएका छन् ।

बडुवालले गठबन्धनका उम्मेदवार विष्टसँग मात्र नभइ आफ्नै पूर्वसहकर्मी ताराकेशर गौतमसँग पनि प्रतिस्पर्धा गर्ने भएका छन् । एमालेमा हुँदा पार्टी निर्माणमा वर्षौं सँगै काम गरेका उनीहरू यसपटक संसदीय निर्वाचनमा फरक दलबाट प्रतिस्पर्धीका रूपमा भिड्ने भएका हुन् । विष्ट, गौतम र बडुवाल तीनै जना पश्चिम सुर्खेतको राजनीतिमा राम्रो सम्भावना बोकेका नेताका रूपमा हेरिन्छन् ।

त्यस्तै, दैलेख-२ प्रदेशसभा ख मा पनि एमाले र पूर्वएमालेबीच नै प्रतिस्पर्धा हुने भएको छ । सो क्षेत्रमा एमालेले पार्टीका कर्णाली प्रदेश कमिटी अध्यक्ष विनोद शाहलाई उम्मेदवार बनाएको छ भने मनोनयन दर्ता गर्ने दिनमै एमाले छोडेर माओवादी केन्द्रमा गएका योगेन्द्र शाही उनकै प्रतिस्पर्धी बनेका छन् । एमालेको केन्द्रीय अर्थ विभागका सचिव योगन्द्रलाई माओवादी केन्द्रले आफ्ना उम्मेदवारलाई ‘ब्याक’ गर्दै अकस्मात टिकट दिएको हो ।

जनमोर्चालाई समर्थन गर्दै विकले लिए उम्मेदवारी फिर्ता

अर्घाखाँची । नेकपा माओवादी केन्द्रबाट अर्घाखाँची प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएका ठाकुरकुमार विकले उम्मेदवारी फिर्ता लिएका छन् । राष्ट्रिय जनमोर्चाको तर्फबाट उम्मेदवारी दिएका नेता सागर केसीलाई समर्थन गर्दै विकले उम्मेदवारी फिर्ता गरेका हुन् ।

सत्ता गठबन्धनमा बाँडफाँट हुँदा अर्घाखाँची प्रदेशसभा क माओवादी केन्द्रको भागमा परेको थियो । माओवादी केन्द्रको भागमा परेको भए पनि सो ठाउँ आफूले पाउनु पर्ने दाबी गर्दै जनमोर्चाले उम्मेदवारी दर्ता गराएको थियो ।

अर्घाखाँचीमा निर्णयक भनिएको जनमोर्चाले आफ्नो अडान कायमै राखेपछि केन्द्रको दबाबमा बिक उम्मेदवारी फिर्ता गर्न सहमत भएको माओवादी स्रोतले जनाएको छ । विकको उम्मेदवारी फिर्तासँगै अर्घाखाँचीमा प्रदेश सभा क को लागि एमालेका चेतनारायण आचार्य र जनमोर्चाका नेता सागर केसीबीच प्रतिस्पर्धा हुने भएको छ ।

कांग्रेसको भागमा परेको अर्घाखाँचीमा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसालले उम्मेदवारी दर्ता गरेकी छन् । एमालेका  केन्द्रीय सचिव टोपबहादुर रायमाझीले उम्मेदवारी दिएको यो क्षेत्रमा स्वतन्त्रबाट पत्रकार हरिप्रसाद भुसाल चुनावी मैदानमा छन् ।

कामना सेवा विकास बैंकका संस्थापकले २० हजार कित्ता सेयर बिक्री गर्दै

काठमाडौं । कामना सेवा विकास बैंकका एक संस्थापक सेयरधनीले २० हजार कित्ता सेयर बिक्री गर्ने भएका छन् । बैंकका संस्थापक सेयरधनी मुकुन्द शरण उपाध्यायले आफ्नो नाममा रहेको बैंकको संस्थापक सेयर बेच्न लागेका हुन् । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्ने छन् ।

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले २७ असोजबाट ३५ दिनभित्र आवश्यक कागजपत्रसहित बैंकको केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा निवेदन दिनुपर्नेछ । आवेदकले आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाएर आवेदन दिनुपर्ने बैंकले जनाएको छ । तोकिएको समयमा संस्थापक सेयरधनीबाट सेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानुन बमोजिम अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने बैंकले जनाएको छ ।