समाचार | Page 2035 of 5943 | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८३, बिहीबार

समाचार

भूमिहीनलाई भोट बैंकका रूपमा प्रयोग गरियो : मन्त्री श्रेष्ठ

मकवानपुर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री सशी श्रेष्ठले भूमिहीन जनतालाई भोट बैंकका रूपमा मात्रै प्रयोग गरिएको बताएकी छिन् । मकवानपुरको बागमती गाउँपालिकामा आयोजित भूमिहीन, दलित, सुकुम्वासीलाई जग्गाधनी प्रमाणपूर्जा वितरण कार्यक्रममा मन्त्री श्रेष्ठले भूमिहीनका समस्या सधैंका लागि समाधान गर्ने कसम खाएको बताएकी हुन् ।

संविधान निर्माणको क्रमदेखि नै यथास्थितिवादीले स्वीकार नगरेको बताउँदै उनले संविधानको रक्षा गर्न गठबन्धन सरकार बनेको बताइन् । ‘अहिलेको गठबन्धन सरकारले हकअधिकारको कार्यान्वयन गर्छ,’ उनले भनिन्, ‘दलित भूमिहीनलाई पूर्जा प्रदान गर्ने अहिलेको सरकारको उच्च प्राथमिकता छ ।’  ‘पहिलेको सरकार छँदा एक वर्षमा एक हजार भूमिहीनलाई पनि पूर्जा प्रदान गरेको थिएन,’ उनले भनिन् ‘वर्तमान सरकारले ४ महिनामा २० हजार भूमिहीनलाई पूर्जा प्रदान गरिसकेको छ ।’

बागमती गाउँपालिकाले दुई भूमिहीन दलित परिवारलाई जग्गाधनी प्रमाणपूर्जा वितरण गरेको छ । गाउँपालिका–४ का कृष्णबहादुर दर्नाल र तीर्थबहादुर विश्वकर्मालाई पूर्जा वितरण गरिएको हो १ हजार ७ सय जनाले निवेदन दिएका थिए तर २ जनाले मात्रै पूर्जा पाएका हुन् ।

भुमिहीन दलितकालागि सार्वजनिक सूचना आह्वान गर्नु नपर्ने भएकाले तीन परिवारलाई पुर्जा दिन सम्भव भएको गाउँपालिकाले जनाएको छ । सर्वदलीय बैठक नै नबसी भूमिहीनलाई पूर्जा प्रदान गरिएको भन्दै गाउँपालिकाकी उपाध्यक्ष धनमाया स्याङतानले असन्तुुष्टि जनाएकी छिन् ।

पाँच किलोमिटर म्याराथनमा महिलातर्फ सुशीलालाई उपाधि

जुम्ला । कर्णाली स्पोर्ट्स क्लब जुम्लाले आयोजना गरेको १६ वर्षमुनिको पाँच किलोमिटर म्याराथनमा महिलातर्फ सुशीला विष्ट प्रथम भएकी छन् । कल्पना बुढा द्वितीय र अन्तिमा बुढा तृतिय भएकी छिन् । यस्तै पुरूषतर्फ अशोक  बिक  प्रथम भएका छन् भने दिपेन्द्र बुढा द्वितीय र कविन्द्र बुढा तृतीय भएको  क्लबका अध्यक्ष सरोज शाहीले बताए । खुला पाँच किलोमिटर दौडमा विकास बुढा प्रथम, हरिबहादुर रावत द्वितीय र हर्क रावत तृतीय भएका छन् ।

साइक्लिङले पर्यावरण संरक्षण गर्न टेवा पुर्‍याउँछ : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्यावरण संरक्षण गर्न पनि साइक्लिङ आवश्यक रहेको बताएका छन् । ‘प्रज्ञा स्मृति साइक्लिङ म्याराथन–२०२२’ को शनिबार चितवनको भरतपुरमा उद्घाटन गर्दै प्रचण्डले साइक्लिङमार्फत पर्यावरण संरक्षण गर्न सकिने र उक्त सन्देश देशव्यापी फैलाउन जरुरी रहेको बताए ।

‘तपाईंहरूले यो प्रतियोगितामार्फत देशैभरी साइक्लिङको विषयमा एउटा सन्देश दिनु हुनेछ । पर्यावरणको संरक्षण गर्ने र स्वास्थ्य प्रवर्द्धन गर्ने सन्देश यो म्याराथनबाट दिनु हुनेछ’, प्रचण्डले भने । म्याराथनमा विदेशी साइकल यात्रीहरू पनि सहभागी छन्  ।

ग्रिस प्रवेश गर्न खोजेका ३७ नेपाली पक्राउ

काठमाडौं । अवैध रूपमा टर्कीबाट युरोपेली देश ग्रिस प्रवेश गर्न खोजेका ३७ नेपालीलाई स्थानीय प्रहरीले पक्राउ गरेको छ । टर्कीबाट प्रकाशित हुने सञ्चारमाध्यमका अनुसार अपरेसनको क्रममा बेयोग्लु, इस्तानबुलबाट ३७ जना नेपालीलाई सुटकेससँगै प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरू ग्रिस भाग्ने तयारीमा थिए । पक्राउ परेका उनीहरूलाई निष्कासन केन्द्रमा पठाइएको छ ।

सडक हेरालुलाई यातायात व्यवसायी गरे सम्मान

खोटाङ । खोटाङ यातायात प्रालिले सडक हेरालु हर्कराज तामाङ (मटक)लाई सम्मान गरेको छ । दिक्तेल–हलेसी सडक कच्ची भएको समयमा झण्डै एक दशकसम्म हातमा कुटोकोदालो, गैंतीबेल्चा, झम्पल लिएर पिठ्युँमा डोको र नाम्लोको सहायताले ढुंगा बोकेर यातायात सञ्चालनमा पुर्‍याएको योगदानको कदर गर्दै यातायात प्रालिले तामाङलाई ३५ हजार ५५५ सहित सम्मान पत्र प्रदान गरेको छ ।

दिक्तेलको किरातचोक (रत्नपार्क)स्थित काउण्टर अगाडि शुक्रबार आयोजित कार्यक्रममा कांग्रेसका उपसभापति तीर्थराज भट्टराई, खोटाङ यातायात प्रालिका अध्यक्ष टेकेन्द्र राई, प्रालिका प्रमुख सल्लाहकार बुद्धिबिनोद लुइटेल लगायतले सडक हेरालु तामाङलाई दोसल्ला ओढाएर नगद तथा सम्मान पत्र हस्तान्तरण गरेका थिए । हेलिकोप्टरबाट सवारी साधन भित्र्याएर यातायात सञ्चालन सुरु गरिएको जिल्लामा २०६३ सालदेखि २०७४ सालसम्म तामाङले वर्षा याममा सडक मर्मत गर्दै सवारी साधन सञ्चालनमा सहयोग पुर्‍याएका थिए ।

पुष्पपाल मध्यपहाडी लोकमार्ग अन्तरगत पर्ने हलेसी–दिक्तेल सडक कालोपत्रेको काम २०७६ सालमा सम्पन्न भएको हो । सोही कालोपत्रे हुनुभन्दा अगाडि तामाङले एक दशक बढी समयसम्म सडक हेरालुका रूपमा काम गरेका थिए ।

‘यस जिल्लामा यातायातका साधनहरू पर्याप्त मात्रामा भित्रिँदै जाँदा सडकको खराब अवस्थाको कारण दिक्तेलबाट छुटेका मालवाहक वा यात्रुवाहक सवारी साधन कहिले दिक्तेल कारागार नजिक, कहिले हुर्लुङसम्म पुगेर बस्नुपर्ने वाध्यात्मक परिस्थितिलाई बिर्सन सकिन्न,’ खोटाङ यातायात प्रालिका अध्यक्ष राईले भने, ‘दिक्तेलदेखि हलेसीसम्म सवारी साधनहरू नरोकियोस् र यात्रुले दुःख भोग्न नपरोस् भनेर बिहानदेखि बेलुकासम्म पानी, झरी, दिनरात नभनी सडकमा खटिएर खोटाङ्गे माटोमा पुर्‍याउनु भएको उल्लेखनीय योगदानको उच्च कदर गर्दछौँ ।’

तामाङले पाएनन् ५ लाख ७७ हजार ५०० पारिश्रमिक

गाउँको कच्ची सडकमा गाडी गुड्न थालेको खुसीयालीमा स्वतःस्फुर्तरुपमा सडक मर्मत सुरु गरेका तामाङलाई तत्कालीन जिल्ला विकास समितिले २०६३ माघदेखि सडक हेरालुकारुपमा नियुक्ति गरेको थियो । मासिक ८ हजार दिनेगरी सडक हेरालुकारुपमा नियुक्ति दिएको जिल्ला विकास समितिले २०६९ सालमा उनको मासिक तलब १० हजार ५ सय पुर्‍याएको थियो ।

तामाङले तलब वृद्धिपछि १० महिनासम्म तलब पाए पनि २०५९ साल फागुनदेखि २०७३ साल असोजसम्मको करिब ५ लाख ७७ हजार ५०० पारिश्रमिक नपाएको गुनासो गरेका छन् ।

तत्कालीन जिल्ला विकास समिति मातहत सञ्चालनमा रहेको दिक्तेल–हलेसी सडक सडक डिभिजन कार्यालय हर्कपुर, ओखलढुंगालाई हस्तान्तरण भएको केही समय पछिदेखि तामाङको पारिश्रमिक रोकिएको हो ।

बाँकी पारिश्रमिक दिलाउनका निम्ति तामाङले १४ चैत २०७० मा तत्कालीन स्थानीय विकास अधिकारी युवराज अधिकारी, २३ भदौ २०७१ मा निमित्त स्थानीय विकास अधिकारी रविकिरण आचार्य र २७ असार २०७२ मा स्थानीय विकास अधिकारी महेन्द्रकुमार सापकोटा समक्ष निवेदन दिएका थिए ।

तामाङको निवेदनका आधारमा तत्कालीन जिल्ला विकास समितिले १४ चैत २०७० र २३ भदौ २०७१ मा पारिश्रमिक दिनका लागि सडक डिभिजन कार्यालय समक्ष सिफारिस गरेको थियो । तर, तामाङले पारिश्रमिक पाएका छैनन् ।

सेवा निवृत्त ६ शिक्षक सम्मानित

भक्तपुर । सेवा निवृत्त भक्तपुरका ६ जना शिक्षक/शिक्षिका सम्मानित भएका छन् । सेवा निवृत्त शिक्षक समाज भक्तपुरले उनीहरूलाई एक कार्यक्रमका बीच सम्मानित गरेको हो । उनीहरूलाई दोसल्ला ओढाएर प्रमाणपत्र प्रदान गरिएको छ ।

सम्मानित हुने सेवा निवृत्त शिक्षकमा सरोजकुमार दत्त, कृष्णभक्त जोशी, मथुरी शाखः, रत्नदेवी प्रजापति, शिवकुमार कर्माचार्य र चन्द्रबहादुर गोसाईं रहेका छन् । उनीहरूलाई बागमती प्रदेश सभाका सांसद सुरेन्द्रराज गोसाईंले सम्मानपत्र प्रदान गरेका थिए ।

कार्यक्रममा गोसाईंले जहाँ शिक्षकलाई सम्मान हुँदैन त्यो समाज उत्कृष्ट समाज हुन नसक्ने बताएका थिए । उनले गुरुको सम्मान गर्नु सबैको दायित्व रहेको पनि बताए । नेपाल सरकारले गर्नुपर्ने काम समाजले गरेको भन्दै उनले आयोजकलाई धन्यवाद दिए ।

किन बनाइन्छ गैर सांसदहरुलाई मन्त्री ?

केन्द्र देखि प्रदेस सम्म गैर सांसदहरुलाई मन्त्री बनाउने प्रवृति बढ्यो, राज्यका पद नीजि सम्पती सहर बाड्ने नेतृत्वले विवदास्पद नियुक्तीको औचित्य पुष्टि गर्न सकेन

वर्तमान गठबन्धनको सरकार बनेको नौ महिनामा दुइ जना गैर सांसद मन्त्री भएका छन। संविधानले आवश्यक्ता र औचित्यका आधारमा गैर सांसदलाई पनि मन्त्री बनाउन सकिने भने छ। तर नेतृत्वमा रहेकाहरुले त्यसको दुरुपयोग गर्दै व्यक्तिगत लेनदेनका आधार मन्त्री नियुक्त गर्ने प्रवृति दोह¥याइ रहेको छन। जसका कारण संविधानको मर्म विपरित निहित व्यक्तिहरुको स्वार्थ पुर्ती गर्न कै लागि केन्द्र र प्रदेसमा गैर सांसदहरुलाई मन्त्री बनाउने लहर नै चलेको छ।
सांसद नभएको व्यक्तिहरु पनि ६ महिनाका लागि संघ र प्रदेशको मन्त्री बन्न सक्ने संवैधानिक प्रावधान छ। संविधानले विशेष परिस्थितीका लागि यो व्यवस्था गरेको भए पनि राजनीतिक दलहरू भने पार्टीगत, गुटगत र व्यक्तिगत स्वार्थको आधारमा गैर सांसदलाई मन्त्री बनाउन उद्धत देखिन्छन। नेपालको नयाँ संविधान जारी भएपछि पटक पटक गैरसांसद मन्त्री भएका छन। संविधानको धारा ७८ मा संघीय सांसद नभएको व्यक्ति र धारा १७० मा प्रदेश सांसद नभएको व्यक्ति मन्त्री हुन सक्ने व्यवस्था छ। त्यहि आधार टेकेर दलहरुले नितान्त व्यक्तिगत स्वार्थको आधारमा प्रदेस र केन्द्रमा गैर सांसदहरु लाई मन्त्री बनाइरहेका छन।

विहिबार एकाएक वरिष्ठ अधिवक्ता गोविन्दप्रसाद शर्मा कोइराला (बन्दी) कानून, न्याय तथा संसदीय मामिला मन्त्री बने। जबकि बन्दि केवल वरिष्ठ अधिवक्ता हुन्। तर उनको निकटता नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार सँग छ। बन्दीले एमसिसी संसदबाट अनुमोदन गर्ने वेला १२ बुँदे व्याख्यात्मक घोषणा तयार गर्न मधव कुमार नेपाललाई सहयोग गरेका थिएश्र त्यसअघि पनि बन्दिले वर्तमान सत्तागठबन्धनको सरकार निर्माण गर्दा कानूनी परामर्शदाताको भूमिका खेले। नेकपा एकिकृत समाजावदीका अध्यक्ष माधव कुमार नेपाल र गठबन्धनलाई यस्तै गुन लगाएका कारण बन्दि मन्त्री बन्न सफल भए। यसरी मन्त्री बन्नेहरुको सुची लामो छ। संविधानले मन्त्री हुन योग्य व्यक्ति विशेष कारण सांसद नभएको अबस्थामा देशका लागि महत्वपुर्ण योगदान पुर्याउन सक्ने त्यस्ता व्यक्तिलाई मन्त्री बनाउन सकियोस भन्ने आसय राखेको भए पनि पछिल्लो समय लेनदेनको आधारमा गैर सांसदहरु मन्त्री नियुक्त हुने प्रवृति बढ्दै गएको छ। गैर सांसदलाई मन्त्री बनाउदा प्रधानमन्त्री र सिफारिस गर्ने सम्बन्धित दलले त्यसको औचित्य पुष्टि गर्न नसकेकै कारण जनतामा असन्तुष्टि बढ्दै गएको छ।

संविधानले कल्पना गरेको उद्देश्य विपरीत दलहरूले गैरसांसदलाई ६ महिने मन्त्री बनाउदा त्यसको औचित्य पुष्टि गर्नु पर्ने हुन्छ। विगतदेखि नै नेतृत्वमा रहेनेहरुले आफ्नो स्वार्थ हेरे आफु अनुकुलका व्यक्तिलाई मन्त्री बनाउने गलत परम्परा बस्दा यसले थुप्रै विकृति भित्रिएक छ। निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको सिफारिसमा गत असोज २२ गते वर्तमान सरकारले नै गैर संसाद गजेन्द्र हमाल लाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री नियुक्त गरेको थियो। हमाल मन्त्री बन्दा चौतर्फी विरोधपछि भएपछि उनले मन्त्री बनेको दुई दिनमै राजीनामा दिएका थिए। त्यहि नियुक्तिको विवादले अहिले प्रधानन्याधिश चोलेन्द्र सम्शेर राणा माथि संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको छ।

यस अघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ साल फागुनमा युवराज खतिवडालाई दोस्रो पटक अर्थमन्त्री नियुक्त गरे। खतिवडा दोस्रो पटक मन्त्री हुदा उनको राष्ट्रिय सभा सदस्यको कार्यकाल सकिसकेको थियो। तर ओलीले खतिवडालाई ६ महिनाका लागि पुन अर्थमन्त्री मन्त्री बनाए। यी त उदाहरण मात्रै हुन। मुलुकभित्र सत्तामा जान जस्तो सुकै हत्कण्डा अपनाउने हरुको जालो अब्बल छ। स्वार्थ मिले वितिक्कै जस्तो सुकै व्यक्तिलाई पनि नीजि सम्पती सरह राज्यका पद बाड्ने नेतृत्वकर्ता छन्।

देसविकासले गति लिन नसेकेको वेला, मुलुकभित्र शुसान कायम हुन नसकेको वेला दक्ष र प्रभावी काम गर्न सक्ने व्यक्तिहरुलाई मन्त्री बनाएर जनअपेक्षा अनुरुप तिब्र रुपमा काम गर्नु पर्ने आवश्यक्ता भएको वेला राजनीतिक स्वार्थका लागि सामाजिक, राजनीतिक र कानुनी रूपमा समेत विवादास्पद छवि बनाएका व्यक्तिहरुलाई मन्त्री बनाउने पद्धति देसका लागि दुर्भाग्यपूर्ण हो। जो व्यक्ति जुनसुकै हालतमा ६ महिनाका लागि मन्त्री बन्न तयार हुन्छ त्यस्ता व्यक्तिले ६ महिनामा देस र जनताका लागि खास काम गर्न सक्दैन। तीन चार बर्ष मन्त्री हुनेहरुलाई त कर्मचारी टेर्दै टेर्दैनन। ६ महिने मन्त्रीको के कुरा।

केन्द्रको सिको गरेर प्रदेस सरकारहरुमा पनि गैर सांसदहरुलाई मन्त्री बनाउने प्रतिस्पर्धा नै चलेको छ। हारेकाहरु लाई राष्ट्रिसभामा थुपार्ने, निष्ठाको राजनीति गर्ने भन्दा ठेकेदारहरुलाई निर्वाचनमा टिकट दिने, राजदुतहरु भागबण्डाको आधारमा नियुक्त गर्ने, न्यायमुर्तीहरु भागबण्डाका आधारमा नियुक्त गर्ने, संवैधानिक आयोग नियोगहरुमा दलका कार्यकर्ता भर्ना गर्ने प्रवृतिले सिंगो राज्य संरचना दलाल प्रवृतिका गैर राजनीतिक व्यक्तिहरुको चपेठामा परेको छ। त्यसैको दुष्परिणाम हो राज्यका हरेक निकाय गिजोलिएका छन। सर्वत्र निरासा र आक्रोस छ। तर नेतृत्वमा बसेकाहरु रमिते बनेका छन। जनतालाई के मन पर्छ के मन पर्दैन नेतृत्वलाई त्यसको प्रवाह छैन।

आज रातिबाट आचारसंहिता लागु हुने, उल्लंघन गरे निर्वाचन कसुरअनुसार कारबाही हुन्छ : आयोग

काठमाडौं । आउँदो ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको आचारसंहिता शुक्रबार मध्यरातिबाट लागु हुनेछ । यसबारे जानकारी दिन शुक्रबार अपरान्ह आफ्नै कार्यालयमा गरेको पत्रकार सम्मेलनमा निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गरे कारबाही हुने चेतावनी दिएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आचारसंहिता उल्लंघन गरे निर्वाचन कसुरअनुसार कारबाही हुने बताए । ‘आचारसंहिता पालना गर्छाैं भनेर प्रतिबद्धता जनाउने, तर उल्लंघन गरेमा निर्वाचन कसुरअनुसार कारबाही हुन्छ,’ प्रमुख आयुक्त थपलियाले भने । आचारसंहिता उल्लंघन गर्ने कसैलाई छुट नभएको र गरेमा कारबाही गरेरै छाड्ने उनले बताए ।

सगरमाथा आरोहण गर्न २०४ जनाले पाए अनुमति 

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न यस वर्ष २०४ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार यस वर्ष ८ हजार ८४८.८६ मिटर अग्लो सगरमाथा आरोहण गर्नको लागि २३ वटा समूहले अनुमति लिएका थिए । ती समूहमा १५८ जना पुरुष र ४६ जना महिला गरी कूल २०४ जना आरोही रहेका छन् ।

सगरमाथा आरोहण गर्नेलाई यसवर्ष अनुमति दिंदा २१ लाख ३४ हजार रुपैयाँ (२५ करोड ८४ लाख ३९ हजार ३५० रुपैयाँ) राजस्व संकलन भएको विभागले जनाएको छ । यस वर्ष ६१ समूहमा ५०५ जनाले नेपालको १८ वटा हिमाल आरोहणको लागि अनुमति लिएका छन् ।

पशुपति धर्मशालामा ताला नलगाउन अदालतको अन्तरकालीन आदेश 

काठमाडौं । काठमाडौं जिल्ला अदालतले पशुपतिस्थित धर्मशालाभित्र बतास समूहले चलाएको धर्मशालाको मूलगेटमा ताला नलगाउन अन्तरकालीन आदेश दिएको छ । पशुपति क्षेत्र विकास कोषले शुक्रबार ताला लगाएलगत्तै अदालतले निवेदकको माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? आदेश जारी हुन नपर्ने कुनै आधार र कारण भए सबुत प्रमाणसहित प्रस्तुत आदेश प्राप्त भएको मितिले बाटाका म्याद म्याद बाहेक १५(पन्ध्र) दिन भित्र आफै वा कानुन बमोजिमको प्रतिनिधि मार्फत लिखित जवाफ पेश गर्न विपक्षीहरुको नाममा  आदेश दिएको छ ।

होटेल आनन्द प्रा.लिले पशुपति क्षेत्र विकास कोषलाई विपक्षी बनाएर रिट दायर गरिएको छ ।  नेपाल–भारतमैत्री धर्मशालाभित्र सञ्चालित होटेल आनन्दको मूलगेटमा शुक्रबार सरकारले ताला लगाएको हो । ताला लगाउनुअघि कोषले होटेल खाली गर्न सूचना जारी गरेको थियो। तर, बतास समूहले कोषको टोलीलाई मूलगेटमै रोकेर भित्र जान दिएन । होटेलभित्रका सामान हराउने तथा हिनामिना हुने डरले ताला लगाउनुपरेको कोषले जानकारी दिएको छ ।

कोषले होटेलका सामान नचलाउन बतास समूहलाई अनुरोधसमेत गरेको छ। होटेलका कर्मचारीले कोषका कर्मचारीलाई भित्र प्रवेश गर्न नदिएपछि कोषले बाहिरी गेटमा ताल्चा लगाएर सूचना टाँसी फर्किएको छ। अनुगमनका क्रममा पुगेका कोषका पदाधिकारी र होटेलका कर्मचारीबीच शुक्रबार पनि विवाद भएको थियो ।

यसअघि गत बिहीबार पर्यटनमन्त्री प्रेमबहादुर आले कोषका पदाधिकारीसहित धर्मशाला पुगेका थिए । त्यसबेला पनि बतास समूहका कर्मचारीले अवरोध गरेका थिए ।

नेपाल–बंगलादेशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुग्यो 

काठमाडौं । नेपाल र बंगलादेशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको छ । कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको अवसरमा दुई देशका राष्ट्रपति र प्रधानमन्त्रीबीच बधाई सन्देश आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदलाई सन्दै पठाउँदै बधाई दिएकी छन् ।

राष्ट्रपतिले सन्देशमा पाँच दशकअघि बंगलादेशको स्वतन्त्रतालाई मान्यता दिने पहिलो राष्ट्रमध्ये नेपाल रहेको स्मरण गर्दै व्यापार, पर्यटन, ऊर्जा, संस्कृति र शिक्षाका क्षेत्रमा बढ्दै गएको सहयोगप्रति सन्तुष्टी व्यक्त गरेकी छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले पनि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनालाई बधाई सन्देश पठाएका छन् ।

बंगलादेशका प्रधानमन्त्रीलाई हार्दिक बधाई दिँदै प्रधानमन्त्री देउवाले नेपाल र बंगलादेशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेकोमा खुसी व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवाले नेपाल र बंगलादेशले व्यापार, पर्यटन, ऊर्जा र कनेक्टिभिटी लगायतका क्षेत्रमा सहकार्य र साझेदारीलाई अगाडि बढाउँदै पारस्परिक हितका नयाँ र प्रशस्त सम्भावनाहरू प्रशस्त गरेको जनाएका छन् ।

नेपाल र बंगलादेशले जलवायु परिवर्तन, दिगो विकास, बहुपक्षीय व्यापारलगायत पारस्परिक हितका विषयमा सार्क, बिमस्टेक र बीबीआईएन जस्ता क्षेत्रीय मञ्चहरू र संयुक्त राष्ट्रसंघ र विश्व व्यापार संगठन जस्ता बहुपक्षीय मञ्चहरूमा सहकार्यका गरिरहेको पनि उनले बताएका छन् । यस्तै, बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले बधाई सन्देशमा दुई देशबीच बढ्दो व्यापार र आर्थिक सम्बन्धप्रति सन्तोष व्यक्त गरेका छन् ।

बंगलादेशका राष्ट्रपतिले दुई देशबीच निकै घनिष्ठ सम्बन्ध रहेको उल्लेख गर्दै सन् २०१९ मा गरेको नेपाल भ्रमणको स्मरण गरेका छन् ।

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले आफ्नो बधाई सन्देशमा नेपालले बंगलादेशलाई स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न राष्ट्रको रूपमा सुरुमै मान्यता दिएको स्मरण गरेकी छन् । उनले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ गर्न नेपालसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । नेपाल र बंगलादेशले ८ अप्रिल १९७२ मा कूटनीतिक सम्बन्ध स्थापना गरेका थिए ।

कांग्रेस, एमाले र माओवादी कार्यकर्ताले राजा नै चाहिन्छ भन्ने थाले : राजेन्द्र लिङ्देन 

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले देशको अवस्थाले कांग्रेस, एमाले र माओवादीका कार्यकर्ताले राजसंस्था ठिक रहेको भन्न थालेको बताएका छन् । काठमाडौंको खुलामञ्चमा शुक्रबार पार्टीको आयोजित आमसभालाई सम्बोधन गर्दै उनले २०४६ साल देशको नेतृत्व लिएका कांग्रेस, एमाले र माओवादीले मुलुकलाई असफल बनाउन लागेको आरोप लगाएका हुन् ।

देशलाई असफल बनाउन लागेको देखेका कांग्रेस, एमाले र माओवादीका कार्यकर्ताले देशमा त राजतन्त्र नै चाहिने रहेछ भनेर भन्न थालेको उनले बताए । उक्त तीन दललाई फेरि पनि निर्वाचित गराएमा देश श्रीलंका, युक्रेनजस्तो हुने भन्दै उनले राप्रपालाई निर्वाचित गराउन आग्रह गरे ।

‘कांग्रेस, एमाले , माओवादीलाई अब कति समय दिए, देश बनाउलान् ? अहँ अब बनाउँदैनन् । ३२ वर्षमा देशलाई असफल बनाउन लागे,’ अध्यक्ष लिङ्देनले भने, ‘अब यिनीहरुले देश बनाउँदैनन् । राप्रपालाई मत दिएर उनीहरुका बाकस (मतपेटिका) खाली गरिदिनुहोस् ।’

देश कांग्रेस, एमाले र माओवादी गठबन्धनको शिकार भएको छ : राजेन्द्र लिङ्देन  

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले देश कांग्रेस, एमाले र माओवादीको गठबन्धनको शिकार बन्दै आएको आरोप लगाएका छन् । काठमाडौंको खुलामञ्चमा शुक्रबार पार्टीको आयोजित आमसभालाई सम्बोधन गर्दै उनले देश २०४६ सालपछि यता र जबरजस्त गणतन्त्र र धर्मनिरपेक्षता ल्याएर कांग्रेस, एमाले र माओवादीको गठबन्धनको शिकारमा परेको बताएका हुन् ।

गणतन्त्र ल्याउँदा भनिएको जस्तो र अहिले देशको अवस्था निकै फरक रहेको भन्दै उनले ३२ वर्षमा देश बेरोजगार उत्पादन गर्ने कारखानामा परिणत भएको बताए । तीन करोड पनि जनसंख्या नपुगेको नेपालका निरोगी र दक्ष जनशक्ति वैदेशिक रोजगारीमा गएका उनले बताए ।

बारमा गठबन्धननिकट प्यानल नै विजयी 

काठमाडौं । नेपाल बार एसोसिएसनको नेतृत्वमा सत्तारुढ पाँच दलीय गठबन्धननिकट प्यानल नै विजयी भएको छ । २५ सदस्यीय कार्यसमितिका लागि १९ चैतमा बारको महाधिवेशनमा भएको निर्वाचनको सार्वजनिक मतपरिणाम अनुसार गठबन्धननिकट कानुन व्यवसायीहरूको संयुक्त प्यानल नै विजयी भएको हो ।

कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एसोसिएसनका पूर्व अध्यक्षसमेत गोपालकृष्ण घिमिरेसहित संयुक्त प्यानल नै निर्वाचित भएको हो । सबै पदमा गठबन्धननिकट उम्मेदवारहरू विजयी भएका हुन् ।एमालेनिकट प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूहका उम्मेदवार विष्णुमणि अधिकारीलाई दुई हजार ५२ मतले उछिन्दै घिमिरे अध्यक्षमा निर्वाचित भएको हुन् ।

घिमिरेले चार हजार चार सय ७४ मत पाएर विजयी हुँदा अधिकारीले दुई हजार चार सय २२ मत ल्याएर पराजित भए । घिमिरे प्यानलबाटै महासचिवमा अञ्जिता खनालले तीन हजार ६ सय ८२ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी अधिकारी समूहका केदारप्रसाद कोइरालाले दुई हजार नौ सय ८९ मत ल्याए । कोषाध्यक्षमा घिमिरे समूहका भरतबहादुर राउत विजयी भएका छन् । अन्य पदाधिकारी र सदस्यहरूमा पनि घिमिरे समूहकै उम्मेदवारहरूले जित हासिल गरेका छन् ।

कुशल चालक : जसले बचाए ४० जनाकाे ज्यान

अर्घाखाँची । शुक्रबार बिहान करिब ११ बजेकाे थियाे । पाेखराबाट भ्रमणका लागि निस्किएकाे ग१ख ६८० नम्बरकाे बस २७ जना यात्रु बाेकेर सन्धिखर्क नगरपालिका-२ भलायडाँडाकाे ओरालाे झर्दै थियाे ।

२३ गते पाेखराबाट प्रस्थान गरेका यात्रुहरू बाेकेर हिजाे प्युठानमा रहेकाे ऐतिहासिक स्वर्गद्वारी मन्दिर दर्शन गरी आज सुपा देउराली मन्दिरमा पुग्ने अनि आजकाे रात यतै बिताएर भाेलि पाेखरा फर्कने याेजनासहित सुरेश सुनारले बस हाँकिरहेका थिए । बसमा सवार थिए पाेखरा साना किसान कृषि सहकारी संस्था बेगनासका सेयर सदस्यहरू ।

सन्धिखर्क पुग्न ५०० मिटर मात्रै बाँकी थियाे । एक्कासि बसले नियन्त्रण गुमायाे । ओरालाेमा कुदिरहेकाे बसमा ब्रेकले काम नगरेपछि पाेखरा-२७ निवासी चालक सुनारले अगाडि तेर्साेबाटाे आउने विश्वासमा बसलाई नियन्त्रण बाहिर जान दिएनन् । दुईवटा माेड कटाएका सुनारले अगाडि ठाडाे ओराले देखेपछि बसलाई भित्तामा ठाेक्याए जसबाट ठूलाे जनधनकाे क्षति हुनबाट बच्याे ।

‘अब ब्रेकले काम गर्दैन भन्ने पुष्टि भएपछि ओरालाे बाटाेमा मसँग धेरै विकल्प थिएन । अगाडि सजिलाे बाटाे आउने आसमा दुईवटा माेड त कटाएकाे थिएँ,’ सुनारले भने, ‘तर तेस्राे माेडपछि अगाडि झन् ठाडाे ओरालाे देखेपछि यात्रुहरूलाई बचाउन भित्तामा ठाेक्याउनुकाे विकल्प देखिनँ ।’

चालककाे कुशलताका कारण ठूलाे क्षति हुनबाट बचेकाे जिल्ला ट्राफिक प्रहरी कार्यालयका सहायक हवल्दार महेन्द्र भुसालले बताए । ‘ओराेलाेमा ब्रेक फेल हुँदा निकै जनधनकाे क्षति हुनसक्थ्याे,’ भुसालले भने, ‘निकै कुशलताका साथ चालकले सुरक्षित अवतरण गर्नुभएछ ।’

चालकले बडाे कुशलताका साथ आफूहरूलाई बचाएकाे सहकारीका सेयर सदस्य रुद्रनाथ तिवारीले बताए । ‘यदि चालकले आफूलाई नियन्त्रण नगरेकाे भए आज ठूलाे क्षति हुने थियाे,’ तिवारीले भने, ‘ठूलाे खतराबाट बच्न सफल भइयाे।’

गाडीमा सवार अधिकांश सामान्य घाइते भएका छन् । गम्भीर घाइते भएका दुईजनाकाे बुटवल रिफर गरिएकाे अर्घाखाँची अस्पतालले जानकारी दिएकाे छ । यद्यपि घाइतेहरूकाे अवस्था खतरामुक्त रहेकाे अस्पतालका सूचना अधिकारी निम रानाले जानकारी दिए ।

गण्डकी सरकारले हटायो खेलकुद समिति र संक्रामक अस्पतालका पदाधिकारी, अदालतमा जाने तयारी

पोखरा । गण्डकी सरकारले यसअघिको सरकारले नियुक्त गरेका खेलकुद विकास समिति र सरुवा तथा संक्रामक रोग अस्पतालका पदाधिकारी बर्खास्त गरेको छ । ११ वटै जिल्लाका खेलकुद विकास समिति र पोखरा स्थित सरुवा तथा संक्रामक रोग अस्पतालका पदाधिकारीलाई सरकारले काम चित्तबुझ्दो नभएको आरोपमा हटाएको हो ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई हटाएको सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए । ‘उहाँहरूलाई काम चित्तबुझ्दो नभएकोमा स्पष्टीकरण सोधिएको थियो । उहाँहरुले दिएको प्रष्टीकरणमा चित्त नबुझेपछि मन्त्रालयको सिफारिसमा पदबाट हटाईएको हो,’ उननले भने ।

यसअघि सरकारले सबैलाई स्पष्टीकरण सोधेको थियो । सबै समिति एमाले नेतृत्वको सरकार भएका बेला गठन गरिएको हो । हटाइएकाहरुले भने सरकारले राजनीतिक प्रतिशोध साँधेको आरोप लगाएका छन् । संक्रामक तथा सरुवा रोग अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष प्राडा कृष्ण पौडेलले राजनीतिक परिवर्तनसँग यस्ता संस्थालाई चलाउनु उपयुक्त नहुने बताए ।

‘सरकार त परिस्थिति जन्य विषय हो । कहिले को आउँछ, कहिले को आउँछ । तर, मातहतका निकायलाई सरकार नयाँ भएपछि चलाउनु राम्रो होइन,’ उनले भने, ‘यसरी देशको विकास हुँदैन । काम राम्रो नभए सुधार्न सुझाव दिनुपर्छ । एकैचोटी हटाउनु राम्रो हुँदैन ।’

बर्खास्तमा परेकाहरु भने अदालत जाने तयारीमा छन् । विनाकारण राजनीतिक विभेदका आधारमा हटाइएको भन्दै उनीहरु अदालत जान लागेका हुन् ।
‘विधि प्रक्रियाबाट नियुक्त भएका हौं । व्यक्तिगत कुरा होइन । सबै समितिसँग कुरा गर्छौं । त्यतिबेला नियुक्त गर्ने सरकारसँग पनि सल्लाह गर्छौं । कानुन अनुसार नियुक्ति थियो,’ उनले भने, ‘सरकारले सोधेपछि स्पष्टीकरण दिएका थियौं । हटाउला भन्ने चाहिँ लागेको थिएन । यसरी हटाउनु गैरकानुनी हो । हामी कानुनी उपचार खोज्छौं ।’ उनले राजनीतिक विभेद गरेर देश नबन्ने बताए ।

‘विल्कुल राजनीतिक विभेद हो । हामी राजनीति गर्ने नै मान्छे हौं । संकुचित भावनाबाट अघि बढ्यौं भने देश र खेलकुद क्षेत्र बन्दैन,’ उनले भने । बर्खास्तमा पर्नेहरूमा १४३ जना खेलकुद विकास समितिका पदाधिकारी र सदस्य तथा अस्पतालका अध्यक्ष छन् । सबै जिल्लामा १३ सदस्यका दरले समिति गठन भएको थियो ।