गण्डकी सरकारले हटायो खेलकुद समिति र संक्रामक अस्पतालका पदाधिकारी, अदालतमा जाने तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

गण्डकी सरकारले हटायो खेलकुद समिति र संक्रामक अस्पतालका पदाधिकारी, अदालतमा जाने तयारी

पोखरा । गण्डकी सरकारले यसअघिको सरकारले नियुक्त गरेका खेलकुद विकास समिति र सरुवा तथा संक्रामक रोग अस्पतालका पदाधिकारी बर्खास्त गरेको छ । ११ वटै जिल्लाका खेलकुद विकास समिति र पोखरा स्थित सरुवा तथा संक्रामक रोग अस्पतालका पदाधिकारीलाई सरकारले काम चित्तबुझ्दो नभएको आरोपमा हटाएको हो ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई हटाएको सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए । ‘उहाँहरूलाई काम चित्तबुझ्दो नभएकोमा स्पष्टीकरण सोधिएको थियो । उहाँहरुले दिएको प्रष्टीकरणमा चित्त नबुझेपछि मन्त्रालयको सिफारिसमा पदबाट हटाईएको हो,’ उननले भने ।

यसअघि सरकारले सबैलाई स्पष्टीकरण सोधेको थियो । सबै समिति एमाले नेतृत्वको सरकार भएका बेला गठन गरिएको हो । हटाइएकाहरुले भने सरकारले राजनीतिक प्रतिशोध साँधेको आरोप लगाएका छन् । संक्रामक तथा सरुवा रोग अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष प्राडा कृष्ण पौडेलले राजनीतिक परिवर्तनसँग यस्ता संस्थालाई चलाउनु उपयुक्त नहुने बताए ।

‘सरकार त परिस्थिति जन्य विषय हो । कहिले को आउँछ, कहिले को आउँछ । तर, मातहतका निकायलाई सरकार नयाँ भएपछि चलाउनु राम्रो होइन,’ उनले भने, ‘यसरी देशको विकास हुँदैन । काम राम्रो नभए सुधार्न सुझाव दिनुपर्छ । एकैचोटी हटाउनु राम्रो हुँदैन ।’

बर्खास्तमा परेकाहरु भने अदालत जाने तयारीमा छन् । विनाकारण राजनीतिक विभेदका आधारमा हटाइएको भन्दै उनीहरु अदालत जान लागेका हुन् ।
‘विधि प्रक्रियाबाट नियुक्त भएका हौं । व्यक्तिगत कुरा होइन । सबै समितिसँग कुरा गर्छौं । त्यतिबेला नियुक्त गर्ने सरकारसँग पनि सल्लाह गर्छौं । कानुन अनुसार नियुक्ति थियो,’ उनले भने, ‘सरकारले सोधेपछि स्पष्टीकरण दिएका थियौं । हटाउला भन्ने चाहिँ लागेको थिएन । यसरी हटाउनु गैरकानुनी हो । हामी कानुनी उपचार खोज्छौं ।’ उनले राजनीतिक विभेद गरेर देश नबन्ने बताए ।

‘विल्कुल राजनीतिक विभेद हो । हामी राजनीति गर्ने नै मान्छे हौं । संकुचित भावनाबाट अघि बढ्यौं भने देश र खेलकुद क्षेत्र बन्दैन,’ उनले भने । बर्खास्तमा पर्नेहरूमा १४३ जना खेलकुद विकास समितिका पदाधिकारी र सदस्य तथा अस्पतालका अध्यक्ष छन् । सबै जिल्लामा १३ सदस्यका दरले समिति गठन भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);