समाचार | Page 2034 of 5934 | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८३, शुक्रबार

समाचार

नलगाडका सबै वडा कार्यालय आफ्नै भवनमा

जाजरकोट ।  नलगाड नगरपालिकाले सबै वडा कार्यालय आफ्नै भवनमा राखेकाे छ । सबै वडामा कार्यालय भवन बनाएपछि केन्द्रले पनि आजदेखि नयाँ प्रशासकीय भवनबाट सेवा सुरु गरेकाे छ । दल्लीस्थित नगरपालिकाकाे नयाँ भवनमा  ३५ वटा काेठा छन् । नगरपालिकामा १३ वटा वडा छन् ।

नगरपालिकाकाे केन्द्रीय कार्यालय भवनबाट सबै शाखाको समेत काम हुने प्रमुख प्रशासकीय केन्द्र मानबहादुर गिरीले बताए । नगरपालिका भित्रका सबै कार्यालयहरू अब भाडामुक्त भएको उनले बताए  ।

पालिकाकाे १५ बेडकाे नगर अस्पताल भवन निर्माण पनि जारी रहेको नगरप्रमुख टेकबहादुर रावलले बताए ।

देशभरका करिब ७५ लाख बालबालिकालाई पहिलाे पटक टाइफाइडविरुद्धको खोप लगाइँदै

काठमाडौं । नेपालमा पहिलो पटक टाइफाइडविरुद्धको खोप दिइन लागिएको छ । आगामी २५ चैतदेखि १८ वैशाखसम्म देशभरका करिब ७५ लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिन लागिएको हो ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले १५ महिनादेखि १५ वर्ष उमेरसमूहका बालबालिकालाई एक मात्रा खोप दिन लागेको बताए । पछि १५ महिनाका प्रत्येक बालबालिकालाई नियमित खोप कार्यक्रममार्फत एक मात्रा खोप दिने उनको भनाइ छ ।

अभियानको क्रममा टाइफाइड खोप स्थानीय तहको प्रत्येक वडामा तोकिएको विद्यालयहरूको खोप केन्द्रमा उपलब्ध हुने उनको भनाइ छ । विद्यालय नभएका वा कम भएका वडाहरूमा वाह्य खोप केन्द्र सञ्चालन गरिनेछ। देशभर खोप अभियानका लागि १० हजार स्वास्थ्यकर्मी परिचालन गरिने डा. लालको भनाइ छ ।

पाँच वर्षको तथ्यांकअनुसार नेपालमा वर्षेनी औसतमा चार लाख ५० हजार जनाभन्दा बढीमा टाइफाइड संक्रमण हुने अनुमान छ । तीन वर्षको तथ्यांकअनुसार पानी तथा खानाजन्य संक्रामक रोगहरूमध्ये तेस्रो र अस्पताल भर्ना हुने कारणहरूमध्ये यो रोग चौथो कारणमा रहेको छ ।

यो रोगको संक्रमण सबै उमेर समूहमा हुने भए पनि १५ वर्षमुनिका बालबालिकालाई बढी असर गर्ने उनको भनाइ छ । खोपको प्रभावकारिताको अध्ययनले टाइफाइड खोपबाट यो रोगको संक्रमणमा उल्लेखनीय रुपमा कमी ल्याउन सकिने पुष्टि गरेको डा. लालको भनाइ छ ।

नेपालमा खोप लगाउनको लागि राष्ट्रिय खोप सल्लाहकार समितिले १४ अगष्ट, २०२० मा नै राष्ट्रिय खोप कार्यक्रममा समावेश गर्न सिफारिस गरेको थियो ।

विश्व स्वास्थ्य संगठनले समेत टाइफाइड खोपलाई नेपालसहित सबै टाइफाइड प्रभावित देशमा प्रयोगको लागि सिफारिस गरेको थियो । यो खोप अभियानसँगै टाइफाइड खोपको सुरुवात गर्ने नेपाल दक्षिण एसियामै पहिलो राष्ट्र हुने निर्देशक डा. लालले बताए ।

नेपालमा हाल दिन लागिएको खोप टाइफाइड कन्ज्युगेट भ्याक्सिन हो । यो विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको र यो विश्वका धेरै देशमा प्रयोग भइरहेको छ ।

पछिल्लो समय एन्टिबायोटिकले समेत कम गर्न छोडेको भन्दै यो खोपले टाइफाइडविरुद्ध लड्न निकै महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ ।

‘विगतमा टाइफाइड हुँदा दिइने एन्टिबायोटिकले अहिले काम गर्न छोडिसक्यो । नयाँ नयाँ एन्टिबायोटिक दिनुपर्ने अवस्था छ । खोपले गर्दा धेरै सुरक्षित हुनेछ ।’ निर्देशक डा. लाले भने ।

यो खोप गाभीले निःशुल्क रुपमा उपलब्ध गराएको हो । खोप अभियान सम्पन्न भएपछि यो राष्ट्रिय खोप अभियानमा समावेश गरिने परिवार कल्याण महाशाखा अन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले बताए ।

खोप लगाइसकेपछि बालबालिकालाई आधा घण्टासम्म निगरानीमा राखिने दाहालको भनाइ छ । यो खोप लगाएपछि  अन्य खोपहरूमा जस्तै केही सामान्य असर हुनसक्ने उनको भनाइ छ । ‘सुई लगाएको ठाउँमा रातो हुने, सुन्निने र दुख्ने, हल्का ज्वरो आउने, टाउको दुख्ने, हात गोडा तथा जोर्नीहरू दुख्ने जस्ता सामान्य लक्षण देखिन सक्छन् । त्यसका लागि खोप लगाइसकेपछि आधा घण्टासम्म निगरानीमा राख्छौं ।’ दाहालले भने ।

यस्ता सामान्य लक्षणहरु बिस्तारै आफैं ठीक भएर जाने उनको भनाइ छ । यो खोप मासुभित्र दिइने र यसले वयस्क र बालबालिकामा दीर्घकालीन रोग प्रतिरोधात्मक क्षमता प्रदान गर्ने दाहालको भनाइ छ ।

प्रधानमन्त्रीको भारत भ्रमण सफल भएको गठबन्धनको निष्कर्ष, अर्थतन्त्रको अवस्थाबारे अन्तरक्रिया गर्ने

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण सफल भएको निष्कर्ष निकालेको छ ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको बैठकले प्रधानमन्त्री देउवाको भारत भ्रमण सफल भएको निष्कर्ष निकालेको हो । बैठकमा आफ्नो भारत भ्रमणको विषयमा प्रधानमन्त्री देउवाले ब्रिफिङ पनि गरेका छन् ।  बैठकले कांग्रेस नेता रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको छ ।

साथै देशको अर्थतन्त्रको अवस्थालाई ध्यान दिँदै सरकारको तर्फबाट राजनीतिक दल, अर्थविद्, योजनाविद् र सरोकारवाला पक्षसँग एक वृहत् अन्तरक्रियाको आयोजना गर्ने र सुझावको आधारमा ठोस कदम चाल्ने बैठकले निर्णय गरेको छ ।

चट्टान आरोहण गर्न सिक्दै युवा

काठमाडौं । साहसिक खेलको माध्यमबाट पर्यटक आकर्षण गर्ने उद्देश्यका साथ इलाममा चट्टान आरोहण तालिम सुरु भएको छ । इलाम नगरपालिका-८ मा रहेको भीरमा चट्टान आरोहणमा एक हप्ताको प्रारम्भिक तालिम सञ्चालन भएको हो ।

तालिमको लागि काठमााडौंबाट विश्व कीर्तिमानी सगरमाथा आरोही कल्पना महर्जन त्यहाँं पुगेकी छिन् । त्यहाँं पुगेर आफूले तालिम दिन थालेको उनले बताइन् । कल्पनाको साथमा प्रशिक्षक मनिषा बुढामगर र सुशान्त ढुंगेल पनि छन् ।

तालिमको आयोजना यामबहादुर (कमल) फाउडेशन इलामले आयोजना गरेको हो । इलाम नगरपालिकाले त्यसका लागि सहयोग गरेको छ । इलामका विभिन्न ठाउँका १० जना युवाहरूले यो तालिममा सहभागिता जनाएका छन् ।

एक हप्ताको प्रारम्भिक तालिम पश्चात केचना कंचनजंघा पर्यटन तथा चलचित्र महोत्सवमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई यहाँ चट्टान आरोहण गराउने उद्देश्य रहेको जनाइएको छ ।

तालिममा सहभागीहरुलाई विस्तारै थप चट्टान आरोहण तालिम दिँदै जाने जनाइएको छ । इलाम नगरपालिकामा साहसिक पर्यटकहरूलाई आकर्षित गर्दै चट्टान आरोहणको लागि पनि इलाम एउटा उत्कृष्ट गन्तव्यको रुपमा विकाश गर्ने प्रारम्भिक कार्यको थालनीसमेत भएको छ ।

सुनको मूल्य ९८ हजार आठ सय रुपैयाँ

काठमाडौँ । सुनको भाउ मंगलबार एक सय रुपैयाँले बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९८ हजार आठ सय रुपैयाँमा काराेबार भइरहेकाे छ ।

यसअघि,सोमबार सुन तोलाको ९८ हजार सात सय रुपैयाँमा किनबेच भएको थियो । मंगलबार तेजावी सुनको भाउ तोलाको ९८ हजार तीन सय रुपैयाँ निर्धारण गरिएको छ ।

चाँदीको भाउ १० रुपैयाँले घटेको छ। सोमबार एक हजार तीन सय ५० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार एक हजार तीन सय ४० रुपैयाँ निर्धारण भएको छ ।

पशुपालनमा युवाको आकर्षण बढ्दो, अनुदानमा सेटिङको आरोप

हेटौंडा ।  पछिल्लो समय कृषि तथा पशुपालनमा युवाको आकर्षण बढ्न थालेको छ । वैदेशिक रोजगारीमा गएकाहरू फर्किएपछि आधुनिक प्रविधिमा कृषि तथा पशुपालन गर्नेको संख्या बढ्न थालेको हो । तर, सरकारबाट उचित अनुदान तथा सहयोग नपाएपछि उनीहरू खिन्न देखिन्छन् ।

हेटौंडा–१७ हटिया सानोगंगटेका विवेक सुवेदी अहिले ३१ वर्षका भए । उनी आजकल बाख्रा फार्म तिरै व्यस्त छन् । उनी व्यावसायिक बाख्रापालनमा लागेको तीन वर्ष भयो । उनले अस्ट्रेलियाबाट ल्याइएको बोयर जातको बाख्रा पालन गरिरहेका उनले बाख्रा सँगसँगै लेयर्स कुखुरासमेत पालन गरिरहेका छन् । अहिले उनको खोरमा ४० वटा बोका, ४० वटा माउ, ५० वटा बेच्न तयार भएका पाठापाठी र स–साना पाठापाठी गरी २४० वटा बोयर जातका बाख्राहरू रहेका छन् ।

उनको फार्ममा खरी जातको बाख्रा पनि पालिएको छ । त्यस्तै सात हजार कुखुरा अट्ने पोल्ट्रि फार्म पनि रहेको छ । उक्त पोल्ट्री फार्ममा अहिले भने तीन हजार लेयर्स कुखुरा छ । ‘बाख्रा पालन गरी स्वरोजगार बनौं, आर्थिक हैसियत मजबुत बनाऔं’ं भन्ने मूल उद्देश्यका साथ बाख्रापालन गरिरहेको छु,’ सुवेदीले भने, ‘तर, सरकारबाट बेवास्ता हुँदा हौसला टुट्ने रैछ ।’

उनले तीन जनाको सहलगानीमा बीबीआर एग्रो प्रालि फार्म खोलेर बाख्रा पालन गरिरहेका छन् । उक्त फार्ममा ४५ वर्षीया बद्रीनाथ ज्ञवाली र ४८ वर्षीया राजु पराजुली गरी तीन जनाको सहलगानी छ । पढाईको शिलशिलामा काठमाडौं गएका सुवेदी करिब १० वर्ष जति काठमाडौंमा नै मोबाइल पसल चलाएर बसेका थिए । विभिन्न ठाउँमा घुम्ने क्रममा देखिएको बाख्रापालनपछि आफूलाई पनि बाख्रापालन गर्ने जाँगर चलेको उनी सुनाउँछन् ।

घरमा पहिल्यैबाट बाख्रापालन गरिएको भए पनि व्यवसायिक रुपमा बाख्रापालन गर्न थालिएको तीन वर्ष जति भएको उनले भने । फार्ममा अहिलेसम्म फार्ममा तीन करोडभन्दा बढी लागत लागिसकेको सुवेदीले बताए ।

अनुदानमा सेटिङको आरोप 

पछिल्लो समय कृषि तथा पशुपालनमा युवाहरूको आकर्षण बढे पनि सरकारबाट वास्तविक कृषकहरूलाई साथ सहयोग नभएपछि कृषकहरू खिन्न देखिएको सुवेदी बताउँछन् । आफूले ठूलो लागतमा व्यवसाय सुरु गरेको, तर सरकारबाट कुनै पनि अनुदान प्राप्त नभएको उनी बताउँछन् ।
बागमती प्रदेश सरकारबाट प्रदान गर्ने अनुदान सेटिङको आधारमा अरुलाई नै प्रदान गरिएको उनको गुनासो छ । विभिन्न चरणमा आफ्नो फार्म छनौट भएपनि अन्तिम चरणमा आफ्नोभन्दा कम नम्बर प्राप्त गर्ने फार्मलाई अनुदान प्रदान गरिएको उनले बताए ।

बाहिरी बजासँग प्रतिस्पर्धा गर्न कठिन

सम्बन्धित् निकायबाट कुनै पनि सहयोग नहुँदा बाहिरी बजारसँग प्रतिस्पर्धा गर्न समस्या पर्ने गरेको सुवेदी बताउँछन् । ‘बाहिरी बजारसँग प्रतिस्पर्धा गरिरहँदा हामीजस्ता कृषकहरूलाई निकै नै कठिन पर्ने गर्दछ,’ उनले भने, ‘उनीहरूले विभिन्न अनुदान र राहत लिएर व्यवसाय गर्दा लागत कम लाग्ने हुन्छ । तर, हाम्रो लागत बढी भइरहेको हुन्छ । यस्तोमा उनीहरूसँग प्रतिस्पर्धा गर्दा घाटाको व्यापार गरिरहनु परेको छ ।’

सरकारले कृषकहरूको भविष्य सुनिश्चित गरिदिए यो व्यवसाय थप फैलिँदै जाने उनी बताउँछन् । ‘हामी संघर्ष गरिरहेका छौं, सरकारसँग आफ्नो अधिकारको लागि लडिरहेका छौं,’ सुवेदीले भने, ‘अहिले नै आत्तिनु हँुदैन । भविष्यमा व्यवसाय नाफामूलक हुनेछ ।’ सुवेदीले व्यवसाय सुरु गरेको पहिलो वर्ष कुनै पनि नाफा आर्जन नगरेको, तर गत वर्ष विभिन्न खर्च कटाएर केही नाफा भएको सुनाए ।

एउटै बोकाको दुई लाख ५० हजार

उनले बोयर जातको बोका तथा माउ अहिले बिउको लागि बिक्री वितरण गर्ने गरेका छन् । एउटा बोकाको मूल्य अहिलेको बजार मूल्य अनुसार दुई लाख ५० हजार रुपैयाँ पर्ने गरेको सुवेदी बताउँछन् । अस्ट्रेलियाबाट आयात गरेको बोका, माउबाट उत्पादन गर्नुपर्ने भएकोले महँगो पर्ने गरेको उनले बताए ।

उनले फार्ममा चार जनालाई रोजगारी पनि दिइरहेका छन् । फार्मको सम्पूर्ण जिम्मेवारी फार्मका म्यानेजर तथा टेक्निसियन रञ्जन अर्याललाई दिइएको छ । बाख्राको लागि तीन बिघा क्षेत्रमा घाँस लगाइएको अर्यालले बताए । बारीमा सुपर नेपियर, जै, बार्सिम स्टाइलो, किम्बुलगायतको घाँसहरू लगाइएको छ । अहिले बोयर जातको बाख्रा मासुको लागि भने खासै बिक्री नहुने सञ्चालक सुवेदीले बताए ।

नेपाल व्यावसायिक बाख्रा पालन महासंघ मकवानपुरले प्रतिकिलो एक हजार दुई सय रुपैयाँ जिउँदोलाई पर्ने गरी प्रदेश सरकारलाई मूल्य सूची बुझाएको छ । महासंघका अध्यक्षसमेत रहेका सुवेदीले उक्त मूल्य सूचीमा बिक्री गर्दा पनि किसानलाई घाटा पर्न जाने बताउँछन् । प्रदेश सरकारले भने उक्त मूल्य सूचीमा कुनै पनि प्रतिक्रिया दिएको छैन । घाँस तथा दानाको मूल्य दिनानुदिन बढे पनि मासुको मूल्य बढाउन सरकार हिच्किचाउने गरेको उनको आरोप छ ।

अहिले सरकारी निकाय तथा विभिन्न संघ संस्थाबाट उक्त बोयर जातको बोका तथा माउ किन्न आउने गरेको सुवेदी बताउँछन् । ‘बीउको लागि बाख्रा उत्पादन गरिएको भएर अहिले हाम्रो व्यवसायबाट त राम्रै नाफा भएको छ । तर, समग्रमा बाख्रापालक कृषकहरूले घाटाको व्यापार गरिरहनुपरेको छ,’ सुवेदीले भने,’ सरकारले उचित अनुदान र राहतको व्यवस्था गरिदिए थप सहज हुने थियो ।’

भारतबाट आयात गरिएका खसी बोकाहरू उत्पादन गर्न उनीहरूलाई कम खर्चालु हुने हुँदा बजारभाउ पनि सस्तो देखिएको उनले थपे । उनले भने, ‘भारतमा विभिन्न निकायबाट राहत तथा अनुदान लिएर व्यवसाय गर्छन् । जसबाट बजारभाउ सस्तो हुन्छ । तर, हाम्रोमा लागत नै बढी लाग्ने हुँदा बजारभाउ पनि बढाउनुपर्ने बाध्यता छ, यस्तोमा प्रतिस्पर्धा गर्न निकै कठिन परेको छ ।’

५० रूपैयाँ भाडा नदिँदा हत्या !

काठमाडौँ ।  २२ फागुन, साँझ करिब ६ बजे । भूपेन्द्र बुढालाई राजेन्द्र बुढाले फोन गरे र भने, ‘आज मेरो डेरामा बसौँ है ।’ २० वर्षीय भूपेन्द्रले ‘हुन्छ’ भने । उनीहरूको पहाड गाउँ बाजुराको खप्तड छेडदह गाउँपालिकाको गाज्रा हो । नाता दाजुभाइकोे । तराई बसाइँ भने कैलालीको धनगढी उपमहानगरपालिकामा छ ।

फोन कुराकानीका क्रममा भएको सल्लाहअनुसार भूपेन्द्र राजेन्द्रकहाँ बस्न हिँडे । जाँदै गर्दा राजेन्द्रसँग उनको भेट धनगढीा–२ बेहडीको रुवस होटल नजिक भयो ।  २४ वर्षीय राजेन्द्र से १ ह २८६६ नम्बरको अटोका चालक पनि हुन् । अटो रोकेर होटल नजिकैको कटेजमा ५०÷५० रूपैयाँको मदिरा दुवैले खाए । त्यसपछि राजेन्द्रको कोठा धनगढी–५ सन्तोषी टोल हुँदै लागे, दुवै जना ।

रातको त्यस्तै ८ : ३० बजेको थियो । उनीहरू प्रदेशसभा भवन अगाडि पुगे । जहाँ राजेन्द्रले चलाएको अटोलाई कुलदीप गुप्ताले रोके । उनी जाने चाहिँ जालीगाउँ हो ।

राजेन्द्रले भने : भाडा ५० रूपैयाँ लाग्छ है ।
कुलदिपले भने : हुन्छ ।

केही सयममै उनीहरू पुगे, नैनादेवी चोक । त्यहाँदेखि अगाडि बढ्दै गर्दा राजेन्द्रले कुलदिपसँग भाडा मागे । जवाफमा कुलदिपले हिन्दीमा भने,– ‘मे अटोका भाडा नही दुङ्गा, तुम जो करो ।’यसपछि उनीहरूबीच विवाद भयो । विवाद गर्दै केराबारी पुगे । जुन धनगढी उपमहानगरपालिका–५ मा पर्छ ।  त्यहाँ पुगेपछि भाडा नदिए ओर्लिन कुलदिपलाई भने । तर, मानेनन् ।

नमानेपछि अटोदेखि झार्न खोज्दा भूपेन्द्र र कुलदिपबीच हातहालाहाल भयो । राजेन्द्रले कुटे कुलदिपलाई । त्यहीबेला अटोको पछाडि भागमा रहेको काठको मुङ्ग्रो ल्याइ भूपेन्द्रले कुलदिपको छाती र पेटमा ५÷६ पटक प्रहार गर्दा सडक छेउ नालीमा ढलेको भूपेन्द्रले प्रहरीसँगको बयानमा भनेका छन् ।

त्यसपछि फेरि नालीमै गएर अनुहार र टाउमा त्यही मुङ्ग्रोले पटकपटक प्रहार गरेको पनि बयानमा उल्लेख छ । कुलदिपको हत्या घटना भने २३ फागुनको बिहान मात्र सार्वजनिक भएको हो । सडक छेउ नालीमा शव देखेपछि घटना सार्वजनिक भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।  त्यसपछि प्रहरीले घटनाको अनुसन्धान थालेको थियो । अनुसन्धानको क्रममा भूपेन्द्र र राजेन्द्र मुछिएको पाएपछि प्रहरीले दुवैलाई २७ फागुनमा सन्तोषी टोलबाट पक्राउ गरेको हो ।

कैलाली प्रहरीले अनुसन्धानपछि बुझाएको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय कैलालीले सोमबार जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा पनि दायर गरेको छ । अभियोग पत्रमा भूपेन्द्र र राजेन्द्रलाई मुलुकी अपराध संहिता – २०७४ को ज्यानसम्बन्धी कसूरको उपदफा (२) अनुसार न्यायाधिवक्ता राजेन्द्रसिंह भण्डारीले जन्मकैदको मागदावी गरेका छन् ।

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ५८ पैसा र बिक्री दर १२१ रुपैयाँ १८ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १३२ रुपैयाँ ७५ पैसा र बिक्री दर १३३ रुपैयाँ ४१ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५८ रुपैयाँ १५ पैसा र बिक्री दर १५८ रुपैयाँ ९३ पैसा छ ।  स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ तीन मात्र र बिक्री दर १३० रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ ६२ पैसा र बिक्री दर ९१ रुपैयाँ सात पैसा  छ ।  क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ४८ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ९६ पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली नाै रुपैयाँ ८३ पैसा र बिक्री दर नाै रुपैयाँ ८८ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ९५ पैसा र बिक्री दर १९ रुपैयाँ चार पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल  एकको खरिर दर ३२ रुपैयाँ १४ पैसा र बिक्री दर ३२ रुपैयाँ ३० पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ एक पैसा र बिक्री दर ३३ रुपैयाँ १८ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५९ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ७३ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर नाै रुपैयाँ ९३ पैसा र बिक्री दर नाै रुपैयाँ  ९७ पैसा कायम भएको छ ।

आज राजनीतिक दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग, आचारसंहिता कहिलेदेखि ?

काठमाडाैं ।  २२ चैतनिर्वाचन आयोगले आज स्थानीय तहकाे चुनावमा भाग लिने राजनीतिक दलहरूसँग छलफल गर्दैछ । बिहान साढे ११ बजे छलफल हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार स्थानीय निर्वाचनमा भाग लिने ७९ वटा दलहरूलाई छलफलका लागि बोलाइएको छ ।

०७४ को निर्वाचनमा आयोगले राजनीतिक दलसँग निर्वाचन आचारसंहिता परिपालना गर्ने गराउने विषयमा प्रतिबद्धता लिएको थियो । यसपटक ३० वैशाखमा स्थानीय तहकाे निर्वाचन हुँदैछ ।

तर, आचारसंहिता भने लागू भइसकेकाे छैन ।

उमेद्वार बन्नुअघि बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने भनी निर्वाचन आयोगले जारी गरेको आचारसंहिताविरुद्धको रिट परेकाे छ । याे विषय सर्वाेच्च अदालतमा विचाराधीन रहेकाे छ ।

यद्यपि, सुझावका आधारमा प्रतिबद्धता पत्र तयार गरी सबै राजनीतिक दलका शीर्ष नेताबाट हस्ताक्षर गराउने आयोगले तयारी गरेको छ ।

पोखरामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु 

काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–६ खहरेमा मंगलबार बिहान मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक डोल्पा त्रिपुरासुन्दरी नगरपालिका–१ का २० वर्षीय किशोर कठायत रहेका छन् ।

उनको उपचारको क्रममा पोखरा स्थित गण्डकी मेडिकल कलेजमा मंगलबार बिहान ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । कठायतले चलाएको बागमती प्रदेश ०२ ०२९ प ०९३७ नम्बरको मोटरसाईकल आज बिहान पौने ४ बजे अनियन्त्रित भएर पल्टिएको वडा प्रहरी कार्यालय बैदाम कास्कीले जनाएको छ ।

हुम्लामा चुनावी तालमेल गर्ने सत्ता गठबन्धनकाे निर्णय, गठबन्धनलाई असर पर्नेगरी अभिव्यक्ति नदिने सहमति

सिमकोट । वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन दलले हुम्लामा चुनावि तालमेल गर्ने भएका छन् ।  हुम्लाका सात गाउँपालिका तथा ती पालिकाका ४४ वडामा गठबन्धनका दलहरुबीच तालमेल हुने भएकाे हाे ।

केन्द्रीय गठबन्धनमा रहेका दलहरूबीच हुम्ला जिल्ला सदरमुकाम सिमकोटमा रहेको बिपि चिन्तन प्रतिष्ठानमा संयुक्त बैठक बसेर मिलेर चुनाव लड्ने निर्णय भएकाे एकीकृत समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष तीर्थराज रोकाया बताए  ।

कांग्रेस हुम्लाका सभापति मोहनविक्रम सिंहको अध्यक्षतामा बसेको गठबन्धनको बैठकले निर्वाचनमा तीनै दल(कांग्रेस, माओवादी केन्द्र र एकीकत समाजवादी) बीच तालमेल गरेर जाने निर्णय गरेकाे हो ।

चुनावी अभियानका क्रममा गाउँघरमा कार्यक्रम सञ्चालन गर्दा गठबन्धनलाई असर पर्नेगरी अभिव्यक्ति नदिनेसमेत सहमति पनि भएकाे कांग्रेस हुम्लाका सभापति सिंहले बताए । गठबन्धनकाे अर्को बैठक २६ चैतमा बस्नेछ ।

सबैभन्दा ठुलो मतपत्र काठमाडौंको, सानो डोल्पाको 

काठमाडौं । काठमाडौं जिल्लामा सबैभन्दा ठूलो मतपत्र छपाई हुने भएको छ । जनक शिक्षा सामग्री केन्द्र नमुना मतपत्र छापिरहेको निर्वाचन आयोगका अनुसार सबैभन्दा सानो मतपत्र डोल्पाका लागि छापिने भएको छ ।

‘कुल २३ लहर समूहका ७७ प्रकारका १ करोड ९४ लाख थान मतपत्र छपाई हुनेछन्,’ आयोगका प्रवक्ता शालिग्राम पौडेलले भने, ‘सबैभन्दा कम १६ लहरको मतपत्र डोल्पाको हुनेछ भने सबैभन्दा बढी ५६ लहरको मतपत्र काठमाडौंको हुनेछ ।’

बारको नयाँ नेतृत्वका लागि मतगणना सुरु

काठमाडौं । नेपाल बार एशोसिएशनको नयाँ नेतृत्व चयनका लागि मतगणना सुरु भएको छ । काठमाडौंसहित देशैभरीका ३४ मतदान केन्द्रवाट मतपेटिका राजधानी आएलगत्तै बिहान ९ बजेबाट मतगणना सुरु भएको हो ।

बारेको  २६ औँ केन्द्रीय कार्यसमितिका अध्यक्षसहित ११ पदाधिकारीसहित २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा नौ हजार ७०८ अधिवक्ताहरु मतदाताले मतदान प्रक्रियामा सहभागी भएका थिए ।

नयाँ कार्यसमितिका लागि प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूह र बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहबीच मुख्य प्रतिस्पर्धा छ ।

वालुवाटारमा गठबन्धनको बैठक जारी 

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक जारी छ ।  वालुवाटारस्थित प्रधानमन्त्री निवासमा पाँच दलीय गठबन्धन बसिरहेकाे हाे । स्थानीय तहको निर्वाचनमा कसरी गठबन्धन गर्ने भन्ने मोडालिटीका बारेमा छलफल गर्नका लागि सो बैठक बसेको हो ।

आवश्यक्ता भए मात्रै गठबन्धन गर्नूः डा. कोइराला

पोखरा । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले स्थानीय आवश्यक्ताका आधारमा मात्रै गठबन्धन गर्न नेता कार्यकर्तालाई सुझाएका छन् ।

कास्कीमा सोमबार कार्यकर्तासँग भेटघाट गर्दै उनले चुनावी तालमेलको अधिकार प्रदेश, जिल्ला, पालिका र वडालाई भएकोले आवश्यक्ता भए मात्रै गठबन्धन गर्न आग्रह गरे । ‘गठबन्धन जहाँ आवश्यक छ त्यहाँ गर्नुस् । सबै ठाउँमा गर्नुपर्दैन,’ उनले भने, ‘तालमेलका नाममा विगतमा भरतपुरको जस्तो तालमेल नगर्नुहोला । यसले पार्टीलाई नोक्सानी हुन्छ ।’ अघिल्लो स्थानीय तहको चुनावमा माओवादीसँग तालमेल गरेका पालिकामा कांग्रेसले हारेको तर माओवादीलाई कांग्रेसले जिताएको भन्दै त्यसप्रति सचेत रहन अनुरोध गरे ।

केन्द्रिय सदस्य समेत रहेका उनले कांग्रेसको विधान अनुसार टिकट वितरणको मापदण्ड बनाउन निर्देशन दिएका छन् । ‘जथाभावी टिकट वितरण गर्ने होईन । सक्षम र योग्य उमेदावरलाई निर्वाचनमा टिकट दिनुपर्छ,’ उनले भने । अर्का केन्द्रिय सदस्य मधु आचार्यले अरु दलहरु पनि कांग्रेसको एजेन्डामा चुनावी तालमेलका लागि तयार हुनुपर्ने बताए ।

नरैनापुरको कृष्णनगरमा आगलागी १५ घरगोठ जलेर नष्ट

नेपालगन्ज । बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ४ को कृष्णनगरमा सोमबार दिउँसो भीषण आगलागी भएको छ । सो आगलागीमा परेर करिब १५ घरगोठ र ४ वटा बाख्रा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय भवानियापुर नरैनापुरले जनाएको छ ।

इलाका प्रहरी कार्यालय भोजपुरका इन्चार्ज प्रहरी निरीक्षक वसन्त गौतमले दिएको जानकारी अनुसार वडा नम्बर ४ को घोडदौरिया नजिकैको कृष्णनगरमा सोमबार दिउँसो साढे ३ बजे आगलागी भएको हो । करिब डेढ घण्टापछि आगलागी नियन्त्रणमा आएको छ ।

प्रहरी, सशस्त्र प्रहरी, रेडक्रसकर्मी, स्थानीय र नरैनापुर गाउँपालिकाको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा आएको प्रहरी निरीक्षक गौतमले जानकारी दिए । आगलागीबाट कुनै प्रकारको मानवीय क्षति हुन नपाएको र घट्नाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।