समाचार | Page 1708 of 6015 | ईमाउण्टेन समाचार

Our Network

असार २ २०८३, बुधवार

समाचार

आर्मीको जितमा नवयुग, भरत र जर्जप्रिन्सको गोल 

काठमाडौ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा शुक्रबार त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशलाई ४-१ ले पराजित गर्दै विजयी सुरुआत गरेको छ ।

पोखराको गोस्टेघाट खेल मैदानमा आर्मीको जितमा जर्ज प्रिन्स कार्की, भरत खवास, दिनेश हेन्जन र नवयुग श्रेष्ठले एक एक गोल गरे । लुम्बिनीका चेतन थारुले एक गोल फर्काए । बिहीबारबाट सुरु फुटबलमा एनआरएनए र बागमतीले विजयी सुरुआत गरिसकेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको १० लाख ७० हजारसहित एक जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको नगद १० लाख ७० हजार रूपैयाँसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ५० वर्षीय मोहद् तसलिम छन् । उनलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो । बुद्ध एयरको उडानद्वारा काठमाडौंबाट धनगढीतर्फ जान लागेका उनको झोला विमानस्थलमा जाँच गर्ने क्रममा उक्त रकम भेटिएको थियो । त्यसपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुरमा पठाइएको छ ।

परराष्ट्रमन्त्री र विकास तथा सहयोगका लागि स्वीस नियोगका महानिर्देशकबीच भेटवार्ता

काठमाडौं । विकास तथा सहयोगका लागि स्वीस नियोगका महानिर्देशक प्याट्रिसिया डान्जीले आज परराष्ट्रमन्त्री डा नारायण खड्कासँग भेट गरेकी छन् । भेटवार्ता परराष्ट्रमन्त्रीको कार्यकक्षमा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भेटमा उनीहरुबीच नेपालमा भइरहेको र हुनसक्ने स्वीस सहकार्यका विभिन्न क्षेत्रका बारेमा छलफल भएको थियो । बैठकमा कोभिड–१९ पश्चात नेपालको आर्थिक पुनरुत्थान र अल्पविकसित राष्ट्रबाट स्तरोन्नती हुनका लागि आवश्यक पर्ने सहयोगका विषयमा पनि छलफल भएको थियो ।

मनसुनको सय दिनः १०७ जनाको मृत्यु, ११ जना बेपत्ता 

काठमाडौं । यस वर्ष (२०७९) मनसुन सुरु भएपछिको एक सय दिनमा मनसुनजन्य विपद्का घटनाले ठूलो क्षति गरेको छ । २०७९ सालमा मनसुन जेठ २२ गतेबाट सुरु भएको थियो । गत भदौ २७ गते मनसुन सुरु भएको एक सय दिन पुरा भएको थियो ।

राष्ट्रि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापना प्राधिकरणका अनुसार यस अवधिमा बाढी, पहिरो, अबिरल वर्षा, चट्याङ र सर्पदंशका ५१२ वटा घटना भएका थिए ।

ती घटनामा १०७ जनाको मृत्यु, ११ जना बेपत्ता, १९३ जना घाईते भएको प्राधिकरणद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । विपद्का घटनाबाट उक्त समयमा ६४३ परिवार प्रत्यक्ष प्रभावित भएका थिए ।

‘सबैभन्दा बढी ४६ जनाको मृत्यु चट्याङ्गबाट भयो, १३० जना घाईते भए । पहिरोको कारण २७ जनाको मृत्यु र ३४ जना घाईते भएका छन् । बाढीमा परेर अहिलेसम्म १४ जनाको मृत्यु, १७ जना घाइते र ११ जना वेपत्ता छन् । भारी वर्षाका कारण ५ जनाको मृत्यु, १० जना घाईते भएका छन् । सर्पदंशबाट १५ जनाको मृत्यु र २ जना घाइते भएका छन्,’ प्राधिकरणले विज्ञप्तिमा भनेको छ ।

पाँच प्रकारको विपद् घटनाबाट मनसुन सुरु भएपछिको एक सय दिनमा ४९ जिल्लाले मानवीय क्षति व्यहोरेको छ । सो अवधिमा ५ हजार ४६५ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्राधिकरणले जनाएको छ ।

अघिल्लो वर्ष २०७८ सालमा मनसुन सुरु भएपछिको एक सय दिन (२०७८ जेठ २८ – असोज २) मा ७१७ वटा मनसुनजन्य विपद्का घटना भएका थिए । ती घटनामा १७४ जनाको मृत्यु, ३७ जना बेपत्ता र १८१ जना घाइते भएका थिए ।

पछिल्लो चौबिस घण्टामा थपिए १७ सय ८७ जना डेंगुका बिरामी, दुई जनाको मृत्यु

काठमाडौं । पछिल्लो चौबिस घण्टामा देशभर १ हजार ७८७ जना डेंगुका नयाँ बिरामी थपिएका छन् । सोही अवधिमा डेंगुका कारण दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार २०७९ साउन १ गतेयता नेपालमा ३८ हजार ९१८ जनामा डेंगु रोग देखिएको छ । हालसम्म डेंगुका कारण ४७ जनाको मृत्यु भइसकेको छ । डेंगु रोग देशका सबै ७७ वटै जिल्लामा फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

ठूला पार्टीका नेताले देशलाई कंगाल बनाए : प्रदीप उदय

अर्घाखाँची । राष्ट्रिय प्रजातन्त्र पार्टी लुम्बिनी प्रदेशका अध्यक्ष प्रदीपराज उदयले ठूला पार्टीका नेताले देशलाई कंगाल बनाउन लागेको आरोप लगाएका छन् ।

अर्घाखाँची सदरमुकाम सन्धिखर्कमा पार्टीको चुनाव प्रसार सम्पर्क कार्यालयको शुक्रबार उद्घाटन गर्दै उनले बाईसे चौबिसे राज्यलाई एक बनाई सि‌गाे देश निर्माणमा अमूल्य योगदान पुर्‍याएका राजालाई शासन सत्ताबाट हटाएर देशलाई गरिबीतर्फ लगेको आराेपसमेत लगाए । नेता उदयले ठूला दलहरूले देशका लागि केही गर्न नसकेकाले नेपाली जनताले दलको विकल्प खोज्दै राष्ट्रिय प्रजातन्त्र पार्टीलाई रोज्ने दाबी गरे ।

प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार होमनारायण बेल्बासेले तीन/तीनपटक अर्घाखाँचीबाट ठूला दलका नेता संसदमा पुगेर पनि जिल्लाको विकासमा सिन्को भाँच्न नसकेकाले अब राष्ट्रिय प्रजातन्त्र पार्टीको विकल्प नरहेको बताए ।

युवा मिडफिल्डर आशीष राई भारतीय क्लबमा अनुबन्ध 

काठमाडौ । नेपाली यु-२० टोलीका युवा मिडफिल्डर आशीष राईले केरला प्रिमियर लिगको क्लब डनबस्को एफएसँग सम्झौता गरेका छन् ।

यु-२० टिमका नियमित सदस्य तथा राष्ट्रिय टिममा समेत स्थान बनाइसकेका आशीषले च्यासल युथ क्लबबाट सहिद स्मारक ए डिभिजन लिग खेलेका थिए । गत महिना बहराइनमा भएको एएफसी यु-२० एसियन कप छनोटको टिममा उनी नियमित सदस्य थिए । अक्टोबरमा भएको यु-२० साफ च्याम्पियनसिपमा पनि उनी नेपाली टिमका महत्त्वपूर्ण सदस्य थिए ।

गत वर्ष नेपाली यु-२३ टिमका डिफेन्डर अभिषेक लिम्बूले पनि सोही क्लबबाट खेलेका थिए । यस्तै महिला खेलाडी दीपा न्यापानेले पनि सोही टिमको महिला क्लबबाट खेलेकी थिइन् ।

काठमाडौं र ललितपुरमा तीन जना मृत अवस्थामा फेला

काठमाडौं । काठमाडौं र ललितपुरमा तीन जना मृत अवस्थामा फेला परेका छन् । काठमाडौंको काठमाडौं महनगरपालिका–३१ भिमसेनगोलास्थित भत्केको पुल मुनि काभ्रे घर भएका ३८ वर्षीय शुभास खड्का बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

ललितपुरको ललितपुर महानगरपालिका–१७ ग्वार्को डेरा गरी बस्ने मकवानपुर हेटौंडा घर भएका ४५ वर्षीय मिल कुमार श्रेष्ठ आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी ललितपुर महानगरपालिका–१० कुपण्डोलस्थित बागमती खोलाको बिचमा  हाल पहिचान नखुलेकी करिब ४० वर्षीया महिला बिहीबार मृत अवस्थामा फेला परेकी छन् ।  तीनवटै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अपहरण गरी हत्या गरेको अभियोगमा तीन जना पक्राउ

मोरङ । सिरहा गोलबजार नगरपालिका–३ बस्ने १७ वर्षीय अंशु सदाको अपहरण गरी हत्या गरेको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धनुषा कमला नगरपालिका–६ बस्ने १९ वर्षीय राकेश ठाकुर, मोरङ रतुवामाई नगरपालिका–५ बस्ने २६ वर्षीय मनोज कार्की र धनुषा कमला नगरपालिका–६ बस्ने १८ वर्षीय किशोर रहेका छन् ।

अपहरण पश्चात फिरौतीको रकम लिन विराटनगर महानगरपालिका–९ माछापुच्छ्रे बैंक पुगेका ती १८ वर्षीय किशोरलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो ।

अंशुको हत्या गरी विराटनगर महानगरपालिका–११ स्थित गेष्ट हाउसको कोठामा लोबेडभित्र तन्नामा पोको पारी शव राखेको थप अनुसन्धानको क्रममा खुल्न आएपछि घटनामा संलग्न राकेश र मनोजलाई समेत प्रहरीले पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बुद्धिचाल प्रतियोगिता गोरखामा सुरु

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बुद्धिचाल प्रतियोगिता गोरखामा सुरु भएको छ । युवा तथा खेलकुद मन्त्रालय तथा राष्ट्रिय खेलकुद परिषद्को आयोजना र गण्डकी प्रदेशको सहआयोजनामा बिहीबारबाट गोरखा क्याम्पसमा प्रतियोगिता सुरु भएको हो ।

सात प्रदेश, एनआरएनए, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी ११ टिमबाट तीन पुरुष र तीन महिलाले प्रतियोगितामा सहभागिता जनाएका छन् । ६ स्पर्धाको खेल हुने खेलमा  १८ पदकको टुंगाे लाग्नेछ । जसमा  क्लासिकल, रेपिड र ब्लीट्ज स्पर्धाका खेलहरू सञ्चालन हुने छन् ।

गोरखा क्याम्पसमा बिहीबारबाट सुरु भएको बुद्धिचाल प्रतियोगिता २ कात्तिकसम्म सञ्चालन हुने छ । पहिलो दिन भएको क्लासिकल तर्फको खेलमा प्राय: शीर्ष खेलाडीहरूले जित हात पारे ।

खुलातर्फ फिडे मास्टर रूपेश जयसवाल र क्षितिज भण्डारीले जित हात पारे । पहिलोतर्फ पनि डब्लु एफएम सुजना लोहनीले जित हात पारे । रूपेशले लेखबहादुर थापा तथा क्षितिजले विश्वविजय घिमिरेलाई हराए । यसैगरी सुजनाले मार्सल तामाङलाई हराइन् । प्रतियोगिताको बलियो खेलाडी मानिएका आर्मीका मिलन लामा प्रदेश-२ का मनोज विकेसँग बराबरीमा रोकिए ।

माओवादीबाट एमाले प्रवेश गरी पार्टीबाटै निकालिएका प्रभु साह काे हुन् ?

बारा । एमालेले पार्टी साधारण सदस्यसमेत नरहने गरी कारबाहीमा परेका प्रभु साह अहिले चर्चामा छन् । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि रौतहट ३ बाट एमालेको टिकट बहिष्कार गरेर स्वतन्त्र उम्मेदवारी दिएपछि साह विवादमा आएका हुन् । पार्टी विराेधी गतिविधि गरेकाे आराेपमा एमालेले शुक्रबार साहसहित तीन नेतालाई कारबाही गरिसकेकाे छ ।

जनता समाजवादी पार्टीसँग चुनावी तालमेल गर्ने एमालेकोे निर्णयप्रति असहमति जनाउँदै स्वतन्त्र उम्मेदवारी दिएको साहले दाबी गरे पनि यसमा कुनै सत्यता नभएको उनलाई नजिकबाट बुझ्नेहरूले बताएका छन् । राजनीतिक जीवनको सुरुवातदेखि नै साहमा अस्थिर चरित्र हावी हुँदै आएको देखिन्छ ।

२०५४ सालकाे स्थानीय निर्वाचनमा साह एमालेबाटै रौतहटको पतौरा गाविसमा वडाध्यक्षमा निर्वाचित भएका थिए । साविककाे पतौरा गाविस उपाध्यक्ष सत्यनारायण राउतलाई २०५७ सालमा तत्कालीन जिविस सभापति राजेन्द्र पटेलको निवासमा कार्यवाहक अध्यक्ष बनाउन उनी हातपातमा समेत उत्रिएका थिए । सोही वर्ष मौलापुर चिरचिरास्थित प्रहरी बस्न छोडेको प्रहरी चौकीमा माओवादीहरूसँग मिलेर आगजनी गरे । त्यही घटना जोडिएपछि उनी फरार भएका थिए । फरार रहेको अवस्थामा उनलाई २०५७ सालमा माओवादीले सम्पर्क गरी आफ्नो पार्टीमा भित्र्याएको हो ।

भूमिगत माओवादी पार्टीले उनलाई मधेसी मुक्ति मोर्चामा संगठित गरेर तराईमा खटायो । मधेसका माओवादी नेता मातृका यादव र साहबीच लामो समयसम्म सम्बन्ध कायम रहन सकेन । दुबैबीच टकराव बढ्दै गयो । साह माओवादीभित्रको बाबुराम गुटमा सामेल भए । माओवादीहरूको गुटवन्दीमा साह कमजोर बन्दै गएर पार्टी छोड्ने वा छुट्टै पार्टी खोल्ने विकल्प बारेमा सोच्दै थिए । ठिक यसैवेला नेकपा विभाजन भयो । अवसरको खोजीमा रहेका साहले एमालेबाट राम्रो अफर पाए र उनी एमाले पसे ।

एमालेमा केही समय प्रदेश अध्यक्ष भएर प्रदेश सचिव सुमन प्याकुरेलको सहयोगमा उनले एकलौटी रूपमा पार्टी चलाए । मधेस प्रदेशमा रघुवीर महासेठको प्रवेशपछि उनीसँग साहको टकराव बढ्न थाल्यो । त्यसपछि साह अध्यक्षबाट हटाइए र ज्वाला साहले अध्यक्षको जिम्मेवारी पाइन् ।

त्यसपछि दुईजनाबीच टक्कर झन् बढ्दै गयो । साह प्रदेश इन्चार्ज भएर पार्टी कब्जा गर्न चाहन्थे । तर पार्टीको दशौं महाधिवेशनपछि रघुवीर महासेठ पार्टी सचिव र इन्चार्जसमेत बनाइए । त्यही दिनदेखि उनको पार्टीबाट बहिर्गमनको तयारी सुरु भएको थियो । अहिले आएर सोही योजनालाई पूर्णता दिइएको राैतहटका एमाले नेता कार्यकर्ता बताउँछन् ।

मधेस प्रदेशको इन्चार्ज बनेर शक्तिसहित चलखेल गर्ने योजनामा थिए साह । साेही कारण उनले विधान महाधिवेशन बहिस्कार गरे । केन्द्रीय कमिटी बैठक र धेरैपटक प्रदेश कमिटी बैठकसमेत बहिस्कार गरेर उनले पार्टीभित्र उधुम मच्चाएका थिए । एमालेका महासचिव शंकर पोखरेलले पटक पटक काठमाडौंमै बैठक बोलाएर मनाउने काम गरे । विधान संशाेधन गरेर उनका मान्छेहरूलाई केन्द्र र प्रदेशमा राखेकाे बताइन्छ । अहिले एमालेले साह निकट नेताहरू सबैलाई कारबाही गर्ने तयारी गरेकाे छ ।

निर्वाचनमा विभिन्न असन्तुष्ट पक्षले सुरक्षा चुनौती बढाउन सक्छन्ः प्रहरी महानिरीक्षक सिंह 

काठमाडौं । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा विभिन्न असन्तुष्ट पक्षले सुरक्षा चुनौती बढाउने बताएका छन् ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयको सभाहलमा शुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले काठमाडौं उपत्यका प्रहरी कार्यालय र मातहतका कार्यालय प्रमुखहरूलाई सुरक्षा चुनौतीको विश्लेषण गर्दै आवश्यक कार्ययोजना बनाउन समेत निर्देशन दिएका थिए ।

‘प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा विभिन्न असन्तुष्ट पक्षले सुरक्षा चुनौती बढाउन सक्ने भएकाले आ–आफ्नो इलाकाको सुरक्षा चुनौतीलाई विश्लेषण गर्दै आवश्यक कार्ययोजना बनाई सुरक्षा व्यवस्था मजवुत बनाउनोस्,’ उनले भने ।

निर्वाचनको सुरक्षा संवेदनशिल विषय भएकोले आपराधिक घटना रोकथाम तथा न्यूनीकरणका लागि सुरक्षा योजना अनुसार सर्च अपरेशन बढाई गुण्डागर्दी, घरेलु हतियारको प्रयोग, डान्सबार तथा क्लवहरू लगाएतमा हुन सक्ने ग्याङफाइटहरूलाई पूर्णरूपमा नियन्त्रण गर्न उनले निर्देशन दिए ।

काठमाडौं उपत्यकाको प्रहरी देशकै रोल मोडेलको रुपमा रहेकाले प्रहरीको आचरण तथा व्यवहारमा उत्कृष्ट ढंगले प्रदर्शन गरी सवै सेवाग्राहीलाई समान व्यवहार गर्न पनि प्रहरी महानिरीक्षक सिंहले निर्देशन दिएका थिए ।

गुण्डा गर्दी लगायतका विभिन्न आपराधिक गतिविधिहरू प्रति प्रहरीले कठोर भई सबैलाई कानूनी दायरामा ल्याउनु पर्ने बताउँदै उनले संगठन र विभागिय नीति बमोजिम कानून सम्वत ढङ्गबाट सम्पादित प्रहरी कारवाहीको जिम्मेवारी आफूले लिने जनाए ।

प्रहरी कर्मचारीहरूले आर्थिक प्रलोभनमा परी गर्न सक्ने नाजायज कार्य क्षम्य नहुने र त्यसतालाई कठोर कारवाही गरिने उनले बताए ।

नेपाली सेनाद्वारा बाढी–पहिरो प्रभावित क्षेत्रमा उद्दार तथा राहत सामग्री ढुवानी

काठमाडौं । नेपाली सेनाले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा खोज तथा उद्दार, राहत सामग्री ढुवानी र वितरण कार्य सञ्चालन गरेको छ । विगत केही दिनदेखि परेको अविरल बर्षासँगै आएको बाढी र पहिरोका कारण सुर्खेत, दैलेख, जाजरकोट, जुम्ला, कालिकोट, मुगु, हुम्ला, डोल्पा जिल्लाको जनजिवन प्रभावित भएको छ ।

जुम्ला, हुम्ला, कालिकोट तथा मुगु जिल्लाका अति विकट स्थानहरु राजचुली, ताजकोट, सर्कीघाट, छाँयानाथ, कन्कासुन्दरी लगायतका स्थानहरुमा पहिरोका कारण फसेका ११ जनाको सेनाले हवाई साधनमार्फत उद्दार गरेको छ ।

सेनाले हवाई साधनमार्फत १४ हजार ७३५ केजी राहत सामग्रीहरु ती स्थानमा ढुवानी गरी पहिरो प्रभावितलाई वितरण गरेको नेपाली सेनाले जनाएको छ । सेनाले अहिले विभिन्न स्थानहरुमा अवरुद्ध रहेका सडकहरु खुलाउने तथा हवाई साधनद्वारा थप राहत सामग्रीहरु ढुवानी गर्ने कार्य गरिरहेको छ ।

प्रभु साह एमालेको साधारण सदस्यसमेत नरहने गरी निष्कासित

काठमाडौं । एमालेले स्थायी समिति सदस्य प्रभु साहलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरेको छ । शुक्रबार एमाले महासचिव शंकर पोखरेलले साहलाई पार्टी विरोधी गतिविधि गरेको आरोपमा पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेका हुन् । साहसँगै उपेन्द्र साह र कुन्दनप्रसाद कुशवाहलाई पनि पार्टीबाट निकालिएको छ ।

साथै, एमालेले मधेस प्रदेशको सहइन्चार्जको जिम्मेवारी उद्धव रेग्मीलाई दिएको छ । एमालेले रौतहट जिल्ला अध्यक्ष त्रिभुवन साहलगायत केही नेता पार्टीविरोधी गतिविधिमा लागेको भन्दै जिल्ला कमिटी पनि विघटन गरेको छ ।

मधेस प्रदेशका कांग्रेसका तीन मन्त्री बर्खास्त

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसबाट मन्त्री बनेका ३ जनालाई बर्खास्त गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय मन्त्रिपरिषदबाट जनता समाजवादी पार्टी  मन्त्रीलाई बर्खास्त गरेको भोलीपल्ट मुख्यमन्त्री राउतले पनि मधेश सरकारको मन्त्रिपरिषदबाट नेपाली कांग्रेसका ३ मन्त्रीलाई बर्खास्त गरेका हुन् ।

जसअनुसार कांग्रेसबाट मधेश प्रदेश सरकारमा भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा उर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंह रहेका छन् ।

जसपाको एक मन्त्रीका अनुसार मुख्यमन्त्री राउतले फोन गरी कांग्रेसका मन्त्रीहरुलाई राजीनामा दिन निर्देशन दिएका तर कांग्रेसका मन्त्रीहरुले राजीनामा नदिएपछि बर्खास्त गर्नु परेको हो ।

महोत्तरीमा हत्या अभियोग लागेका व्यक्ति पनि चुनावी मैदानमा

महोत्तरी । निर्वाचन आयोगको जटिल नियमका कारण महोत्तरीमा कर्तव्य ज्यान मुद्दा खेपिरहेका उम्मेदवारले पनि चुनाव लड्न पाउने भएका छन् । एमालेबाट महोत्तरी १ मा प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गराएका लक्ष्मी महतो, क्षेत्र नम्बर ३ (क) मा अभिराम शर्मा र क्षेत्र नम्बर ४ (ख) बाट कौशलकुमार साहले निर्वाचनमा भाग लिन पाउने भएका हुन् ।

निर्वाचन आयोगले दिएको समयसीमाभित्र उनीहरूविरुद्ध कुनै उजुरी नपरेको हुनाले उम्मेदवारी खारेजी नभएको जिल्ला निर्वाचन कार्यालय प्रमुख सुवोधकुमार महतोले जानकारी दिए । निर्वाचन आयोगले उम्मेदवारविरुद्ध उजुरी गर्न कुनै उम्मेदवार वा उसकाे प्रतिनिधिलाई मात्र निर्धारण गरेको छ  । गैरउम्मेदवार वा प्रतिनिधिले उजुरी हाले उक्त उजुरी नलिने निर्वाचनन आयोगले नियम बनाएको छ ।

‘तर प्रतिनिधिसभामा मनोनयन दर्ता गराएका पाटी वा स्वतन्त्र उम्मेदवारले मतदातासमक्ष गलत सन्देश नजाओस् भन्ने उद्देश्यले उजुरी नहालेको हुनसक्छ,’ स्थानीय अकंज थापाले भने । जसपाबाट मनोनयन दर्ता गर्नुभन्दा एक दिन अगाडि मात्र एमाले प्रवेश गरेका लक्ष्मी महतोसहित तीनैजनालाई मधेस आन्दोलनको समयमा असई थमन बिकको हत्या गरेको आरोप छ ।

असई विकको हत्यामा संलग्न रहेको आरोपमा विशेष गरी लक्ष्मी महतोलाई उच्च अदालत जनकपुरले पुर्पक्षका लागि थुनामा राख्न आदेश दियो तर शक्तिको आडमा उनी अझै अदालतको सम्पर्कमा छैनन्। उच्च अदालत जनकपुरका न्यायाधीश पुष्पराज कोइराला र प्रभा बस्नेतकाे संयुक्त इजलासले महतोलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ बमोजिम थुनामै राखी मुद्दाको पुर्पक्ष गर्न १९ मंसिर २०७७ मा आदेश दिएकाे थियाे ।

जिल्ला अदालत महोत्तरीका न्यायधीश श्यामसुन्दर अधिकारीको इजलासले लक्ष्मी महतोबाट मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६८ र ७२ बमोजिम एक लाख रुपैयाँ नगद धरौटी लिई २०७६ असोज २ गते तारेखमा राख्ने आदेशलाई उच्च अदालतले पल्टाएर पुर्पक्ष गर्न आदेश दिएको हो । तत्कालीन सद्भावना पार्टीका केन्द्रीय सदस्यसमेत रहेका महतो यसअघिको निर्वाचनमा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा संघीय समाजवादी फोरमबाट उठेका थिए । उनी माओवादी केन्द्रका गिरिराजमणि पोखरेलसँग पराजित भएका थिए ।

फौजदारी अभियोग लागेका व्यक्तिहरूलाई टिकट दिएर दलहरूले कानुनको धज्जी उडाएको टिप्पणी भएको छ । ज्यान मुद्दा जस्तो जघन्य अपराधको मुद्दा खेपिरहेकालाइ टिकट दिएर दलहरूले अपराधको संरक्षण गरेको आरोप छ । ‘लक्ष्मी महतो, अभिराम शर्मा, कौशल साहजस्ता व्यक्तिहरुलाई पार्टीले टिकट दिनु नै अपराधको संरक्षण गर्नु हो,’ स्थानीय माधव पौडेलले भने ।

एमालेले मनोनयन दर्ता गर्नुभन्दा एकदिन अगाडि मात्र महतोलाई प्रवेश गराएर टिकट प्रदान गरेको थियो । महतो समुदायको बाहुल्यता रहेको यस क्षेत्रमा लक्ष्मी महतोलाई टिकट दिए निर्वाचन जित्ने एमालेको याेजना छ । महतो मधेस आन्दोलनको समयमा सदभावना पार्टीका केन्द्रीय सदस्य थिए । अघिल्लो निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम रोजे । जसपा हुँदै महतो एमाले प्रवेश गरेका छन् ।