समाचार | Page 1709 of 6015 | ईमाउण्टेन समाचार

Our Network

असार २ २०८३, बुधवार

समाचार

माथिल्लो दोर्दी ए काे परिक्षण उत्पादन सुरु

लमजुङ । लिबर्टी इनर्जी हाइड्रोपावरद्वारा निर्माण गरेको माथिल्लो दोर्दी ‘ए’को उत्पादित बिजुली परीक्षण बिहीबारदेखि सुरु भएको छ । दोर्दी गाउँपालिका–६ ढोडेनीमा स्थित २५ मेगावाट क्षमता सो आयोजना एक महिनाअघि निर्माण सम्पन्न भएको थियो । बिहीबार र शुक्रबार दुई दिन मेसिन जडान गर्न समय लाग्ने आयोजनाले जनाएको छ ।

यस आयोजनाको बाँकी रहेको काम पेनस्टक पाइपमा, टनेलमा पानी भर्ने काम, हेडबक्समा गत वर्ष बाढीले क्षति बनाएपछि उक्त समयमा बिजुली उत्पादन गर्न असफल भए पनि ती सबै काम सम्पन्न गरेर यतिबेला बल्ल उत्पादित बिजुली परीक्षण अघि बढेको आयोजनाले जनाएको छ ।

यसको सफल परीक्षणसमेत भइसकेको छ । आयोजना निर्माणका क्रममा तीन अर्ब ९६ करोड लगानीमा निर्माणकार्य सम्पन्न लक्ष्यका साथ अघि बढे पनि यसको लागतसमेत बढेको बताइएको छ ।

सो आयोजना विसं २०७१ बाट निर्माण थालनी गर्दै विसं २०७४ मा निर्माण सम्पन्न गर्ने लक्ष्य आयोजनाको थियो । तर विनासकारी भूकम्पपछिको अघोषित नाकाबन्दी र विसं २०७६ भदौमा आएको बाढीका कारण निर्धारित समयमा निर्माण सम्पन्न हुन सकेन ।

आयोजनाको लागत प्रतिमेगावाट १८ करोड ५४ लाख लाग्ने कम्पनीको अनुमान छ । आयोजनाको बिजुली हिउँदको समयमा आठ रुपैयाँ ४० पैसा र वर्षायाममा चार रुपैयाँ ८० पैसा हुने गरी प्रवद्र्धक कम्पनी लिवर्टी र विद्युत् प्राधिकरणबीच विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) भएको छ ।

नदीमा नुहाउन गएका विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु

बैतडी । नदीमा नुहाउने क्रममा बैतडीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपाल विद्युत प्राधिकरण युनिट कार्यालय पाटनमा कार्यरत पाटन नगरपालिका – १ जरौली निवासी ५५ वर्षीय नरबहादुर भट्टराई रहेका छन् । शुक्रबार बिहान साढे ११ बजेतिर त्रिपुरेश्वरधामस्थित सूर्नया नदीमा नुहाउन गएका उनलाई नदीले बगाएको थियो । त्यसलगत्तै प्रहरी र स्थानीयले उनकोे उद्धार गरेर प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा पुर्‍याएका थिए । त्यहाँ स्वास्थ्यकर्मीले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

जुम्ला सडकखण्डकाे पहिरो पन्छाउँदै सुरक्षा निकाय र स्थानीय सरकार 

जुम्ला । अविरल वर्षाका कारण जुम्लाकाे जनजीवन प्रभावित बनेकाे छ । जुम्ला सडक खण्डमा ठाउँठाउँमा ठूलो पहिरो गएको छ । बाढी पहिरोले जुम्ला-कालिकोट खण्डको कर्णाली राजमार्ग पूर्णरूपमा अवरुद्ध हुँदा एक सातादेखि यहाँको आवागमन  बन्द छ । कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्थानीयकाे दैनिकी कष्टकर बनेको छ ।

नन्दबक्स गणका गणपति रविन थापाका अनुसार जुम्लाको तिला गाउँपालिका रारालिहीमा तीन किलोमिटर खण्डमा पहिरो गएको छ । जसकारण राजमार्ग अवरुद्ध भएको छ । सो क्षेत्रमा सडक डिभिजन कार्यालय, स्थानीय प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको निगरानीमा राजमार्ग खुलाउने काम भइरहेको छ । त्यो क्षेत्रमा सशस्त्र प्रहरीका एसपी चित्रंगत दाहाल, जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख नरेन्द्र चन्दसहितका सुरक्षा निकाय प्रमुख खटिएका छन् ।

कर्णाली राजमार्गको रारालिहीमा तीनवटा स्काभेटर लगातार काम गरिरहेका छन् । ब्रेकरले समेत काम गरे पनि ठूलो ढुंगा खसेकाले ब्लाष्टिङ गर्नुपर्ने अवस्था आएको नन्दबक्सका गणपति थापाले बताए । सेनासहित सुरक्षा निकाय प्रमुखहरू राजमार्गमा खटिएका छन् ।

नाग्म-गमगडी राजमार्गको ८ देखि १० स्थानमा पहिरो गएर सडक अवरुद्ध भएको छ । हिमा गाउँपालिका नाग्म गमगडी राजमार्गको भूगोलपाटा, बाजागाडा, बड्की, देवारगाउँ, आचार्यलिहीमा पहिरो गएको छ । त्यस क्षेत्रमा स्थानीय तहको सक्रियतामा सडक सुचारु गरिएको छ ।

सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले सिंजामा सडक सुचारु गर्न स्काभेटरले काम भइरहेको बताए । उनका अनुसार हिमा क्षेत्रमा बढी पहिरो गएको छ ।

कनकासुन्दरी गाउँपालिका अध्यक्ष दामोदर आचार्यका अनुसार कनकासुन्दरी क्षेत्रको राजमार्गमा स्थानीय तहले स्काभेटर लगाएर काम अघि बढाएका छन् ।

हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले हिमा गाउँपालिकामा क्षेत्रमा पहिरो पञ्छाउने काम भइरहेको बताए  । उनका अनुसार केही स्थानमा बाटोको निसाना नै नभएकाले नयाँ बाटो खोल्ने काम भइरहेको छ ।

सात वर्षीया बालिका करणी गरि फरार भएका थारु पक्राउ

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुुरले सात वर्षीया बालिकालाई जबर्जस्ती करणी गरी फरार भएका एक युवा  पक्राउ परेको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका-९ ज्यामिरे बस्ने २० वर्षीय दर्पण पञ्जियार (थारु) लाई प्रहरीले पक्राउ गरेको हो ।

गत आइतबार करणी गरी फरार भएका उनलाई इलाका प्रहरी कार्यालय बेल्टारको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा डीएसपी राकेशकुमार पोदारले जानकारी दिए । आरोपित थारुलाई इलाका प्रहरी कार्यालय बेल्टारले थप अनुसन्धान थालेको जनाएको छ ।

त्रिशूली जलविद्युतको आइपीओमा १३ करोड ६६ लाख संकलन

काठमाडौं । त्रिशूली जलविद्युत कम्पनीको आइपीओको बाँकी रकम शुक्रबार सम्म ६६ हजार ५८० जनाले चुक्ता गरेका छन् । शुक्रबार बिहानसम्म ६६ हजार ५८० जनाले १५ लाख ७० हजार ९६५ कित्ता सेयरका लागि १३ करोड ६६ लाख ७३ हजार ९५५ रुपैयाँ चुक्ता गरेका छन् । त्रिशूलीले ४ असोजदेखि आफ्ना सेयरधनीहरूलाई चुक्ता हुन बाँकी रकम जम्मा गर्न आग्रह गरेको हो ।

त्रिशूलीको आइपीओ ७ चैत ०७५ चैतमा खुलेको थियो । त्यसबेला कम्पनीले जारी पुँजी दुई अर्ब ४७ करोड रुपैयाँको १५५ अर्थात् ३७ करोड पाँच लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका ३७ लाख ५ हजार कित्ता साधारण सेयर निष्कासन गरेको थियो । उक्त सेयरमा अंकित मूल्यको १०५ का दरले प्रतिकित्ता १० रुपैयाँका दरले अग्रिम माग गरिएको थियो । कम्पनीले प्रतिकित्ता १० रुपैयाँका दरले रकम भुक्तानी गरेका सेयरधनीहरूलाई बाँकी प्रतिकित्ता ९० रुपैयाँ भुक्तानी गर्न भनेको हो ।

कम्पनीले सेयरधनीहरूलाई १७ कात्तिकसम्ममा सो रकम भुक्तानी गर्न आग्रह गरेको छ । ९० रुपैयाँमध्ये सेयरधनीहरूले प्रतिकित्ता ८७ रुपैयाँका दरले रकम भुक्तानी गर्नुपर्नेछ । रकम बुझाउने अन्तिम मितिसम्ममा प्रतिकित्ता ३ रुपैयाँका दरले ब्याज प्राप्त हुने भएकाले ८७ रुपैयाँ बुझाए हुने कम्पनीले जनाएको छ । आयोजनाको सेयर १४ चैत ०७५  बाँडफाँट भएको थियो । सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत उक्त रकम भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रतिनिधि सभाको १६५ निर्वाचन क्षेत्रमध्ये ६१ वटामा महिलाको उम्मेदवारी सून्य

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचानमा महिला उम्मेदवारको उपस्थिती निराशाजनक देखिएको छ । निर्वाचन आयोगका अनुसार १६५ निर्वाचन क्षेत्रको लागि हुने प्रतिनिधि सभा निर्वाचनमा ६१ वटा निर्वाचन क्षेत्रमा महिला उम्मेदवारको संख्या सून्य रहेको छ ।

प्रतिनिधि सभा निर्वाचनको लागि उम्मेदवारी दिने २ हजार ४१२ जनामध्ये २ हजार १८६ जना पुरुष र २२५ जना महिला रहेका छन् । अर्थात कुल उम्मेदवारी दिनेमध्ये ९.३२ प्रतिशत संख्या मात्र महिलाको रहेको छ । निर्वाचन आयोगको तथ्याङ्क अनुसार महिला उम्मेदवारको उपस्थिती १६५ क्षेत्रमध्ये ६१ वटामा सून्य र ४८ वटा निर्वाचन क्षेत्रमा मात्र एक–एक रहेको छ ।

प्रतिनिधि सभा तर्फको २६ वटा निर्वाचन क्षेत्रमा प्रत्येकमा दुई–दुई जना महिला उम्मेदवार रहेका छन् भने १३ वटा निर्वाचन क्षेत्र प्रत्येकमा तीन–तीन जना महिलाले उम्मेदवारी दिएको आयोगले जनाएको छ ।

यस्तै, आठ वटा निर्वाचन क्षेत्रमा चार–चार जना, पाँच वटा निर्वाचन क्षेत्रमा पाँच–पाँच जना, दुई वटा निर्वाचन क्षेत्रमा ६–६ जना, एउटा निर्वाचन क्षेत्रमा ७ जना र एउटा निर्वाचन क्षेत्रमा १० जना महिलालाई उम्मेदवार बनाइएको छ ।

आयोगका अनुसार ताप्लेजुङ निर्वाचन क्षेत्र नं.१, पाँचथर निर्वाचन क्षेत्र नं.१, इलाम निर्वाचन क्षेत्र नं.१, झापा निर्वाचन क्षेत्र नं.३, संखुवासभा निर्वाचन क्षेत्र नं.१, भोजपुर निर्वाचन क्षेत्र नं.१, धनकुटा निर्वाचन क्षेत्र नं.१, मोरङ निर्वाचन क्षेत्र नं.४ र ६, सुनसरी निर्वाचन क्षेत्र नं.४ र खोटाङ निर्वाचन क्षेत्र नं.१ मा एकजना पनि महिला उम्मेदवार रहेका छैनन् ।

यस्तै एकजना पनि महिलाको उम्मेदवारी नपरेका अन्य निर्वाचन क्षेत्रमा सप्तरी निर्वाचन क्षेत्र नं.३, धनुषा निर्वाचन क्षेत्र नं.१, २ र ४, महोत्तरी निर्वाचन क्षेत्र नं.२ र ४, रौतहट निर्वाचन क्षेत्र नं.२ र ३, बारा निर्वाचन क्षेत्र नं.१, २ र ४ र पर्सा निर्वाचन क्षेत्र नं.१, २, ३ र ४ रहेका छन् ।

दोलखा निर्वाचन क्षेत्र नं.१, धादिङ निर्वाचन क्षेत्र नं.१, काभ्रेपलाञ्चोक क्षेत्र नं.१६, मकवानपुर निर्वाचन क्षेत्र नं.२, गोरखा निर्वाचन क्षेत्र नं.२, मनाङ क्षेत्र नं.१, लम्जुङ निर्वाचन क्षेत्र नं.१, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) निर्वाचन क्षेत्र नं.२, मुस्ताङ निर्वाचन क्षेत्र नं.१, बागलुङ निर्वाचन क्षेत्र नं.१, पाल्पा निर्वाचन क्षेत्र नं.१, रुपन्देही निर्वाचन क्षेत्र नं.४, रुकुम पूर्व निर्वाचन क्षेत्र नं.१, बाँके निर्वाचन क्षेत्र नं.३, बर्दिया निर्वाचन क्षेत्र नं.१ र २ पनि महिलाको उम्मेदावरी परेको छैन ।

महिलाको उम्मेदवारी नपरेको अन्य निर्वाचन क्षेत्रमा सल्यान निर्वाचन क्षेत्र नं.१, डोल्पा निर्वाचन क्षेत्र नं.१, मुगु निर्वाचन क्षेत्र नं.१, कालिकोट निर्वाचन क्षेत्र नं.१, हुम्ला निर्वाचन क्षेत्र नं.१, जाजरकोट निर्वाचन क्षेत्र नं.१, दैलेख निर्वाचन क्षेत्र नं.२, सुर्खेत निर्वाचन क्षेत्र नं.१, रुकुम पश्चिम निर्वाचन क्षेत्र नं.१, बाजुरा निर्वाचन क्षेत्र नं.१, अछाम निर्वाचन क्षेत्र नं.१ र २, बझाङ निर्वाचन क्षेत्र नं.१, कैलाली निर्वाचन क्षेत्र नं.२ र ४, दार्चुला निर्वाचन क्षेत्र नं.१, बैतडी निर्वाचन क्षेत्र नं.१, डडेलधुरा निर्वाचन क्षेत्र नं.१ र कञ्चनपुर निर्वाचन क्षेत्र नं.२ रहेका छन् ।

रौतहट ३ का माओवादी उम्मेदवार पटेलले भन्छन् प्रभु साहलाई समर्थन गर्न सकिन्न

रौतहट । सत्तारूढ गठबन्धनबाट माओवादी केन्द्रको रौतहट ३ नम्बर क्षेत्रका उम्मेदवार धिरज पटेलले आफ्नो उम्मेदवारी कायम र हल्लाको पछि नलाग्न आग्रह गरेका छन् । उनले आफ्नो क्षेत्रमा एमालेबाट बाहिरिएर स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहलाई माओवादीले समर्थन गर्ने कुरामा कुनै सत्यता नरहेको दाबी गरेका छन् ।

पटेलले आफू लामो समयदेखि माओवादीमा रहेर काम गरिरहेको र सोही आधारमा पार्टीले उम्मेदवार बनाएको भन्दै आफू नै आधिकारिक उम्मेदवार रहेको दाबी गरेका छन् । उनले केन्द्रीय पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै पछि हट्नु भने पनि आफ्नो प्रतिस्पर्धी प्रभु साहलाई कुनै हालतमा समर्थन नगर्ने र आफ्नो चुनावी अभियान अघि बढ्ने स्पष्ट पारेका छन । उनले भने, ‘बरु मलाई गोली हानेर मारे पनि म उम्मेदवारी फिर्ता लिनेवाला छैन । र, प्रभु साहलाइ समर्थन गर्नेवाला छैन ।’

उनले जो मान्छे आफ्नो पार्टीको भएन । एमालेको भएन । त्यो मान्छे जनताको हुन नसक्ने बताए । पटेलले भने, ‘प्रभु साहजी त हरियो घाँसभित्र हरियो सर्प जस्तो बसेर लुक्नु भा’थो । उहाँले धेरैलाई डस्नु भयाे । कुनैबेला प्रचण्डलाई डस्नु भो, माधव नेपाललाई पनि डस्नु भो । अहिले आएर केपीजीलाई पनि डस्नु भो । यदि उहाँसित अब हामी सचेत भएनौं भने रौतहटका जनता सचेत भएनन् भने अब जनतालाई नै डस्नेवाला छ ।’

उनले आफ्नो क्षेत्रमा सत्ता गठबन्धन एकढिक्का रहेको उल्लेख गर्दै विभिन्न दलको सहारामा पटकपटक प्रतिनिधि बनिसकेका र भ्रष्टाचारको आरोप लागेका साहलगायतहरू पराजित हुने दाबी गरे । उनले भने, ‘अब प्रभु साहजी त हारिसक्नु भा’को छ नि ! उहाँ पराजित भएर पो हाम्रै पार्टीका केही नेताको घर घरमा धाइरहनु भा’छ । षड्यन्त्र गर्दै हुनुहुन्छ । उहाँलाई संसदमा जानु छ, पुग्ने कसरी हो ? कसको दलाली गर्ने ? कसको चाकडी गर्ने ? कुन शक्तिको भरोसामा आडमा सत्तामा जाने भन्ने उहाँको डिजाइन हो । रौतहट ३ का जनता १५/२० वर्षदेखि प्रभु साहको सबै कर्तुत, कुकर्म, क्रियाकलापको बारेमा जानकार छन् ।’

नेपालले पाकिस्तानसँग मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले पाकिस्तानसँग मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको छ ।  पाकिस्तान फुटबल संघले बिहीबार राति सामाजिक सञ्जालमा पोस्ट गर्दै नेपालसँग मध्य नोभेम्बरबीचमा मैत्रीपूर्ण खेल खेल्ने तय भएको जानकारी दिएको हो ।

२०१८ मा बंगलादेशको ढाकामा भएको साफ च्याम्पियनसिपपछि पाकिस्तानले कुनै अन्तराष्ट्रिय खेल खेलेको छैन । फिफाको प्रतिबन्धमा परेको पाकिस्तानले प्रतिबन्ध फुकुवा भएपछि पहिलो खेल खेल्न लागेको हो ।

पाकिस्तानी महिला टिमले भने गत भदौमा नेपालमै भएको साफ च्याम्पियनसिप खेलिसकेको छ । प्रतिबन्ध फुकुवा भएपछि पाकिस्तान पुरुष टोलीले ६ हप्ताअघि खुला प्रतिस्पर्धाबाट खेलाडी छनोट गरेर बन्द प्रशिक्षण गरिरहेको छ । नेपालले भने असोज ११ गते बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलेको थियो । दशरथ रंगशालामा अन्जन विष्टले ह्याट्रिक गर्दा नेपाल३–१ ले विजयी भएको थियो ।

फोर्ब्सको साइबर सेक्युरिटी प्रोगाममा विद्यार्थीको आकर्षण, प्रहरीले पनि लिन्छन् तालिम

चितवन । इन्टरनेट सेवा विस्तार हुँदै जाँदा सामाजिक सञ्जाल प्रयोगकर्ता पनि बढेका छन् । कतिपयले भने सामाजिक सञ्जालको गलत प्रयोग गर्ने गरेका छन् । सामाजिक सञ्जालकाे सही प्रयोग गर्न नजान्दा साइबर क्राइमका घटना बढ्दै गएका छन् । साइबर सेक्युरिटीसम्बन्धी पढाइ भने कमै मात्र हुने गरेको छ ।

काठमाडौँ उपत्यका बाहिर फोर्ब्स कलेजले चितवनमा स्नातक तहमा साइबर सेक्युरिटीसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ । कलेजले विद्यार्थीलाई मात्र पढाउँदैन प्रहरीलाई समेत बेलाबेलामा साइबर सेक्युरिटीसम्बन्धी तालिम दिँदै आएको छ । पछिल्लो समय साइबर क्राइमका घटना बढ्दै जाँदा प्रहरीलाई नै टाउको दुखाईको विषय बनेको छ ।

भरतपुर महानगरपालिका-२ क्षेत्रपुरमा २०७४ सालमा स्थापना भएको फोर्ब्स कलेजको मुख्य उद्देश्य विशुद्ध प्राविधिक शिक्षा प्रदान गर्ने हो । यसले स्नातक तहमा ‘बिएचएम प्रोग्राम’ पनि सञ्चालन गर्दै आएको छ । उपत्यका बाहिर फोर्ब्सले मात्र साइबर सेक्युरिटीको कार्यक्रम सञ्चालन गर्दै आएकाे प्रिन्सिपल हरिशरण पाठकको दाबी छ ।

कलेजले व्यवहारमा आधारित कार्यक्रम सञ्चालन गर्नुकासाथै अतिरिक्त कोर्स पनि गराइरहेको उनले बताए । यहाँ तीन सयभन्दा बढी विद्यार्थीले अध्ययन गरिरहेका छन् । इन्टर्नमा गएका विद्यार्थीलाई पनि राम्रो प्रतिक्रिया मिलिरहेको र विभिन्न स्थानमा जागिरको अवसर पनि मिलेको उनी बताउँछन् ।

‘यही कोर्ष पढ्न विदेश जान नपर्ने अवस्था छ । नेपालको युनिभर्सिटीले नपढाएको शिक्षा हामीले प्रदान गरिरहेका छौँ’, उनी भन्छन्, ‘विदेश जाने विद्यार्थीलाई नेपालमै रोक्नमा कलेजले महत्वपूर्ण भूमिका खेलेको हाम्रो विश्वास छ।’ सुरुवाती चरणमा साइबर सेक्युरिटीको पढाइ कस्तो होला भन्नेमा विद्यार्थीमा अन्याेलता थियो । पछिल्ला वर्ष भने विद्यार्थी आफैले कलेज खोजेर पढ्न आउन थालेको उनी बताउँछन् ।

‘प्रत्येक वर्ष विद्यार्थीको संख्या बढ्दै गइरहेको छ । पहिलो व्याचमा भन्दा अन्तिम व्याचमा विद्यार्थी धेरै छन्’, उनले भने । ‘आइटी’का विद्यार्थीहरु बैंक, प्रहरी कार्यालय, डाटा सेन्टर, नेटवर्क आवश्यक पर्ने कम्पनीहरू, नेपाल सरकारका विभिन्न कार्यालयमा सेक्युरिटी अडिट गर्न र इथिकल ह्याकिङको क्षेत्रका जान सक्छन् ।

नेपालमा पछिल्लो समय ह्याकिङको घटना पनि बढिरहेको छ । त्यसलाई कसरी रोक्न सकिन्छ भनेर जान्न पनि यस क्षेत्रको महत्व बढिरहेको उनी बताउँछन् । ‘काठमाडौँको तुलनामा यहाँ सस्तोमा पनि पढाइ भइरहेको छ । एउटा प्रोग्राम सात लाख ७५ हजार तिरेर विद्यार्थीले पढ्न पाउँछन्’, उनले भने ।

कलेजले प्रत्येक वर्ष जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर प्रहरीहरूलाई पनि साइबर सेक्युरिटीको तालिम दिने गरेको उनले बताए । सर्वसाधारणमा साइबर क्राइमसम्बन्धी जुनसुकै समस्या भएमा कलेजमा सम्पर्क गर्न सकिने उनको भनाइ छ । कलेजले शिक्षा मन्त्रालयबाट स्वीकृत लिएर पोल्यान्डस्थित युनिभर्सिटी अफ कम्प्युटर साइन्स एन्ड स्किल्सबाट सम्बन्धन पाएको छ ।

कलेजको ब्याचलर इन होटल म्यानेजमेन्ट (बिएचएम) कार्यक्रममा पनि विद्यार्थीको आकर्षण रहेको उनी बताउँछन् । बिएचएमका विद्यार्थीलाई इन्टर्नका लागि होटलमा पठाउने, आन्तरिक प्रतिस्पर्धा गराउने र प्रस्तुति दिन लगाउने गरिएको उनले बताए । पढ्दै गर्दा पनि फिल्डमा गएर काम गरेको जस्तो अनुभव विद्यार्थीमा जागृत गराउन खोजिएको उनको भनाइ छ ।

‘बिएचमा पढेका विद्यार्थीहरु विशेषत होटलमा बढी केन्द्रित हुन्छन्, सर्भिस सिस्टम हुने ठाउँ होटलदेखि एयरलायन्ससम्म, टुर एन्ड टुरिजमदेखि गेस्ट वेलकम गर्ने जुनसुकै क्षेत्रमा विद्यार्थी जान सक्छन्’, उनले भने । उनका अनुसार पूर्वदेखि पश्चिमसम्मका विद्यार्थी पढ्न भनेर यहाँ आउने गरेका छन् । कलेजमा चितवन र नवलपुरका विद्यार्थी धेरै छन् । यहाँ ३० भन्दा बढी प्राध्यापकहरूले पढाउने गरेको उनले बताए ।

प्रतिनिधि सभा निर्वाचनः यी १० वटा निर्वाचन क्षेत्रमा दिए सबैभन्दा कमले उम्मेदवारी 

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सबैभन्दा थोरै संख्यामा उम्मेदवारी परेका १० निर्वाचन क्षेत्रमध्ये पाँच वटा कर्णाली प्रदेशका रहेका छन् ।

निर्वाचन आयोगका अनुसार सबैभन्दा कम संख्यामा उम्मेदवारी परेका १० निर्वाचन क्षेत्रमा हुम्लाको निर्वाचन क्षेत्र नं.१, मनाङको निर्वाचन क्षेन नं.१, मुस्ताङको निर्वाचन क्षेत्र नं.१, अछामको निर्वाचन क्षेत्र नं.२, बाजुराको निर्वाचन क्षेत्र नं.१, दैलेखको निर्वाचन क्षेत्र नं.२, जुम्लाको निर्वाचन क्षेत्र नंं.१, मुगुको निर्वाचन क्षेत्र नं.१, डोल्पाको निर्वाचन क्षेत्र नं.१ र रोल्पाको निर्वाचन क्षेत्र नं.१ रहेका छन् ।

सबैभन्दा कम उम्मेदवारी परेको १० वटा निर्वाचन क्षेत्रमध्ये रोल्पाको निर्वाचन क्षेत्र नं.१ र जुम्लाको निर्वाचन क्षेत्र नंं.१ वाहेक अन्यमा एक जना पनि महिलाको उम्मेदवारी परेको छैन ।

आगामी प्रतिनिधि सभा निर्वाचनमा सबैभन्दा कम संख्याले उम्मेदवारी हुम्लाको निर्वाचान क्षेत्र नं.१ र मनाङको निर्वाचन क्षेत्र नं.१ मा दिएका छन् । यी दुवै क्षेत्रमा तीन–तीन जनाको मात्र उम्मेदवारी परेको छ ।

दोस्रो कम संख्यामा उम्मेदवारी मुस्ताङ्को निर्वाचन क्षेत्र नं.१ मा परेको छ । यो क्षेत्रमा ४ जनाले उम्मेदवारी दिएका छन् ।

तेस्रो कम संख्यामा उम्मेदवारी अछामको निर्वाचन क्षेत्र नं.२, बाजुराको निर्वाचन क्षेत्र नं.१, दैलेखको निर्वाचन क्षेत्र नं.२, जुम्लाको निर्वाचन क्षेत्र नंं.१, मुगुको निर्वाचन क्षेत्र नं.१, डोल्पाको निर्वाचन क्षेत्र नं.१ र रोल्पाको निर्वाचन क्षेत्र नं.१ मा परेको छ । यी सात वटै निर्वाचन क्षेत्रमा पाँच–पाँच जनाले उम्मेदवारी दिएका छन् ।

दुई महिनामै बिग्रियो जिल्ला अस्पताल खोटाङको अक्सिजन प्लान्टको उपकरण

खोटाङ । उपकरण बिग्रँदा जिल्ला अस्पताल खोटाङको अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन बन्द भएको छ । अक्सिजन प्लान्टको थ्री फेज स्टेप्लाइजरको पिसी बोर्ड बिग्रदा करोडको लगानी भएको अक्सिजन प्लान्टले काम गर्न छाडेको हो ।

थ्री फेज स्टेप्लाइजरको पिसी बोर्ड बिग्रँदा झन्डै २० दिनदेखि अक्सिजन उत्पादनको काम बन्द भएको छ । उद्घाटन गरिएको दुई महिनामै अक्सिजन प्लान्टको उपकरण बिग्रिएको हो । मुन रक्स इन्टरनेसनल प्रालिले जडानको जिम्मा लिएको अक्सिजन प्लान्ट गत २३ साउनमा उद्घाटन गरिएको थियो । मुन रक्स इन्टरनेसनल प्रालिले उपकरण पठाएपछि अक्सिजन प्लान्ट सुचारु हुने जिल्ला अस्पतालका डा. नितु लामाले बताइन् ।

प्रदेश सरकारको एक करोड ११ लाखमा जडान गरिएको अक्सिजन प्लान्टले काम नगर्दा अक्सिजन सिलिण्डर भर्न विराटनगर पुग्नुपर्ने बाध्यता छ । अक्सिजन उत्पादन बन्द हुँदा सिकिस्त अवस्थाका बिरामीलाई अक्सिजन दिँदै अन्यत्र लैजानमा असहज भएको छ । प्लान्ट जडानसँगै जिल्ला अक्सिजनमा आत्मनिर्भर बनेको भनिएको थियो ।

अक्सिजन प्लान्ट जडानका लागि नौ फर्मको आवेदन परेकामा घटाघटमा मुन रक्स इन्टरनेसनल प्रालिले ठेक्का पारेको थियो । तर अक्सिजन प्लान्टको संरचना कमसल बनेको भन्दै सर्वत्र विरोध भएको थियो । निर्माण कम्पनीले कमसल संरचना सुधार गरेपछि अक्सिजन प्लान्ट उद्घाटन गरिएको थियो ।

अक्सिजन प्लान्टको ट्रस अस्पतालकै एउटा भवनसँग अडेसा लगाएर (टाँसेर) बनाइएको, सिंगल इँटाको पर्खाल धकेल्दा ढल्ने खालको बनाइएको, ट्रसमाथि कागजजस्तो पातलो जस्ताको छाना हालिएको, मान्छे छिर्नसक्ने ठाउँ राखिएको, पर्खालभन्दामाथि र छानामुनिको ‘स्पेस’मा कुखुराको खोरलाई बारेजस्तो पातलो तारजालीले बारेको, जालीलाई प्लाष्टिकको डोरीले बाँधेको पाइएपछि १० लाख भुक्तानी रोकिएको थियो ।

अक्सिजन प्लान्टको जस्ता र जाली फेर्ने, वाल प्लास्टर गर्ने काम गरेपछि मात्र बाँकी रकम भुक्तानी दिइएको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिले जनाएको छ । अक्सिजन प्लान्टको ट्रस कमसल बनाइएको भन्दै गुनासो आएपछि गत २४ असारमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई नेतृत्वको टोलीले निरीक्षण गरेको थियो ।

अक्सिजन भर्न अन्यत्र जानुपर्ने बाध्यता अन्त्यका लागि जडान गरिएको अक्सिजन प्लान्टबाट दैनिक २० देखि २५ सिलिण्डर अक्सिजन उत्पादन हुँदै आएको छ । हाल जिल्ला अस्पतालको ५० शैयाको भवन निर्माणाधीन अवस्थामा छ । ५० शैयाको अस्पताल तयार भएपछि पाइपलाइनमार्फत सिधै बिरामीको बेडमा अक्सिजन पुर्‍याउने गरी व्यवस्थापन हुने अस्पतालले जनाएको छ ।

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। सून प्रतितोला एक सय रुपैयाँ र चाँदी प्रतितोला पाँच रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ९४ हजार एक सय र तेजावी सुन प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन तोला ९४ हजार २००  रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य भने  प्रतितोला एक हजार १८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिनिधि सभा निर्वाचनः यी हुन् सबैभन्दा बढीले उम्मेदवारी दिएका १० वटा निर्वाचन क्षेत्र 

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिनेको अन्तिम सूचि प्रकाशित गरिसकेको छ । आयोगका अनुसार आगामी प्रतिनिधि सभा निर्वाचनमा सबैभन्दा ठूलो संख्यामा उम्मेदवारी काठमाडौंको निर्वाचन क्षेत्र नं.१ मा परेको छ । यो क्षेत्रमा २२ जना पुरुष र १० जना महिला गरी कुल ३२ जनाले उम्मेदवारी दिएका छन् ।

दोस्रो ठूलो संख्यामा उम्मेदवारी मोरङ निर्वाचन क्षेत्र नं.३, धनुषा निर्वाचन क्षेत्र नं.३ र काठमाडौं निर्वाचन क्षेत्र नं.४ मा परेको छ । यी तीनवटै क्षेत्रमा ३१–३१ जनाले उम्मेदवारी दिएका छन् ।
मोरङ निर्वाचन क्षेत्र नं.३ मा २७ जना पुरुष र ४ जना महिला, धनुषा क्षेत्र नं.३ मा २५ जना पुरुष र ६ जना महिला र काठमाडौं क्षेत्र नं. ४ मा २९ जना पुरुष र २ जना महिलाको उम्मेदवारी परेको छ ।

तेस्रो ठूलो संख्यामा उम्मेदवारी काठमाडौं प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ मा रहेको छ । यो क्षेत्रमा २५ जना पुरुष र ५ जना महिला गरी कुल ३० जनाको उम्मेदवारी परेको छ ।

चौंथो ठूलो संख्यामा उम्मेदवारी धनुषा निर्वाचन क्षेत्र नं.४, काठमाडौं निर्वाचन क्षेत्र नं.५ र काठमाडौं निर्वाचन क्षेत्र नं.७ मा परेको छ । यी तीनवटै निर्वाचन क्षेत्रमा २९–२९ जनाले उम्मेदवारी दिएका छन् ।

आयोगका अनुसार धनुषा निर्वाचन क्षेत्र नं.४ मा उम्मेदवारी दिने २९ जनाममा एक जना पनि महिला रहेका छैनन् । उम्मेदवारी दिनेहरुमा काठमाडौं निर्वाचन क्षेत्र नं.५ मा २५ जना पुरुष र ४ जना महिला र काठमाडौं निर्वाचन क्षेत्र नंं७ मा २४ जना पुरुष र ५ जना महिला छन् ।

पाँचौ ठूलो संख्यामा उम्मेदवारी सुनसरी निर्वाचन क्षेत्र नं.२ मा परेको छ । यो क्षेत्रमा २५ जना पुरुष र २ जना महिला गरी २७ जनाले उम्मेदवारी दिएका छन् ।

छैठौं ठूलो संख्यामा उम्मेदवारी भक्तपुरको निर्वाचन क्षेत्र नं.२ मा परेको छ । यो क्षेत्रमा २० जना पुरुष र ६ जना महिला गरी कुल २६ जनाले उम्मेदवारी दिएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसा सबैभन्दा ठूलो संख्यामा उम्मेदवारी पर्ने १० निर्वाचन क्षेत्रमा काठमाडौंको निर्वाचन क्षेत्र नं.१, मोरङ निर्वाचन क्षेत्र नं.३, धनुषा निर्वाचन क्षेत्र नं.३, काठमाडौं निर्वाचन क्षेत्र नं.४, काठमाडौं निर्वाचन क्षेत्र नं.२, धनुषा निर्वाचन क्षेत्र नं.४, काठमाडौं निर्वाचन क्षेत्र नं.५, काठमाडौं निर्वाचन क्षेत्र नं.७, सुनसरी निर्वाचन क्षेत्र नं.२ र भक्तपुरको निर्वाचन क्षेत्र नं.२ रहेका छन् ।

नवौं खेलकुदको उद्घाटन आज, यस्तो छ तयारी

पोखरा । नवौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन आज हुँदै छ । प्रतियोगिताको लागि पोखरा रंगशालामा विशेष तयारी गरिएको छ । रंगशाला श्रृंगार्ने काम सकिएको छ भने आतिसबाजीको तयारी पनि भैरहेको छ । पूर्वसन्ध्यामा बिहीबार साँझ पनि आतिसबाजी गरिएको थियो । उपराष्ट्रपति नन्दबहादुर पुनले आज औपचारिक उद्घाटन गर्ने छन् ।

केही प्रतियोगिता भने यसअघि नै सुरु भैसकेको छ । महिला क्रिकेट, ह्यान्डबल तथा फेन्सिङ प्रतियोगिता करिव सकिएको छ । हक्की बिहीबारदेखि सुरु भएको छ । गोरखामा बुद्धीचाल, म्याग्दीमा भलिवल सुरु भएको छ भने वालिङमा महिला फुटवल सुरु भएको छ ।

पुरुष क्रिकेट प्रतियोगिता एक महिनाअगाडि नै काठमाडौंमा भइसकेको छ । गण्डकीमा ४० वर्षपछि राष्ट्रिय खेलकुद प्रतियोगिता हुन लागेको हो । २०४० सालमा दोस्रो राष्ट्रिय खेलकुद पोखरामा भएको थियो ।

सुनकोशी–मरिन डाईभर्सन स्थलमा उर्जामन्त्री, स्विच अन गरी सुरुङ खन्ने कार्य सुरु

सिन्धुली । सिन्धुलीमा निर्माणाधीन सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको टनेल खन्ने कार्य आजबाट सुरु हुने भए पछि त्यसको निरिक्षणमा उर्जा मन्त्री पम्फा भुषाल सिन्धुली पुगेकी छिन । मन्त्री भुषालले स्विच अन गरी सुनकोशी–मरिन डाइभर्सनको सुरुङ खन्ने कार्यको उदघाटनसमेत गरेकी छिन ।

सुनकोशी–मरिन डाइभर्सन परियोजनाले अटोमेटिक टनेल बोरिङ मेसिन (टीबीएम) प्रबिधि प्रयोग गरी सुरुङ आजवाट खन्न लागिएको हो । भेरी–बबई डाईभर्सनको सुरुङ पनि यही प्रविधिवाट खनिएको हो । मरिन खोलवाट टनेल खन्न सुरु गरेको ठेकदार कम्पनी चाइना ओभरसिज कक्स्ट्रक्सन कम्पनी लिमिटेडले २४ महिनाभित्रै सुरुङ खनिसक्ने गरी आजवाट टनेलका लागि तालिका बनाएको छ ।

मरिन डाइभर्सन आयोजनाबाट तराई मधेसका धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराका  करिब १ लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरी सिंचाइ सुविधा पुग्ने र तथा ३१–७ मेगावाट बिजुली पनि उत्पादन हुनेछन । सुनकोशी नदिको पानी तराई मधेसका जिल्लामा सो पानी सिंचाई गरिनेछ  । सो आयोजनाको उदघाटन तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।

सुनकोशी–मरिन डाईभर्सनको सुरुङ आजवाट खनिने, २४ महिनामा सकिने

काठमाडौं । सिन्धुलीमा निर्माणाधीन सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको टनेल खन्ने कार्य आजबाट सुरु हुँदैछ । सुनकोशी–मरिन डाइभर्सन परियोजनाले अटोमेटिक टनेल बोरिङ मेसिन (टीबीएम) प्रबिधि प्रयोग गरी सुरुङ खन्न लागिएको हो । भेरी–बबई डाईभर्सनको सुरुङ पनि यही प्रविधिवाट खनिएको हो । मरिन खोलवाट टनेल खन्न सुरु गरिदैँछ । ठेकदार कम्पनी चाइना ओभरसिज कक्स्ट्रक्सन कम्पनी लिमिटेडले २४ महिनाभित्रै सुरुङ खनिसक्ने गरी आजवाट टनेलका लागि तालिका बनाएको छ ।

मरिन डाइभर्सन आयोजनाबाट तराई मधेसका धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराका  करिब १ लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरी सिंचाइ सुविधा पुग्ने र तथा ३१–७ मेगावाट बिजुली पनि उत्पादन हुनेछन । सुनकोशी नदिको पानी तराई मधेसका जिल्लामा सो पानी सिंचाई गरिनेछ  । सो आयोजनाको उदघाटन तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।