जुम्ला सडकखण्डकाे पहिरो पन्छाउँदै सुरक्षा निकाय र स्थानीय सरकार  | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

जुम्ला सडकखण्डकाे पहिरो पन्छाउँदै सुरक्षा निकाय र स्थानीय सरकार 

जुम्ला । अविरल वर्षाका कारण जुम्लाकाे जनजीवन प्रभावित बनेकाे छ । जुम्ला सडक खण्डमा ठाउँठाउँमा ठूलो पहिरो गएको छ । बाढी पहिरोले जुम्ला-कालिकोट खण्डको कर्णाली राजमार्ग पूर्णरूपमा अवरुद्ध हुँदा एक सातादेखि यहाँको आवागमन  बन्द छ । कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्थानीयकाे दैनिकी कष्टकर बनेको छ ।

नन्दबक्स गणका गणपति रविन थापाका अनुसार जुम्लाको तिला गाउँपालिका रारालिहीमा तीन किलोमिटर खण्डमा पहिरो गएको छ । जसकारण राजमार्ग अवरुद्ध भएको छ । सो क्षेत्रमा सडक डिभिजन कार्यालय, स्थानीय प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको निगरानीमा राजमार्ग खुलाउने काम भइरहेको छ । त्यो क्षेत्रमा सशस्त्र प्रहरीका एसपी चित्रंगत दाहाल, जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख नरेन्द्र चन्दसहितका सुरक्षा निकाय प्रमुख खटिएका छन् ।

कर्णाली राजमार्गको रारालिहीमा तीनवटा स्काभेटर लगातार काम गरिरहेका छन् । ब्रेकरले समेत काम गरे पनि ठूलो ढुंगा खसेकाले ब्लाष्टिङ गर्नुपर्ने अवस्था आएको नन्दबक्सका गणपति थापाले बताए । सेनासहित सुरक्षा निकाय प्रमुखहरू राजमार्गमा खटिएका छन् ।

नाग्म-गमगडी राजमार्गको ८ देखि १० स्थानमा पहिरो गएर सडक अवरुद्ध भएको छ । हिमा गाउँपालिका नाग्म गमगडी राजमार्गको भूगोलपाटा, बाजागाडा, बड्की, देवारगाउँ, आचार्यलिहीमा पहिरो गएको छ । त्यस क्षेत्रमा स्थानीय तहको सक्रियतामा सडक सुचारु गरिएको छ ।

सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले सिंजामा सडक सुचारु गर्न स्काभेटरले काम भइरहेको बताए । उनका अनुसार हिमा क्षेत्रमा बढी पहिरो गएको छ ।

कनकासुन्दरी गाउँपालिका अध्यक्ष दामोदर आचार्यका अनुसार कनकासुन्दरी क्षेत्रको राजमार्गमा स्थानीय तहले स्काभेटर लगाएर काम अघि बढाएका छन् ।

हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले हिमा गाउँपालिकामा क्षेत्रमा पहिरो पञ्छाउने काम भइरहेको बताए  । उनका अनुसार केही स्थानमा बाटोको निसाना नै नभएकाले नयाँ बाटो खोल्ने काम भइरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);