काठमाडौं, ३२ जेठ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यका भित्रिने र बाहिर जाने यात्रुलाई नयाँ व्यवस्था लागू गरेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले जेठ २८ मा बसेको मन्त्रिपरिषद्को निर्णय र ३० गतेको गृहको निर्देशनअनुसार व्यक्तिगत प्रयोजनका लागि प्रयोजन खुल्ने कागजसहितको निवेदन, सरकारी वा संस्थागत कामका लागि सम्बन्धित संस्थाको सिफारिस सहितको निवेदन जिप्रका काठमाडौंमा पेश गर्नुपर्ने छ।
त्यस्तै, काठमाडौं प्रवेशका लागि काठमाडौंको जुन नगरपालिकामा बस्ने हो सोही नगरपालिकाले प्रवेशको लागि दिएको अनुमतिपत्रसहित यात्रा सुरु गर्ने जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ। निवेदन दिएपछि सो जिल्ला प्रशासनले संक्रमण जोखिम विश्लेषण,यात्राको औचित्य पुष्टि हुने कागजातसहित भएमा पास जारी गर्न सहमति प्रदान गर्ने छ ।
त्यस्तै काठमाडौं जिल्लाभित्र जोरविजोर प्रणाली लागू भएकाले जिल्ला भित्रकै लागि भने सवारी पास दिन बन्द गरिएको जनाएको छ ।





