सरकारले सार्वजनिक गर्‍यो होटल क्वारेन्टीनको सूची, यस्तो छ दररेट | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सरकारले सार्वजनिक गर्‍यो होटल क्वारेन्टीनको सूची, यस्तो छ दररेट

पाँचतारे होटलमा एक्लै बस्दा ९ हजार रुपैयाँ र दुईजना बस्दा ६ हजार रुपैयाँ

काठमाडौं, ६ भदौ । सरकारले चार्टर्ड उडान मार्फत स्वदेश आउने नागरिकलाई होटल क्वारेन्टीनमा बस्नैपर्ने व्यवस्थाका लागि होटलको सूची र दररेट सार्वजनिक गरेको छ । काठमाडौं जिल्ला सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) ले विमानस्थल हुँदै नेपाल प्रवेश गर्ने नागरिकलाई स्वेच्छाले होटल क्वारेन्टीनमा राख्ने निर्णय गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले होटलहरुको सूची तयार गरी सार्वजनिक गरेको छ ।

कोभिड-१९ को विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश, २०७७ बमोजिम विमानस्थल हुुँदै नेपाल प्रवेश गर्ने र स्वेच्छाले होटल क्वारेन्टीनमा बस्ने व्यक्तिहरुलाई राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले होटलहरुको सूची सार्वजनिक गरेको हो ।

पर्यटन विभागले उपलब्ध गराएको होटलको नाम र दररेटका आधारमा सूची तयार पारिएको जिल्ला प्रशासन कार्यालयले बताएको छ । सार्वजनिक भएको सूचीमा उपत्यका भित्र रहेका तारे होटल, पर्यटन होटल र साना तथा मझौला होटल गरी २ सय २० होटलमा कुल ३ हजार ५ सय बेड क्षमता रहेको छ ।

यस्तो छ होटलमा बस्दा लाग्ने दररेट

होटलको सूची सँगै होटलहरुमा बस्दा लाग्ने दररेट र खानाको मेनु समेत समावेस गरिएको छ । जसमध्ये पाँचतारे होटलमा एक्लै बस्दा ९ हजार रुपैयाँ र दुईजना साझेदारीमा बस्दा प्रतिव्यक्ति ६ हजार रुपैयाँ तोकिएको छ । चार तारे होटलका लागि एकजना बस्दा ८ हजार रुपैयाँ र दुईजना साझेदारीमा बस्दा ५ हजार ५ सय रुपैयाँ तोकिएको छ । तीनतारे तथा डिलक्स रिसोर्टमा एकजना बस्दा ६ हजार रुपैयाँ र दुईजना साझेदारीमा बस्दा प्रतिव्यक्ति ३ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

दुई तारे होटल तथा स्टाण्डर्ड होटलका लागि एकल ५ हजार रुपैयाँ र दुई जना साझेदारीमा बस्दा प्रतिव्यक्ति ३ हजार ५ सय रुपैयाँ तोकिएको छ । एक तारे होटलमा एकल बस्दा ४ हजार रुपैयाँ र दुई जना साझेदारीमा बस्दा प्रतिव्यक्ति २ हजार ५ सय रुपैयाँ तोकिएको छ । पर्यटक स्तरको होटलमा एकजनाका लागि २ हजार ८ सय रुपैयाँ र दुई जना साझेदारीमा बस्ने भएमा प्रति व्यक्ति १ हजार ८ सय रुपैयाँ तोकिएको छ । यस्तै साना तथा मझौला होटलको दररेट पनि तोकिएको छ । साना तथा मझौला होटलमा एकल रुमका लागि १ हजार ८ सय रुपैयाँ र दुई जना साझेदारीमा बस्दा प्रतिव्यक्ति १ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

सबै होटलमा खाना र खाजा गरी दिनको चारपटक खान दिइने मेनु सार्वजनिक भएको छ । जसमा बिहानको खाजा, खाना, दिउसोको खाजा र साँझको खाना उपलब्ध हुने छ । स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्न सक्ने क्षमता भएका होटलहरुलाई क्वारेन्टीनको रुपमा प्रयोग गर्न सूचीकृत गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले बताएको छ ।

आएसोलेटेड क्षेत्रमा भएका, कम्पाउण्ड भएका, बाहिरी व्यक्तिसँग घुलमिल हुन नसक्ने, भौतिक दूरी कायम गर्न सक्ने होटलहरु सूचीकरणमा परेका छन् । ठमेल, ताहचल, गौशला, बत्तिसपुतली, दरबारमार्ग, सानो गौचरन, नक्साल, भक्तपुर, लाजिम्पाट, गोदावारी, कमलादी, स्वयम्भू, झम्सीखेल, बूढानिलकण्ठ, लैनचौर, कमलपोखरी र बागबजार क्षेत्रमा रहेका होटलहरुलाई क्वारेन्टीनका रुपमा प्रयोग गर्न लागिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);