बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्डको सहज जित | ईमाउण्टेन समाचार

Our Network

फागुन ८ २०८२, शनिबार

बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्डको सहज जित

एजेन्सी, १९ जेठ । कोरोनाको महामारीबीच जारी जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्डले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा उपाधि दाबेदार मानिएको डर्टमण्डले पुछारको पार्डाबोनलाई ६–१ गोल अन्तरले पराजित गरेको हो ।

डर्टमण्डको जितमा जाडोन सान्चोले ह्याट्रिक गरे । यस्तै थोर्गन हाजार्ड, अच्राफ हाकिमी र मार्सेल स्मेल्जर एक एक गोल गरे । पार्डाबोनका उवे हुएनेमिरले एक गोल फर्काए । मुख्य स्ट्राइकर अर्लिङ हालाण्डबिना मैदान उत्रिएको डर्टमण्डले सबै गोल दोस्रो हाफमा गरेको हो ।

तुलनात्मक कमजोर टिमविरुद्ध डर्टमण्डले ५४ औं मिनेटमा हाजार्डको गोलबाट अग्रता बनाएको थियो । ५७ औं मिनेटमा सान्चोले गोल गर्दै डर्टमण्डको अग्रता दोब्बर बनाए । ७२ औं मिनेटमा घरेलु टोलीका हुएनेमिरले पेनाल्टी गोल गर्दै खेल २–१ मा ल्याए ।

७४ औं मिनेटमा सान्चोले व्यक्तिगत दोस्रो गोल गर्दै डर्टमण्डलाई ३–१ को अग्रता दिलाए । त्यसपछि अन्तिम पाँच मिनेट भित्र डर्टमण्डले थप तीन गोल गर्यो । ८५ औं मिनेटमा हाकिमीले गोल गर्दै डर्टमण्डको अग्रता ४–१ को बनाए ।

८९ औं मिनेटमा स्मेल्जरले गोल गर्दा डर्टमण्डको अग्रता ५–१ को बन्यो । थप गरिएको इन्जुरी समयमा सान्चोले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गरेपछि डर्टमण्ड ६–१ ले विजयी भयो । जितपछि डर्टमण्डले बायर्नसँगको अंक दुरी ७ मा झारेको हो ।

डर्टमण्डको २९ खेलमा ६० अंक रहेको छ । बायर्नको ६७ अंक रहेको छ । पुछारमा रहेको पार्डाबोनको १९ अंक रहेको छ ।