काठमाडौ, १२ जेठ । काठमाडौं उपत्यका भित्र निर्माण गर्न लागिएको चार वटा नयाँ शहरको विस्तृत अध्ययन प्रतिवेदन तयार भएको छ । काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन अन्तर्गत गठन गरिएको काठमाडौं उपत्यका भौतिक विकास समितिले चारवटा नयाँ शहर निर्माणको विस्तृत अध्ययन प्रतिवेदन डिपिआर तयार भएको जनाएको हो ।
समितिको आइतबार बसेको १३ औं बैठकले दुई वटा नयाँ शहर काठमाडौं नैऋत्य र काठमाडौं हरित को डिपिआर स्वीकृत गरेको छ । बाँकी दुईवटा सहर काठमाडौं इसान र काठमाडौं आग्नेयको यही जेठ २५ गते बस्ने १४ औं बैठकले स्वीकृत गर्ने काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त भाइकाजी तिवारीले बताउनुभयो ।
काठमाडौं उपत्यका भित्र चार वटा आधुनिक नयाँ शहर निर्माण हुने भएपछि त्यस क्षेत्रको जग्गा कित्ताकाटमा प्राधिकरणले केही मापदण्ड तयार गरेको छ । न्यूनतम ८ आनाको कित्ताकाट गरी खरिद विक्री गर्न सकिने छ भने सो भन्दा कमको कित्ताकाट गर्न पाइने छैन् ।




