कैलाली, २३ चैत । सुदूरपश्चिम प्रदेश सरकारले लडाउनलाई थप कडाइका साथ लागू गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बसेको ‘कोरोना भाइरसको नियन्त्रण, व्यवस्थापन तथा समन्वय निर्देशक समितिको बैठकले लकडाउनलाई थप प्रभावकारी र व्यवस्थित बनाउन कडाइका साथ लागू गर्ने निर्णय गरेको हो ।
यसैगरी बैठकले लकडाउन अवधि थप गर्न संघीय सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ । यसैगरी भारतलगायत अन्य मुलुकबाट आएका तर क्वारेन्टाईनमा नबसेकालाई अनिवार्य रुपमा क्वारेन्टाइनमा बसाउन स्थानीय तह तथा सुरक्षा निकायको समन्वयमा व्यवस्थित गर्ने निर्णय समेत गरिएको छ ।
कोरानाको रोकथाम, नियन्त्रण, उपचार तथा व्यवस्थापनका लागि आवश्यक पर्ने औषधि, उपकरण, आवश्यक सामग्री तथा विज्ञ चिकित्सकसहित स्वास्थ्यकर्मीको व्यवस्थापनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत नेपाल सरकारलाई माग गर्ने निर्णय गरिएको छ ।
यसैगरी बैठकले प्रदेश अन्र्तगतका प्रादेशिक तथा जिल्ला अस्पतालमा कोरोना उपचार तथा व्यवस्थापन गर्न चिकित्सक सहितको मेडिकल स्वास्थ्य टोली निर्माण गरी तयारी अवस्थामा राख्ने निर्णय गरेको छ ।