काठमाडौं, ५ फागुन । नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य स्वर्गीय दुर्गाप्रसाद उपाध्यायको निधनमा श्रद्धाञ्जलीसभा गरेको छ ।
सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा सोमबार उपाध्यायको निधनमा श्रद्धाञ्जलीसभा आयोजना गरिएको हो । श्रद्धाञ्जलीसभामा नेताहरुले सरल एवं भद्र व्यक्तित्वको रुपमा परिचित उपाध्यायले सामाजिक कार्य एवं लोकतन्त्र स्थापनाका आन्दोलनहरुमा पुर्याएको योगदानको स्मरण गरेका थिए ।
सभापति शेरबहादुर देउवाले सधै हसिलो मुहारमा देखिने उपाध्याय राष्ट्रिय चिन्तनको व्यक्ति भएको भन्दै उहाँको योगदानको स्मरण गर्नुभयो । उहाँले नेपालको प्रजातान्त्रिक आन्दोलनको साथै पार्टीको सिद्धान्त र विचारलाई ग्रामिण तहसम्म पुर्याउने काममा अहोरात्र खटिने उपाध्यायको निधनले सिंगो मुलुक र पार्टीलाई अपुरणिय क्षति पुगेको बताउनुभयो ।
त्यसैगरी संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले प्रतिकुल अवस्थामा पनि गाउँगाउँमा बसेर पार्टीको मुल धारणालाई स्थापित गराउने सवालमा नेतृत्वदायी भुमिका निर्वाह गरेको भन्दै उहाँको योगदानको स्मरण गर्नुभयो ।
२०७४ सालको राष्ट्रियसभा निर्वाचनमा प्रदेश नम्बर ५ बाट नेपाली कांग्रेसका तर्फबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनुभएका उपाध्यायको फागुन २ गते ५१ बर्षको उमेरमा निधन भएको थियो ।




