६० हजार बेराेजगारलाई सय दिनको रोजगारी दिने सरकारको तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८३, बुधवार

६० हजार बेराेजगारलाई सय दिनको रोजगारी दिने सरकारको तयारी

pm rojgar

काठमाडौं, २२ पुस । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यो वर्ष ६० हजारलाई एक सय दिनको रोजगारी दिने भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत यो वर्ष ६० हजारलाई एक सय दिनको रोजगारी दिने योजना रहेको मन्त्रालयले जनाएको छ ।

मंगलबार मन्त्रालयले आगामी तीन महिने कार्ययोजना सार्वजनिक गर्दै यो वर्ष ६० हजारलाई रोजगारी दिने योजना रहेको बताएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत प्रधानमन्त्री रोजगार कार्यक्रम महाशाखाका सहसचिव प्रकाश दाहालले कार्यक्रमका लागि यो वर्ष ५ अर्ब १ करोड बजेट विनियोजन भएको बताउनुभयो ।

विनियोजित बजेटमध्ये ७० प्रशित रकम ज्यालामा खर्च हुने र ३० प्रतिशत रकम मात्रै निर्माण सामग्री तथा सुरक्षा सामग्री लगायतमा खर्च हुने उहाँले बताउनुभयो । एक सय दिनको रोजगारी नभएको अवस्थामा बाँकी रकम निर्वाह भत्ता स्वरुप दिनुपर्ने प्रावधान रहेको समेत उहाँले बताउनुभयो ।

गत वर्षमा झार उखेल्ने प्रकृतिका कामहरुमा बजेट खर्च भएको भन्ने गुनासो यो वर्ष नआउने उहाँले बताउनुभयो । गतवर्ष कार्यक्रमको तयारी गर्नुपर्ने भएका कारण स्तरीय काम हुन नसकेको स्वीकार गर्दै उहाँले यो वर्ष स्थानीय तहले गर्ने कामहरु सूची पहिले नै पठाउनुपर्ने गरी निर्देशन गरिएको बताउनुभयो । मागमा आधारित भएर बजेट जाने प्रकृयाले यो वर्ष गुणस्तरिय काम हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

मन्त्रालयले आफ्नो तीन महिने कार्ययोजना सार्जजनिक गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सञ्चालन हुने आयोजनाहरुको प्रभावकारी अनुगमन गर्ने बताएका छ । सातै वटै प्रदेशहरुमा रोजगारीका सम्भावनाहरुको पहिचान गर्न अध्ययन गरिने पनि मन्त्रालयले जनाएको छ ।

त्यसैगरी औद्योगिक करिडोर लगायत मुलुकका विभिन्न स्थानमा त्रिपक्षीय सहभागितामा सामाजिक संवाद सञ्चालन गर्ने, बालश्रम, व्यवसायजन्य सुरक्षा एवं स्वास्थ्य न्यूनतम पारिश्रमिक भुक्तानी लगायतका श्रम ऐन नियमको पालना भए नभएको सम्बन्धमा एक हजार उद्योगहरुको अनुगमन गर्ने योजना पनि मन्त्रालयले अघि सारेको छ ।

विदेशमा रहेको कुटनीतिक नियोगबाट पुनः श्रम स्वीकृति दिने व्यवस्था कार्यान्वयनमा ल्याउने, बीमा र कल्याणकारी कोष वापतको रकम अनलाईन प्रणाली मार्फत बुझाउने र दुई वर्ष पुराना सबै संस्थागत उजुरीहरुको छानबिन प्रकृया सम्पन्न गर्ने योजना पनि मन्त्रालयले अघि सारेको छ ।

यसैगरी १० हजारलाई लक्षित गरी वैदेशिक रोजगार बोर्डबाट निःशुल्क सीप तालिम प्रदान गर्ने, ओमानसँग द्विपक्षिय श्रम समझदारी गर्ने र आगामी तीन महिनामा १५ हजार रोजगारदाता र १ लाख योगदानकर्तालाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध गराउने सहित २५ त्रैमासिक योजना मन्त्रालयले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।