प्रधानमन्त्री रोजगार कार्यक्रम : ६ सय २३ स्थानीय तहमा २ अर्ब अनुदान | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

प्रधानमन्त्री रोजगार कार्यक्रम : ६ सय २३ स्थानीय तहमा २ अर्ब अनुदान

pm rojgar

यो वर्ष ७० हजार बेरोजगारलाई कम्तिमा सय दिन बराबरको रोजगारी दिने सरकारको लक्ष्य

काठमाडौं, २ फागुन । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ६ सय २३ स्थानीय तहमा २ अर्ब रुपैयाँ सशर्त अनुदान पठाएको छ ।

शुक्रबार सिंहदरबारमा पत्रकार सम्मेलन आयोजना गरी मन्त्रालयले आर्थिक वर्ष २०७६/०७७ का लागि स्थानीय तह अन्तर्गत रोजगार सेवा केन्द्रमा सूचिकृत भएका बेरोजगार व्यक्तिहरुलाई रोजगारी प्रदान गर्ने उद्देश्यले तत्कालका लागि २ अर्ब रुपैयाँ बाँडफाँड गरी सशर्त अनुदान पठाइएको जनाएको हो ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता सुमन घिमिरेले ७ सय ५३ स्थानीय तहमा चार अर्ब ८२ करोड रुपैयाँ बजेट विनियोजन गरिएको भएपनि केही स्थानीय तहले बेरोजगारको संख्या र प्राथमिकतामा परेको आयोजनाको सूची नपठाएकोले ६ सय २३ स्थानीय तहमा मात्र उक्त रकम पठाइएको बताउनुभयो ।

उहाँले आयोजना र बेरोजगारको सूचिको आधारमा न्यूनतम १० लाख रुपैयाँ र अधिकतम ७५ लाख रुपैयाँको सिमा भित्र रहेर सशर्त अनुदानको रकम बाँडफाँड गरी निकाशा पठाइएको बताउनुभयो ।

उहाँले यो रकम ग्रामिण सडक निर्माण, सडक मर्मत, विद्युतीकरण र तटबन्ध निर्माण लगायतका स्थानीय योजनामा मात्रै खर्च गर्न पाइने बताउनुभयो ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि यस वर्ष २ अर्ब ६२ करोड विश्व बैंकबाट ऋण लिएर र बाँकी २ अर्ब २० करोड ३२ लाख नेपाल सरकारको आन्तरिक स्रोतबाट व्योहोर्नेगरी बजेट ल्याइएको थियो ।

यसवर्ष १३ लाख भन्दा बढीले बेरोजगार आवेदन भरेकोमा स्थानीय तहले अहिले सम्म ५३ हजार निवेदन मात्रै प्रमाणित गरेकाले उक्त रकम ५३ हजार जनाको लागि कम्तिमा १ सय दिन बराबरको रोजगारी दिन प्रयोग हुने छ ।

त्यस्तै बाँकी रहेका १ सय ३० स्थानीय तहमा आयोजना प्रस्ताव भई आएपछि र अहिले रकम बाँडफाँड भएका ६ सय २३ स्थानीय तहले बेरोजगारको प्राथमिकताक्रम सहितको सूची रोजगार व्यवस्थापन सूचना प्रणाली (इएमआइएस) मा प्रविष्ट गरेका आधारमा पुनः बाँडफाँड गरी पाठाउने प्रवक्ता घिमिरेले जानकारी दिनुभयो ।

सरकारले यो वर्ष ७० हजार बेरोजगारलाई कम्तिमा १ सय दिन बराबरको रोजगारी दिने लक्ष्य राखेको छ । तर स्थानीय तहमा बेरोजगारको संख्या १७ लाख भन्दा बढी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);