जनताका आवाज बोल्ने संसद् नै बन्धक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८३, आइतबार

जनताका आवाज बोल्ने संसद् नै बन्धक

shivamaya tumbahamfe

काठमाडौं, १२ पुस । जहाज चढ्न ‘एयरपोर्ट टाइम’ भइसकेको संकेत सचिवालय सदस्यले गराएपछि पार्टी अध्यक्ष पुष्पकमल दाहालले भने, ‘टिकट रद्द गर्नु, म बिहान मात्र काठमाडौं जान्छु।’ बिहीबार तीन बजे भरतपुरबाट काठमाडौं आउने जहाजको टिकट लिएका दाहालले साढे दुई बजे मात्र टिकट रद्द गर्न लगाएका थिए।

दाहालले काठमाडौं फर्कने कार्यक्रम रद्द गरेको जानकारी पाएपछि सत्तासीन नेकपाका नेताहरू ‘सशंकित’ बने। दुई अध्यक्ष बसेर बिहीबार नै सभामुखको टुंगो लाग्ने लख काटेका उनीहरू ‘गडबड’ भएको निष्कर्षमा पुगे।

सत्तासीन नेकपाले सभामुख उम्मेदवार टुंगो लगाउने विश्वासमा संसद् सचिवालयले सभामुख निर्वाचन मिति घोषणाको सम्भावित कार्यसूची बनाइसकेको थियो।

शुक्रबार बिहान १० बजे मात्र पार्टी अध्यक्ष दाहाल काठमाडौं फर्केपछि दुई अध्यक्षबीच छलफल हुन बाँकी रहेको भन्दै संसद् बैठक सार्न उपसभामुख शिवमाया तुम्बाहाङफेलाई सन्देश पठाइयो।

उपसभामुखको निर्देशनअनुसार संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले पुस १६ गतेका लागि बैठक सरेको सूचना प्रकाशित गरे। संसद्मा झण्डै दुई तिहाइ बहुमत रहेको नेकपाले नै सभामुख उम्मेदवार टुंगो नलगाउँदा हिउँदे अधिवेशनको दोस्रो बैठक सूचनाद्वारा स्थगित गरियो। जनताका आवाज बोल्ने स्थान (संसद्) नै बन्धक बन्यो।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।