नेपाली कांग्रेसमा गुट विवाद झांगिदैं | ईमाउण्टेन समाचार

Our Network

फागुन १३ २०८२, बिहीबार

नेपाली कांग्रेसमा गुट विवाद झांगिदैं

nepali congress

काठमाडौं, २ पुस ।  नेपाली कांग्रेसमा गुट विवाद झांगिदैं, नेताहरु सिद्धान्त भन्दा व्यक्तिगत लाभ हानीको जोड घटाउमा लागेको विश्लेषकहरुको टिप्पणी ।

आफूलाई प्रजातन्त्रको हिमायती ठान्ने नेपाली कांग्रेस यतिबेला आन्तरिक किचलोमा चुर्लुम्म डुबेको छ । संसदमा प्रमुख प्रतिपक्षी दलको रुपमा रहेको कांग्रेसले नेताहरुकै गुटबन्दीको कारण प्रतिपक्षीको सामान्य भूमिका पनि निर्वाह गर्न सकिरहेको छैन । मिति तोकिएको केन्द्रीय समिति बैठक पनि गुट कै बहिस्कारको कारणले बस्न सकिरहेको छैन भने महाधिवेशन कहिले हुने ? अन्यौलमा छ ।

देशकै पुरानो पार्टी नेपाली कांग्रेस अहिले गुट उपगुट जेलिएको छ । बाहिरबाट हेर्दा एकै ढिक्का देखिए पनि पार्टी भित्र व्यक्तिवाद हावी भएको छ । पार्टीका नेताहरु विधान भन्दा पनि आफ्नो-आफ्नो प्यानल बनाएर पार्टीको काम गरिरहेका छन् । पछिल्लो महाधिवेशनका लागि बनेका प्यानल अहिले झन् शक्तिशाली देखिएको छ । पार्टी एकतालाई स्वार्थका लागि दाउमा राख्ने प्रवृति नेताहरुमा देखिन थालेको छ । नेताहरु सिद्धान्त भन्दा व्यक्तिगत लाभ हानिको जोड घटाउमा लागेका छन् । कांग्रेसमा अहिले देखिएको समस्या सिद्धान्त स्खलन नै भएको राजनीति शास्त्रीको बुझाई छ ।

कांग्रेस भित्र अहिले रामचन्द्र पौडेल खेमा जसरी भएपनि नेतृत्वमा स्थापति हुने कसरतमा छ जसको लागि पौडेल समुह साम, दाम, दण्ड, भेद सबै प्रयोग गर्न तत्पर देखिन्छन् भने कृष्ण सिटौला पनि त्यस्तै कसरतमा देखिन्छन् । कोइराला परिवार आफ्नो विरासत जसरी पनि फर्काउने जोड घटाउमा लागेका छन् । हिजो आफैले छानेको नेतृत्व मान्न गुटकै कारणले सिमित नेता मात्र तयार देखिन्छन् । संस्थापन पक्ष भनिए पनि देउवा गुट हावी छ । नेपाली कांग्रेसमा नेतृत्वले काम गर्न नै नपाएको कारणले यस्तो समस्या देखिएको बताउनुहुन्छ संवैधानिक कानुनका जानकार डा. विपिन अधिकारी ।

नेपाली कांग्रेसमा गुटबन्दी मौलाएको यो नै पहिलो पटक भने हैन । यस्तै विचलनको कारणले संस्थापक नेताले नै पार्टी छोडेको इतिहास पनि छ कांग्रेससँग छ । कांग्रेस भित्र अहिले सिद्धान्त र विचारको कुरा देखिंदैन । भागबण्डा र नेतृत्व हुत्याउने होडबाजी प्रमुख देखिन्छ । देउवा गुट, पौडेल गुट, सिटौला गुट, के – के गुटहरु अहिले कांग्रेस भित्र झांगिएको छ । गुटबन्दीकै कारण पहिलो पार्टीबाट दोश्रोमा पुगेको कांग्रेसमा अझै चेत आएको देखिंदैन । यदि कांग्रेसका नेताले आत्मा केन्द्रीत सोच र गुटबन्दीबाट बाहिर ननिस्कने हो भने भोली अस्तित्वको लागि नै लड्नुपर्ने दिन नआउलन भन्न सकिन्न ।