शृंखलाको पहलमा स्वास्थ्य चौकी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८३, शनिबार

शृंखलाको पहलमा स्वास्थ्य चौकी

shrinkhala-health post

मकवानपुर,  ७ मंसिर । ७० वर्षीय श्यामबहादुर चेपाङ दमको रोगी छन्। जाडो महिनामा उनले मृत्युसँग पौठेजोरी नै खेल्नुपर्छ। पछिल्लो समय बुढ्यौलीका कारण उनको शरिरले झनै साथ दिन छाडेको छ। उनी घरबाट ३ घण्टा उकालो चढेर भार्ता स्वास्थ्य चौकी जान पनि सक्दैनन्। तर शुक्रबार हातभरी औषधी बोकेर घर फर्कँदै गर्दा उनको अनुहार चम्किलो देखियो।

घरबाट पाँच मिनेटको दुरीमा स्वास्थ्य चौकी स्थापना भएपछि उनमा धेरै बाँच्ने आस पलाएको छ। ‘आगनमै अस्पताल आयो, अब बाँच्न सजिलो हुन्छ होला’, चेपाङले भने, ‘जाडो महिना आयोकी दमले हैरान पार्छ।’

चेपाङ बहुल मकवानपुरको कैलाश गाउँपालिका–७ ताम्लाङमा स्वास्थ्य चौकी बनेपछि स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका स्थानीय उत्साहित छन्। यो स्वास्थ्य चौकी निर्माण संयोजन मिस नेपाल २०१८ शृंखला खतिवडाले गरेकी हुन्। मिस वल्र्ड २०१८ मा समावेश गरिएको ‘ब्युटी विथ प्रपोज’ उपाधिका लागि शृंखलाले ताम्लाङमा स्वास्थ्य चौकी निर्माण सुरु गरेकी थिइन्।

निर्माण सुरु गरेको डेढ वर्षपछि उनले शुक्रबार समुदायलाई स्वास्थ्य चौकी हस्तान्तरण गरेकी हुन्। ५५ लाख रुपैयाँ लागतमा निर्माण गरिएको स्वास्थ्य चौकीको नाम ङिको स्वास्थ्य चौकी राखिएको छ।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।