काठमाडौं, १ मंसिर । मोहन्याल गाउँपालिकाको खिमडीस्थित ५ नम्बर वडा कार्यालयमा सहयोगी तारा बुचामगर मात्र छिन् । यहीँ टाँगिएको छ गाउँपालिका कार्यालयको बोर्ड । जनप्रतिनिधि र अरू कर्मचारी भने कोही भेटिँदैनन् । मगरले नै कार्यालय खोल्छिन्, बन्द गर्छिन् । सेवाग्राही आए कर्मचारी वा जनप्रतिनिधिको फोन नम्बर दिन्छिन् । कार्यालयको माथिल्लो तलाको एउटा कोठामा प्रहरी चौकी छ ।
गाउँपालिका अध्यक्ष नवलसिंह रावल बढीजसो लम्की बजारमा भेटिन्छन् । उपाध्यक्ष पूजा बुढामगर ४ नम्बर वडाको खलुबलुमा बस्छिन् । प्रशासकीय अधिकृत गणेश ओझालगायत कर्मचारीले धनगढीमै कार्यालय खोलेका छन् ।
स्थानीयका अनुसार कहिलेकाहीँ गाउँपालिकाको बैठक गर्नुपरे मात्र कर्मचारी र जनप्रतिनिधि खिमडी जान्छन् । कैलालीको पहाडी गाउँपालिका हो मोहन्याल । खिमडीसम्म मोटरबाटोको ट्र्याक छ । जिप चल्छन् । जनप्रतिनिधि कार्यालयमा नबस्दा सेवाग्राही नै उनीहरूलाई खोज्दै धाउनुपर्ने अवस्था छ । ‘यसरी त सेवाग्राहीलाई साह्रै सास्ती भएको छ,’ स्थानीय लालमुनि बोहराले भने, ‘अहिले पनि पुरानै शासनको पारामा गाउँपालिका चलिरहेको छ ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा लेखेको छ ।