काठमाडौं, ९ कात्तिक । यमपञ्चक अन्तर्गत आज काग तिहार । कार्तिक कृष्ण त्रयोदशीका दिन शनिबार यमराजको दूतका रुपमा कागलाई मीठो मीठो खाना ख्वाएर काग तिहार मनाइँदैछ ।
कार्तिक कृष्ण त्रयोदशीकै दिन शुरु हुने यमपञ्चक भने यस वर्ष तिथिको घटबढका कारण शुक्रबार बेलुकीदेखि नै शुरु भएको छ । शुक्रबार बेलुकी त्रयोदशी तिथि लाग्ने भएकाले यमपञ्चक शुरु गर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय परम्परा रहेको छ । कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठो मीठो खान दिई खुसी पार्ने गरिएको हो । लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनसमेत रहेको छ ।
काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ । काग तिहारमा कागलाई मिठोलाग्ने दही भात खुवाएमा यमराज समक्ष राम्रो सन्देश लगिदिने जनविश्वास रही आएको छ ।