काठमाडौं, १२ भदौ । नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले सरकारका पछिल्ला कार्यशैली मुलुकको समग्र राज्य संचालन व्यवस्था माथि नै खतरनाक संकेतको रुपमा आएको बताउनुभएको छ ।
राजधानीमा विहिबार आयोजित युवा र राजनीति विषयक अन्तरक्रियालाई सम्बोधन गर्दे उहाँले कार्यपालिका प्रमुख विदेश जानुपर्ने भएपछि भिडियो कन्फ्रेन्स मार्फत मन्त्रीपरिषद् बैठक बस्न सक्ने गरि कानुन नै संशोधन गरिनु सिंगो व्यवस्थामाथिको प्रहार भएको बताउनुभएको हो ।
उहाँले अधिनायकवादी प्रवृत्तिबाट कानुन नै परिवर्तन गरेर मन्त्रीपरिषद् बैठक संञ्चालन गर्न नपाईने भन्दै तत्काल कार्यविधि सच्याउन सरकारलाई चेतावनी दिनुभयो ।
उहाँले भन्नुभयो “कार्यपालिकाको प्रमुख विरामी परेर विदेश जानुभयो । त्यो पनि कानुनमै संशोधन गरेर । देशका कानुनलाई अवैधानिक तरिकाले देश विरोधी मानसिकताबाट, लोकतन्त्र विरोधी मानसिकताबाट, अधिनायकवादी प्रवृत्तिबाट कानुन परिर्वतन गरेर मन्त्रीपरिषद् बैठक संञ्चालन गर्न पाईदैन । यो खतरनाक संकेत हो ।”
सरकार प्रणालीमा टेकेर प्रणालीलाई नै सिध्याउने खेलमा लागेको भन्दै उहाँले कम्युनिष्ट स्टेट विरुद्धको आन्दोलनका लागि तयारी अवस्थामा रहन युवाहरुलाई निर्देशन दिनुभयो ।
उहाँले सरकारले नयाँ विधेयकहरुमा पनि सम्पुर्ण अधिकार प्रधानमन्त्रीमा निहित हुने गरि व्यवस्था गरेको आरोप लगाउनुभयो ।