सुजन चालिसे
काठमाडौं, ८ भदौ । साग खेलकुदको १३ औँ संस्करणको तयारीका लागि हाल दशरथ रङ्गशालाको सेमी कबर्ड हलमा उसु खेलको प्रशिक्षण हुँदैछ । प्रशिक्षणमा धेरै मिहेनेत गरिरहेको भएपनि राष्ट्रिय खेलकुद परिषद्ले प्रदान गरीरहेको सेवा सुविधा पर्याप्त नभएको प्रशिक्षक तथा खेलाडीहरुको गुनासो छ ।
नेपालले साग खेलकुदको १३ औँ संस्करण मंङ्सिर १५ देखि २४ गतेसम्म काठमाडौँमा आयोजना गर्दैछ । त्यसको लागि अहिले नेपालले खेल स्थल निर्माणदेखि खेलाडीको प्रशिक्षणलाई तिव्रता दिइरहेको छ । नेपालले पदकको लागि आशा गरिएको खेलहरु मध्ये उसु पनि एक हो । दशरथ रङ्गशालाको सेमी कबर्ड हलमा अचेल दिनहुँ उसु खेलको प्रशिक्षण भइरहेको छ ।
उसुको थाउलो र सान्चो गरी मुख्य २ विधाहरु हुन्छन् । थाउलोमा व्यक्तिगत काँता प्रदर्शन सम्बन्धी गतिविधि पर्दछन भने सान्चोमा बिपक्षीसँग खेलिने आक्रामक तथा रक्षात्मक गतिविधि पर्दछन । १३ औँ साग गेममा छनोट भइ देशको लागि पदक हात पार्ने लक्ष्य सहित बिहान ७ बजेदेखि १० बजेसम्म र बेलुकी ४ देखि ६ः३० बजेसम्म निरन्तर रुपमा खेलाडीहरु बन्द प्रशिक्षणमा लागेका छन् ।
बिगतका प्रतियोगिताहरुमा राम्रो नतिजा हासिल गर्न सकेकोले आगामी साग खेलकुदबाट पनि उसुबाट पदकको आशा गरिएको उसु टिमका मुख्य प्रशिक्षक अमर कुमार थिङ बताउनुहुन्छ ।
प्रशिक्षकले आशा गरे जस्तै उसु खेलाडी पनि त्यही सपना बोकी प्रशिक्षणमा मिहेनत गरिरहेका छन् । खेल सामाग्रिहरु र सेवा सुविधाको अभावका बावजुत देशका लागि स्वर्ण पदक ल्याउन मिहेनत गरिरहेको खेलाडीहरु बताउँछन् ।
उसु खेलाडीहरुले दैनिक रुपमा १४ सय प्राप्त गर्ने गर्दछन् जुन रकम उनिहरुलाई खान बस्न तथा पौष्टिक आहारको लागि पर्याप्त नभएको मुख्य प्रशिक्षक थिङको भनाई छ । उसु खेलको प्रशिक्षणमा अहिले भर्खरै राष्ट्रिय टोलीमा प्रवेश पाएकादेखि अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता जनाइसकेका अनुभवी खेलाडीहरु समावेश छन् ।
विगतका प्राय सबैजसो अन्तर्राष्टिय प्रतियोगिताहरुमा पदक हात पार्न सफल भएकाले १३ औँ साग खेलकुदमा पनि उसुमा पदक जित्ने आशा खेलाडी तथा प्रशिक्षकले गरेका छन् ।