काठमाडौं, ४ भदौ । एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपालले पहिलो खेल श्रीलंकासँग खेल्ने भएको छ । भदौ १९ देखि २८ गते सम्म श्रीलंकामा आयोजना हुने एसिया यु १९ क्रिकेटको पहिलो खेलमा नेपालले श्रिलंकासँग भिड्ने भएको हो ।
एसीसीले बुधबार सार्वजनिक गरेको खेल तालिका अनुसार समूह ‘बी’ मा रहेको नेपालले पहिलो खेल भदौं २० गते श्रीलंकासँग खेल्ने तय भएको हो । नेपाल रहेको समूह बी मा आयोजक श्रीलंका, बंगलादेश र युएई रहेका छन् ।
नेपालले समूह चरणको दोस्रो खेल भदौ २२ गते बंगलादेशसँग खेल्ने भएको छ भने अर्को खेल युईसँग भदौ २४ गते खेल्नेछ । राउन्ड रोबिन लिगपछि दुई समूहका शीर्ष दुई टोलीले सेमिफाइलकोे यात्रा तय गर्नेछन् ।
समूह ‘ए’ मा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत रहेका छन् । प्रतियोगीताको अघिल्लो संस्करणमा नेपाल सेमिफाइनलमा पुगेको थियो । यसअघिको संस्करणमा नेपालले भारतलाई हराएको थियो ।