ब्राजिलको अमेजन वन क्षेत्रमा अहिलेसम्मकै धेरै डढेलो | ईमाउण्टेन समाचार

Our Network

फागुन ४ २०८२, मंगलबार

ब्राजिलको अमेजन वन क्षेत्रमा अहिलेसम्मकै धेरै डढेलो

एजेन्सी, ४ भदौ । ब्राजिलको धेरै पानी पर्ने अमेजन वन क्षेत्रमा यस वर्ष अहिलेसम्मकै सबैभन्दा धेरै डढेलो लागेको तथ्यांक सार्वजनिक भएको छ ।

ब्राजिलको अन्तरिक्ष निकाय नेसनल इन्स्टिच्युट फर स्पेस रिसर्च (आइएनपीई) का अनुसार गत वर्षभन्दा यस वर्ष डढेलोको संख्या ८३ प्रतिशतले बढेको देखिएको छ ।

वनमा लागेको डढेलोबाट निस्किएको धुँवाका कारण साओ पाउलो सहरमा दिउँसै अन्धकार भएको थियो । एउटा शक्तिशाली हावाको वेगले रोन्डोनिया र अमेजोनास राज्यमा फैलिएको डढेलोको धुँवा ल्याएपछि २७ सय किलोमिटर पर रहेको साओ पाउलो सहर करिब एक घन्टा अन्धकार भएको थियो ।

वनविनाशको तथ्यांकबारे विवाद उत्पन्न भएपछि राष्ट्रपति जाइर बोल्सोनारूले आइएनपीईका प्रमुखलाई पदमुक्त गरेको एक हप्तापछि डढेलो सम्बन्धी तथ्यांङ्क सार्वजनिक भएको हो ।

गएको बिहीबार यता मात्रै ब्राजिलमा ९ हजार ५ सय ओटा डढेलो देखिएकामा ती अधिकांश अमेजन क्षेत्रमा लागेको थियो । आइएनपीईले जनवरीदेखि अगस्ट महिनाबीच ७२ हजार ओटा डढेलोका घटना पहिचान गरेको उल्लेख गरेको छ । बढ्दो डढेलोका कारण अमेजन आसपासका क्षेत्रमा संकटकाल घोषणा गरिएको छ ।