काठमाडौं, १५ साउन । राहत वितरणमा राजनीतिकरण हुँदा बास्तविक बाढी पीडितहरु राहत पाउनबाट बञ्चित हुने पगेका छन् । मंगलबार सखुवानन्कारकटी गाँउपालिकाले वितरण गरेको राहतमा बोलबाला राख्नेहरुले राहत पाएका छन् भने बास्तविक पीडितहरुले राहत नपाए जनगुनासो रहेको छ ।
सखुवानन्कारकटी ४ का पवन मण्डल, मुकेश यादव, वडा नम्वर ३ का दिलिप यादव, नेवी सदायलगायत दर्जनौं स्थानीयले राहत वितरणमा व्यापक राजनीतिकरण भएको गुनासो गरेका छन् । घरवारविहिन भएकालाई एक छाँक टार्न धौधौ परिरहेको बेला यसरी राजनीतिकरणले पीडितलाई झन् थप पीडा भएको बताइएको छ ।
त्यस गापामा रहेको वडा नम्बर २, ३ र ४ का मुसहर दलित समुदायका नामावली समावेश नगरी पाँच विगहा जमिन हुने, सरकारी जागिर हुने र वडाध्यक्षको नीजि आफन्त पर्नेले ३० किलो चामल, पाँचकिलो दाल, एक÷एक थान त्रिपाल र कम्बल राहत स्वरुप पाएका छन् ।
३ नम्वर वडा पर्ने पोर्ताहा गाँउका ९५ घरपरिवारका मुसहर समुदायको अवस्था बाढीका कारण अहिले पनि दयनीय छ । पोखरीको चारैतिरको ऐलानी जग्गामा बसिरहेका मुसहर समुदायका घरमा राती सर्प पस्ने गरेका छन् । घरमा बाढी पसेर लढिसेकेका घरहरु जसोतसो ठड्याएर रात काट्न विवश यस्ता १५ घर परिवारलाई राहत नदिएकाले स्थानीयले दुःखेसो पोखेका छन् ।
वडाध्यक्षका आफन्त ,चुनावमा सघाएका नजिकका कार्यकर्ता हुनेखानेले मोटरसायकलमा राखेर राहत लगेकोमा वास्तविक पीडितहरुलाई झन् पीडा भएको उनिहरुले दुखेसो पोखेका छन् ।
गाँउपालिका अध्यक्ष केदारनाथ यादवका अनुसार वास्तविक पीडितको नामावली संकलनको लागि ईलाका प्रहरी कार्यालय लहानका प्रतिनिधि, नेपाल रेडक्रस सोसाइटी सिरहाका प्रतिनिधि र सम्बन्धित वडाध्यक्षले सिफारिस गरेका थिए ।
सिफारिसका आधारमा राहत वितरण हुँदा वास्तविक दलित पीडित परिवार छुट्न गएकाले छानबिन गरेर गल्ती गर्ने निकायलाई कारबाहीको दायरामा ल्याइने कुरा उहाँले जनाउनुभयो ।
पूर्ण प्रभावित २४३ र आंशिक २७० गरी ५१३ घरपरिवारलाई राहत सामग्री वितरण गरिएको गाँउपालिका सखुवानन्कारकटीले जनाएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।