१७ महिनापछि मन्त्रीहरू फेरिँदै | ईमाउण्टेन समाचार

Our Network

साउन २३ २०८३, आइतबार

१७ महिनापछि मन्त्रीहरू फेरिँदै

office of pm

काठमाडौं, १२ साउन । सरकार गठन भएको सत्र महिनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुनर्गठनको गृहकार्य अगाडि बढाउनुभएको छ । सरकारका मन्त्रीहरुको काम प्रभावकारी नभएको आलोचना र गुनासो बढेपछि मन्त्रीमण्डल पुनर्गठन गर्ने गृहकार्यमा प्रधानमन्त्री ओली लाग्नुभएको हो ।

सरकारको कामलाई प्रभावकारी बनाउन र परिणाम देखाउने गरी काम गर्न मन्त्रीमण्डल फेर्नुपर्ने पार्टीभित्रबाटै दबाब बढेपछि एक दुई सातादेखि उहाँले पार्टीका नेताहरुसँग छुट्टाछुट्टै छलफल गर्नुभएको छ ।

नेकपाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीका सचिवालयको एक सदस्यका अनुसार मन्त्रीमण्डल पुनर्गठन गर्न पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्धय माधव कुमार नेपाल र झलनाथ खनाल, सचिवालय सदस्य वामदेव गौतम लगायतका शीर्ष नेताहरुसँग परामर्श गर्नुभएको छ । साथै उहाँले मन्त्रीमण्डल फेर्दा नयाँ मन्त्री हुने पात्रको बारेमा पनि परामर्श गर्नुभएको छ ।

सरकार सञ्चालनलाई प्रभावकारी बनाउन पार्टीका शीर्ष नेताको सुझावलाई आत्मसाथ गर्दै प्रधानमन्त्री ओलीले पार्टीको विभाग र आयोगका प्रमुखहरुको जिम्मेवारीको टुंगो लागेलगत्तै मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी गर्नुभएको उहाँको सचिवालयका एक सदस्यले बताए । याे  समाचार नेपाल समाचारपत्र मा छ ।

ताजा समाचार