श्याम गुप्ता
बारा, ३१ जेठ । झण्डै तीन महिनादेखि पालमुनी जीवन यापन गर्दै आएका बाराका हावाहुरी प्रभावितहरुमा पालको बासबाट मुक्ति पाउने आशा पलाउन थालेको छ । निर्माण थालेको एक महिना नपुग्दै नेपाली सेनाले जिम्मा लिएको पहिलो चरणका घरहरुको स्वरुप गाउँ गाउँमा देखिन थालेपछि उनीहरुमा आशा पलाउन थालेको हो ।
२०७५ चैत्र १७ गते आईतवार साँझको भीषण हुरीले बारा र पर्सामा २६ जनाको ज्यान गएको थियो । सय भन्दा बढी घाइते भएका थिए । हुरीले धेरैको घर भत्काएको थियो । त्यति बेलादेखि हुरी पीडितहरु पाल मै आफ्नो गुजारा गर्दै आईरहेका छन् ।
जेठ महिनाको प्रचण्ड गर्मी सँगसँगै वर्षामा परेको पानीबाट जोगिन पालमुनी टाउको लुकाउँदै बस्न बाध्य भएका उनीहरु अबको केही दिन भित्रै सेनाले बनाएका घरमा बस्न पाउने भएका छन् । आफ्नो घरको भग्नावषेश हटाउन समेत जाँगर मारेका उनीहरु अहिले निर्माणको काममा नेपाली सेनालाई सघाउँदै आएका छन् । सेनाले हुरीको समयमा उद्धारदेखि राहत वितरण लगायत अहिले घरनिर्माणसम्म सहयोग गरेकोले स्थानीयहरु खुशी भएका छन् ।
नेपाली सेनाले साउन २६ सम्ममा सम्पुर्ण घर निर्माण सम्पन्न गर्ने तालिका अनुसार काम गरिरहेका छन् । निर्माणले तिव्रता पाए पनि विभिन्न समस्याहरुले समयमै निर्माण सम्पन्न हुन्न कि भन्ने शंका पनि त्यतिकै छ ।
प्रभावितहरुको घर पुनःनिर्माणका लागि रक्षा मन्त्रालयले बारामा दुई हजार नौ सय ४७ र पर्सामा ५३ जना नेपाली सेना खटाएको छ । नेपाली सेनाले ९३ वटा घरहरुलाई चरणबद्ध रुपमा पुननिर्माण गरिरहेको छ ।
२०७५ चैत्र १७ गते आईतवार साँझ बारा र पर्सामा आएको भीषण हावाहुरीका कारण पूर्ण रुपमा क्षति भएका घरहरुको सरकारले नै पुनःनिर्माण गर्न लागेको हो । चैत्र २१ गते बसेको मन्त्रिपरिषदको बैठकले जनता आवास कार्यक्रमको लागि झण्डै एक अर्ब बजेट छुट्याएको छ । घर निर्माणको सम्पूर्ण जिम्मा नेपाली सेनाले लिएकाले पनि स्थानीयहरु समयमा घर बन्नेमा विश्वस्त देखिन्छन् ।