एजेन्सी, ५ बैशाख । भारतमा लोकसभा निर्वाचन अन्तर्गत बिहीबार दोस्रो चरणको निर्वाचन सम्पन्न भएको छ । बिहिवार १२ राज्यका ९५ सिटका लागि मतदान सम्पन्न भएको हो । सात चरणमा निर्वाचन गर्ने कार्यतालिका अनुसार बिहीबार दोस्रो चरणको निर्वाचन सम्पन्न भएको हो । दोस्रो निर्वाचनमा औसत ६१.१२ प्रतिशत मतदान भएको भारतीय निर्वाचन आयोगले प्रारम्भीक जानकारी दिएको छ ।
दोस्रो चरणको मतदानबाट ९५ वटा लोकसभा सिटहरुको फैसला हुनेछ । भारतको निर्वाचन आयोगका अनुसार ९५ सिटका लागि एक हजार पाँच सय ९६ जनाले उम्मेदवारी दिएका थिए । बिहिवार उडिसा, आसाम, तमिलनाडु, कर्नाटक, महाराष्ट्र, छत्तीसगढ, पश्चिम बंगाल, जम्मु कश्मीर, मणिपुर र पण्डीचेरीमा निर्वाचन भएको हो ।
आयोगका अनुसार अासममा ७३.३२, बिहारमा ५८.१४, छत्तीसगढ़मा ६८. ७०, जम्मू कश्मीरमा ४३.३७, कर्नाटकमा ६१.८०, महाराष्ट्रमा ५५.३७, मणिपुरमा ७४.६९, उडिशामा ५७.४१, पण्डीचेरीमा ७२.४४, तमिलनाडुमा ६१.५२, उत्तर प्रदेशमा ५८.१२ र पश्चिम बंगालमा ७५.२७ प्रतिशत मतदान भएकाे छ ।
पहिलो चरणको निर्वाचन यही ११ अप्रिलमा भएको थियो । सात चरणमा हुने लोकसभा निर्वाचन १९ मेमा सकिनेछ भने २३ मे देखि मतगणना शुरु हुनेछ । २ हजार २९३ राजनीतिक दल सहभागि भारतीय चुनावमा मुख्य प्रतिस्पर्धा भने भारतीय जनता पार्टी भाजपा र भारतीय कांग्रेसकाबीचमा देखिएको छ ।
यो निर्वाचनलाई प्रधानमन्त्री नरेन्द्र मोदीको पाँच वर्षे कार्यकालको समिक्षासहित उनको लोकप्रियताको परिक्षणको जनमत संग्रहका रुपमा समेत हेरिएको छ । भारतीय लोकसभामा ५ सय ४३ सिट रहेका छन् ।
बहुमतका लागि राजनीतिक दलले २ सय ७२ सीट प्राप्त गर्नु पर्नेछ । सात चरणमा ९० करोड मतदाताले निर्वाचनमा भाग लिने भारतीय निर्वाचन आयोगले जनाएको छ । बिहिवारको उडिसा राज्यको एक मतदान केन्द्रतर्फ जाँदै गर्दा भारतीय माओवादीले एकजना महिला निर्वाचन अधिकृतको हत्या गरेका छन ।