झापा, १७ चैत । जिल्ला प्रहरी कार्यालय झापाले अवैध रुपमा भारतबाट नेपाल भित्र्याउँदै गरेको अवस्थामा २२ लाख ३० हजार मूल्य बराबरको औषधी बरामद गरेको छ । जिल्लाको दक्षिणी सीमावर्ती गाउँपालिका कचनकवल–१ स्थित अस्थायी प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले मोटरसाइकल र मारुती भ्यानबाट औषधिसहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
औषधी सहित प्रहरीले बाह्रदशी गाउँपालिका–४ का २४ वर्षीय सम्दान हुसेन, २२ वर्षीय इतियाज आलम, २८ वर्षीय ताहिर आलम र भारतको दिल्लीस्थित जंगपुरी घर भइ काठमाडौँको जोरपाटी बस्ने ३२ वर्षीय फुन्चोक लामालाई पक्राउ गरेको छ।
बी.आर ३७ जी १४४० नम्बरको भारतीय मोटरसाइकल र नेपालकै मे १ च ४०६३ नम्बरको मारुती भ्यानमा लुकाएर १४ कार्टुन औषधि ल्याएको प्रहरीले जनाएको छ ।
बरामद गरिएको औषधि, पक्राउ परेका ४ व्यक्ति र औषधि ल्याउन प्रयोग गरिएका २ वटै साधनलाई औषधि व्यवस्था विभाग विराटनगरमा बुझाइने बताइएको छ । यसअघि पनि झापाको काँकरभिट्टा नाकाबाट स्थानीय वि एण्ड सि अस्पतालले अवैध रुपमा ल्याउँदै गरेको औषधि इलाका प्रहरीले बरामद गरेको थियो ।