काठमाडौं, १ चैत । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनले आयोजना निर्माणका क्रममा प्रभावित क्षेत्रका स्थानीयको समस्यालाई पहिलो प्राथमिकतामा राख्न सुझाव दिएका छन् । शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा २५ मेगावाट भन्दा माथिका आयोजनाका प्रबद्र्धकहरुसंगको छलफलमा मन्त्री पुनले प्राकृतिक र भौगोलिक सुन्दरतामा आँच नपुग्ने गरि निर्माण कार्य गर्न सचेत गराए ।
उनले पर्यटकीय उच्च संभावना बोकेको मुलुक भएकाले त्यस तर्फ पनि ध्यान दिनुपर्ने आवश्यकता रहेको बताए । त्यसैगरी मन्त्री पुनले आयोजना निर्माणमा देखिने समस्याको दीर्घकालिन सम्बोधनका लागि सरकारले पनि आवश्यक नीतिगत सुधार गर्दै लैजाने विश्वास दिलाए ।
आयोजना निर्माणमा देखिएको समस्या र सम्बोधनका विकल्पबारे मन्त्री पुनले २५ मेगावाट भन्दा माथिका आयोजनाका प्रबर्द्धकहरुसंग मन्त्रालयमा छलफल गरेका थिए । छलफलमा प्रबर्द्धकहरुले आयोजना निर्माणको क्रममा जग्गा प्राप्ती, बन क्षेत्र र बाटोको एकाधिकारबारे मन्त्रीको ध्यानाकर्षण गराएका थिए ।