७ महिनामा ५ खर्ब १५ अर्ब रेमिट्यान्स | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

७ महिनामा ५ खर्ब १५ अर्ब रेमिट्यान्स

remittance

काठमाडौं, २ चैत । चालु आर्थिक वर्षको सात महिना अर्थात् साउनदेखि माघसम्मको अवधिमा ५ खर्ब १५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको सात महिनाको ‘आर्थिक तथा वित्तिय स्थिति’ प्रतिवेदनअनुसार गत वर्षको सोही अवधिको तुलनामा अमेरिकी डलरमा १६ प्रतिशतले रेमिट्यान्स बढेको हो । अमेरिकी डलरसँग नेपाली मूल्यको अवमूल्यनको कारण नेपाली मुद्रामा हिसाब गर्दा रेमिट्यान्सको वृद्धिदर झन्डै २७ प्रतिशत छ ।

यस अवधिमा मुलुकको शोधनान्तर स्थिति भने आधा खर्ब घाटामा छ । शोधनान्तर भनेको मुलुक भित्रने र मुलुकबाट बाहिरिने रकमको अन्तर हो । अघिल्ला महिनाको तुलनामा शोधनान्तर घाटा सामान्य घटेको भए पनि अझै ४९ अर्ब ३१ करोड रुपैयाँ घाटा रहेको केन्द्रीय बैंकले जनाएको छ ।

बढ्दो आयातका कारण चालु खाता घाटा भने १६६ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । सात महिनाको अवधिमा आयात २६ प्रतिशतले बढेर ८ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ । नेपाली मुद्रा डलरसँग तीब्र अवमूल्यन हुँदा पनि निर्यातबाट प्राप्त आय भने ११.५ प्रतिशतले बढेर ५३ अर्ब ८ करोड रुपैयाँ पुगेको छ ।

व्यापारघाटा अघिल्लो वर्षको सोही अवधिको तुलनामा २७.१ प्रतिशतले बढेर ७ खर्ब ८० अर्ब रुपैयाँ पुगेको छ । विदेशी मुद्रा सञ्चिति आर्थिक वर्षको सुरुवातमा १० अर्ब ८ करोड रहेकोमा माघ मसान्तमा ९ अर्ब ४९ करोड रुपैयाँ रहेको छ । यस वर्षको आयातको प्रवृत्ति विश्लेषण गर्दै राष्ट्र बैंकले मुलुकसँग भएको विदेशी मुद्रा सञ्चितिले ८ महिनाको वस्तु र सेवा आयात धान्न पर्याप्त हुने उल्लेख गरेको छ । माघ महिनामा उपभोक्ता मुल्य वृद्धि भने ४.४ प्रतिशत छ । पुस महिनामा उपभोक्ता मूल्य वृद्धि ४.६ प्रतिशत थियो ।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);