बाशु देव बडू
दार्चुला, ३० पुस । दार्चुलावासीहरुले महाकाली राजमार्गको दार्चुला–गोकुलेश्वर सडक पीच भएपछि दुर्घटना न्यूनीकरण देखि खाल्डाखुल्डीको समस्या सधैका लागि अन्त्य हुने अपेक्षा गरेका थिए । तर, पीच भएको दुई महिनामै खलंगा देखी मेलखेत सडक भत्किन थालेपछि स्थानीयहरु अहिले निराश छन् ।
चौतर्फी दबाव पछि निर्माण कम्पनीले बल्ल–बल्ल निर्माण सम्पन्न गरेको खंलगा देखि मेलखेतसम्म पीच भएको २ महिना नपुग्दै भत्किन थालेको छ ।
दुई महिना अघि यो सडक पीच भएपछि दार्चुलावासीहरुले दुर्घटना न्यूनीकरण देखि खाल्डाखुल्डीको समस्या पनि सधैका लागि अन्त्य हुने आशा गरेका थिए । तर, निर्माण सम्पन्न भएको केही समयमानै पीच भत्किन थालेपछि स्थानीयहरु समेत निराश छन् ।
सडक डिभिजन कार्यालयका अनुसार खलंगा देखी मेलखेत सडक खण्ड श्रीराम निर्माण सेवा कम्पनीले निर्माण गरेको हो । निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने वेलामा पीच राम्रै देखिएको थियो । तर, अहिले यसरी भत्किदा निमार्ण कम्पनीको ठुलो वदमासी देखिएको सरोकारवालाहरुको भनाई छ ।
यता, निर्माण कम्पनीले भने भत्किएको सडकका बारेमा कुनै प्रतिक्रिया दिएको छैन ।