शम्भु माली, कपिलबस्तु, १० पुस । कपिलवस्तुमा बलात्कार पिडीतलाई गाँउपालिका कै अध्यक्षले मिल्नका लागि दबाब दिएको खुलेको छ । पुस ७ गते गाँउकै ३० वर्षिय किशोरबाट बलात्कृत युवती र उनका परीवारलाई पैसा लिएर घटना मिलाउन दबाब दिएको गाउँपालिका अध्यक्षले स्वीकार गरेका छन् ।
कपिलबस्तुको शुद्धोधन गाउँपालिका वडा न २ मदारगढकी २१ बर्षिय किशोरीलाई सोही स्थानका ३० बर्षिय सोलिन्दर अहिरले गएको शनिबार जबरजस्ती करणी गरेका थिए । स्विटर बनाउने ऊन किनेर घर फर्किदै गर्दा आरोपी अहिरले गाँउको दक्षिण तर्फ रहेका कुखुरा फर्ममा लगी करणी गरेको पिडीत युवतीले आरोप लगाइन ।
घटनापछी प्रहरीमा जाहेरी दिन गएका पिडीत युवतीका बाबुलाई शुद्धोधन गाँउपालिकाका अध्यक्ष निसार अहमद खाँले एक, दुई लाख रुपैया लिएर घटना मिलाउन दबाब दिएको युवतीका बाबुले बताएका छन ।
पिडित परिवारलाई दबाब दिएको बिषयमा गाँउपालिका अध्यक्ष निसार अहमद खाँलाई फोनबाट प्रतिक्रिया लिदा पिडित किशोरी अबिबाहित रहेकाले घटनालाई गाँउ ठाँउमै मिलाउन आफुले पहल गरेको अध्यक्ष खाँले स्वीकार गरेका छन् ।
गाँउपालिका अध्यक्षले मेलमिलाप गराउन खोजेपनि पिडीत युवती र परिवारले भने जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी छन् । जाहेरी पछी आरोपी सोलिन्दर अहिर लाई प्रह्रीले नियन्त्रणमा लिएको छ ।
बलात्कार जस्तो जघन्य अपराधको घटनामा पनि गाँउपालिका अध्यक्ष जस्तो जिम्मेवार व्यक्तिले मेलमिलाप गराउन खोजेको भन्दै पिडीत परिवारले आफुहरुलाई न्यायको माग गरेका छन् ।