यी तारादेवीलार्ई निगुरोले डेराबाट घर पुर्‍यायो, अब गाडी किन्ने सपना | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

काठमाडौँ, ११ भदौ । आफ्नै घरमा बस्न पाए कस्तो हुन्थ्यो होला भन्ने लागिरहन्थ्यो बेलबारी–१० भाउन्नेकी ताराकुमारी भण्डारीलाई । लामो समयसम्म परिवारसहित भाडाको घरमा बस्दै आएकी भण्डारीको यो सपना पूरा भएको छ ।

 

उनको सपना साकार भने जंगलमा पाइने निगुरोले पारेको हो । ‘निगुरोको व्यापार गर्न थालेपछि हिम्मत मात्रै आएन,’ भण्डारी भन्छिन्, ‘घर बनाउने सपना पनि पूरा भएको छ ।’ अहिले उनको बेलबारी–१० भाउन्नेमा तीन कोठाको पक्की घर छ । जंगलबाट टिपेर ल्याएको निगुरो बेची दैनिक ५ सयदेखि ३ हजारसम्म नाफा हुने भण्डारी बताउँछिन् ।

 

निगुरो बेच्दै ताराकुमारीकी छोरी
‘जेठदेखि कात्तिकसम्म त सबै खर्च कटाएर कम्तीमा १ लाख रुपैयाँ बचत हुन्छ,’ उनले भनिन्। निगुरोको व्यापार भने चैत अन्तिम सातादेखि मंसिरसम्म हुन्छ । जेठ र असार भने निगुरोको मुख्य सिजन हो। २० देखि २५ जनाले जंगलबाट टिपेर ल्याउने निगुरो भण्डारीले किन्ने गरेकी छन्। एक जनाले ४०/५० मुठासम्म टिप्ने गरेका छन्। ती निगुरो उनले पूर्वपश्चिम राजमार्गमा बसेर बेच्छिन्। एक दिनमा ७ सय मुठासम्म बिक्री हुने गरेको उनी बताउँछिन्।

 

पूर्वका विभिन्न क्षेत्रका व्यापारीसमेत निगुरो किन्न आफूकहाँ आउने उनी बताउँछिन् । व्यापारीसँग प्रतिमुठा बढीमा ३ रुपैयाँमा किनेर खुद्रा बेच्दा १० रुपैयाँसम्म प्रतिमुठा नाफा हुने उनी बताउँछिन्। नजिकै रहेको चारकोसे झाडी (जंगल) बाट टिपेर ल्याएको निगुरो बेचेर मनग्गे आम्दानी हुन थालेपछि भण्डारीमा हिम्मत बढ्दै गएको छ।

 

व्यापारबाट कति आम्दानी हुन्छ त रु उनको गर्विलो उत्तर हुन्छ, ‘निगुरो बेचेर घर बनाएँ, अब गाडी किन्छु।’ निगुरोको कमाइबाट उनले छोरीलाई स्नातक र छोरालाई कक्षा ११ पढाउँदै छिन्। ‘गएको वर्ष नै घर बनाइयो, छोरीको विवाह गरियो, खर्च पनि यही व्यापारले धानिरहेको छ,’ उनी भन्छिन्। राजमार्गमा बसेर व्यापार गर्ने भण्डारीलाई उनकी छोरीले समेत साथ दिने गरेकी छन्।

 

राजमार्गमा हिँड्ने सवारीका यात्रु, विराटनगर, धरान, भेडेटार र काठमाडौंलगायत व्यापारी उनका ग्राहक हुन्। उनले निगुरोसहित केरा, पातलगायत अन्य तरकारी पनि बेच्ने गरेकी छन्। ‘निगुरोको व्यापार मुख्य हो तर अफ सिजनमा पनि जे पाइन्छ, त्यही बेच्छु,’ उनले भनिन्।

भण्डारीको मात्र होइन, पछिल्लो समय चारकोसे झाडीको निगुरो बेचेर गुजारा चलाउनेहरूको संख्या बढ्दै छ। पूर्वपश्चिम राजमार्गमा मात्रै पथरी शनिश्चरेदेखि बेलबारीसम्म निगुरो बेच्नेहरू पाइन्छन् । निगुरो बेचेर सयौं परिवारको घरव्यवहार चलिरहेको स्थानीय पत्रकार उत्तम पोखरेलले बताए। आजको राजधानी दैनिकले खबर छापेको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);