काठमाडौं, १५ कात्तिक । स्वास्थ्यमा सुधार आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालबाटै अनौपचारिक काम सुरु गरेका छन् ।
सोमबार महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा सुधार आएपछि बुधबार बिहानदेखि अनौपचारिक मिटिङमा सरिक भएका हुन् ।
उपचारमा संलग्न मुटुरोग विशेषज्ञ तथा सेन्टरका कार्डियोलोजी विभाग प्रमुख प्राध्यापक डाक्टर अरुण सायमीले प्रधानमन्त्री ओलीलाई राम्रो निन्द्रा लागेको तथा अस्पतालमा नै उपप्रधानान्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री राम बहादुर थापासंग सानो अनौपचारिक मिटिङ गरेको जानकारी दिए ।
अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर उत्तम कृष्ण श्रेष्ठले प्रधानमन्त्रीको स्वास्थ्यमा आएको सुधारले आफुहरुको अनुहारमा खुसी छाएको बताएका छन् ।
प्रधानमन्त्रीको उपचारमा मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको कार्डियोलोजी विभागका प्रमुख प्राध्यापक डाक्टर अरुण सायमीको नेतृत्वमा डाक्टर दिव्या सिंह र डाक्टर सन्त दास सम्मिलित टोली संलग्न छ । बुधबार प्रधानमन्त्री ओलीले माछा खान हुन्छ कि हुन्न भनेर डाक्टरलाई सोधे पछि डाक्टरको सल्लाहमा माछा मगाइएको बताइएको हो ।
उपचारमा संलग्न चिकित्सकहरुका अनुसार प्रधानमन्त्रीलाई दिइएको मुख्य एन्टिबायोटिकको डोज आज सकिनेछ त्यसपछि नशाबाट दिइने औषधिहरु रोकिनेछन् र मुखबाटै खुवाइने छ । पूर्ण स्वास्थ भएपछि मात्र डिस्चार्ज गरिने चिकित्सकहरुको भनाइ रहेको छ ।




