काठमाडौं, २७ असोज । शाहवंशको विरासतका रूपमा रहेको श्रीपेच आउँदो सोमबार (असोज २९ गते)बाट सर्वसाधारणले हेर्न पाउने भएका छन् । नारायणहिटी दरवार सङ्ग्रहालय पुग्ने अवलोकनकर्ताहरूले सुर्खेत र रुपन्देही कक्षमा श्रीपेच देख्न पाउने छन् ।
पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले भने, “सोमबारबाट सबैको प्रतीक्षा सकिदैछ । सुरक्षाका साथ श्रीपेचलाई प्रदर्शनमा राखिनेछ ।” श्रीपेचका साथमा राजदण्ड, तत्कालीन रानीको मुकुट (टायरा), तरवार, राजदण्ड, झारी, चमर लगायत सामग्री पनि प्रदर्शनीमा ल्याइँदैछ ।
दाहालका अनुसार सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीपेच राखिने कक्षको उद्घाटन गर्ने छन् । केही महिनाअघि विभागका महानिर्देशक दाहालकै संयोजकत्वमा गठित समितिले असोजभित्र श्रीपेचलाई प्रदर्शनीमा राख्न सुझावसहितको प्रतिवेदन संस्कृति सचिवसमक्ष बुझाएको थियो ।
दरबार सङग्रहालयका पदाधिकारीहरूका अनुसार श्रीपेचलाई सुरक्षाका सात वटा तहमा राखिने भएको छ । सरकारले गत आर्थिक वर्ष २०६८-६९ को बजेट कार्यक्रममा नै श्रीपेचलाई प्रदर्शनीमा राख्ने घोषणा गरे पनि सुरक्षाको कारण देखाउँदै हालसम्म प्रदर्शनमा राख्न सकिएको थिएन ।
केही वर्षअघि नै बुलेट प्रुफ सिसासहितको सोकेस तयार गरिसकिएको थियो । त्यसमा प्रयोग गरिएको सिसाको परीक्षण गर्ने क्रममा नेपाली सेनाको कालीबहादुर गणले १६ फिट टाढाबाट गोली हान्दा प्वाल नपरी सामान्य चर्किएको मात्र थियो ।
विसं.२०६५ फागुन १६ गतेबाट नारायणहिटी दरबार सङग्रहालय सर्वसाधारणलाई अवलोकनका लागि खुला गरिएको थियो । हालसम्म २९ लाख १४ हजार ७१७ जनाले सङग्रहालय अवलोकन गरिसकेका छन् । दरबार हत्याकाण्ड भएको त्रिभुवन सदनको पुनःनिर्माण गरिसकिएको छ ।
यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।