श्रीपेचसहित १२ वटा महत्वपूर्ण सामग्री अवलोकनका लागि खुला | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

श्रीपेचसहित १२ वटा महत्वपूर्ण सामग्री अवलोकनका लागि खुला

काठमाडौं, २९ असोज । शाहवंशीय राजाहरुले लगाउने श्रीपेच सर्वसाधारणलाई अवलोकनका लागि खुला गरिएको छ । प्रधानमन्त्री केपी ओलीले सोमबार नारायणहिटी दरबार संग्राहलयामा एक समारोहबीच उद्घाटन गरेसँगै श्रीपेचसहितका १२ वटा महत्वपूर्ण सामग्री पनि सर्वसाधारणले अवलोकन गर्न पाउने भएका हुन ।

नारायणहिटी संग्राहलय पुग्ने सर्वसाधारणले अव सो संग्राहलयको सुर्खेत र रुपन्देही कक्षमा श्रीपेचसहितका दरबारका मुख्यमुख्य सामग्रीहरु राजदण्ड, रानीको मुकुट, तरबार, झारीलगायतका सामग्री पनि अवलोकन गर्न पाउनेछन् ।

समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले श्रीपेचको प्रदर्शनी भएको दिनलाई नेपालको इतिहासको स्मरणीय दिनको रुपमा चित्रण गरे । उनले श्रीपेचले नेपालको शाहवंशीय राजाहरुले राष्ट्रको एकीकरणमा पु¥याएको योगदानको पनि स्मरण गराउने उल्लेख गरे ।

कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले ५२ वटा कक्ष रहेको सो संग्राहलयको अरु कक्षहरु पनि क्रमशः सार्वजनिक गर्दै लैजाने योजना सुनाए । उनले दरबारको शक्तिको प्रतिकको रुपमा रहेको श्रीपेचको प्रदर्शनीले नेपालमा पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण सघाउ पु¥याउने विश्वास व्यक्त गरे ।

अवलोकनका लागि राखिएको सो श्रीपेचमा ७ सय २३ वटा हिराको दाना, २ हजार ३ सय ७२ वटा मोतीका दाना, ४७ वटा पन्ना, १६ वटा मणिमाणिक्यजस्ता रत्न जडित रहेका छन् ।

शाहबंशीय राजाहरुले शक्तिको प्रतिकको रुपमा श्रीपेच र राजदण्डलाई धारण गर्ने गर्दथे । पुरातत्व विभागमा महानिर्देशक भेषनारायण दाहालका अनुसार अवलोकनका लागि राखिएको श्रीपेच पूर्वराजा विरेन्द्र शाहका लागि तयार गरिएको थियो ।

काठमाडौंका प्रेमलाल श्रेष्ठले २०२८ सालमा यो श्रीपेच तयार पारेका हुन् । शाहबंशीय राजा राजेन्द्र वीरविक्रम शाहदेवको पालादेखि चलनमा ल्याइएको श्रीपेच राजाहरुले राज्यरोहण, राज्याभिषेक, छोरीको कन्यादान गर्ने बेला, युवराज्ञीलाई भित्र्याउँदा तस्वीर खिचाउँने बेला शीरमा लगाउने चलन रहेको थियो ।

शाहवंशीय अन्तिम राजा ज्ञानेन्द्र शाहले २०६५ साल जेठ २९ गते दरबार छाडेसँगै श्रीपेचलाई दरबारको सैलुन कक्षमा राखिएको थियो । तत्कालीन राजा ज्ञानेन्द्रले मुलुकमा गणतन्त्र स्थापना भएसँगै दरबार छोडेपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नेपालको राष्ट्रिय झण्डोत्तोलन गरी सो दरबारलाई नारायणहिटी संग्राहलयको रुपमा घोषणा गरेका थिए ।

२०६५ साल फागुन १५ गते सर्वसाधारणका लागि खुला गरिएको सो संग्राहलयमा राजदरबारसँग सम्बन्धित धेरै सामग्रीहरु सर्वसाधारणले अवलोकन गर्दै आएका छन् । वर्तमान सरकारले आवश्यक सुरक्षाको व्यवस्था गरी राजदरबारको सबैभन्दा महत्वपूर्ण सामग्री श्रीपेचलाई आजबाट सर्वसाधारणका लागि अवलोकन गर्न मिल्ने गरी सार्वजनिक गरेको हो ।

बुलेट प्रुफ सिसासहितको सोकेसमा श्रीपेच राखिएको छ । नेपालको शाहवंशीय राजाहरुले लगाउने श्रीपेच विश्वकै लागि आकर्षणको केन्द्र हुने विश्वास गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);