काठमाडौं, १७ असोज । अहिले दिनप्रतिदिन बढीरहेका अपराधका घटनाहरु संचारमाध्यमका प्रमुख विषय भइरहेका छन् ।
नेपाल प्रहरीको तथ्याङ्ग अनुसार पनी प्रत्येक वर्ष जघन्य अपराधका घटनाहरु बढ्दै गएको देखिएको छ । जघन्य अपराधमा पनी महिला तथा बालिकामाथि हुने जबरजस्तीकरणीका घटना बढी भएका छन् । किन बढ्दैछन् समाजमा अपराधिक घटना ?
प्रहरी प्रधान कार्यालयको तथ्याङ्गकलाई हेर्दा आ.ब २०७३/७४मा जघन्य प्रकृतिका ५हजार ४ सय ४५ अपराध भएका थिए । यो संख्या आ.ब २०७४/७५ मा ६ हजार ६ सय ४६ पुगेको छ । यी दुई आर्थिक वर्षलाई मात्र तुलना गर्ने हो भने आ.ब २०७३/७४ मा भन्दा आ.ब २०७४/७५ २२ प्रतिशत अपराध बढेको देखिन्छ । अपराधको प्रकृतिलाई हेर्दा महिला तथा बालिका माथि हुने जबरजस्तिकरणीका घटना धेरै भएका छन् । समाजमा बढ्दै गएको अपराधको प्रमुख कारण नै दण्डहिनता र अपराध पिडीत मैत्री कानुन को कमि भएको सरोकारवालाहरुले बताउने गर्दछन् ।
देशमा बढ्दै गएको अपराधले सुरक्षाको अवस्थालाई नै चुनौती दिइरहेका छन् । हत्या, हिंसा, बलात्कार, मानव बेचविखन जस्ता अपराधका पिडीतहरुले न्यायका लागि सडकमा आउनु परेको अवस्था छ । ७ महिनाका बालिका देखि ७० वर्षिय बृद्धा पनि बलात्कारका शिकार भएको समाचार प्रमुख हुने गरेका छन् । कानुनको प्रभावकारी कार्यान्वयन र अपराधीको उन्मुक्तिले पनि उपराधलाई बढाउन सहयोग गरेको विश्लेषण गर्ने गरीएको छ ,
अपराधिक क्रियाकलापमा संलग्नहरुले राजनितीक संरक्षण पाएको भनी सर्वसाधारणहरुले गुनासो गर्ने गर्दछ । अझ कतिपय अवस्थामा नागरीकको सुरक्षामा खटिएका प्रहरी नै अपराधको घेरामा पर्दा राज्य र प्रहरी प्रशासन माथि नै नागरीकको विश्वास घट्दै गएको र अपराधले प्रशय पाएको नागरीकको आरोप हुने गर्दछ । नेपाली समाजमा फेरीएको सामाजिक संस्कारले अपराधमा बढाउनमा सहयोग गरेको नेपाल प्रहरीका प्रवक्ता शैलेश थापा क्षेत्री तर्क गर्छन् ।
नेपाल बढ्दै गएको यो आपराधिक घटनाका कारण अहिले नेपाली समाजलाई सुरक्षाको चुनौती बढेको छ । महिला र बालिका माथिको देखिएको सुरक्षा चुनौतीलाई सरकार र सुरक्षा निकायले गम्भिर हुनु आवश्यक छ ।




