पछिल्लो समय समाजमा आपराधिक घटना बढ्दै | ईमाउण्टेन समाचार

Our Network

भदौ २९ २०८३, मंगलबार

पछिल्लो समय समाजमा आपराधिक घटना बढ्दै

पुष्पा पोखरेल

काठमाडौं, १७ असार । पछिल्लो समय विभिन्न किसिमका आपराधिक घटनाहरु बढ्दै गएका छन् । आपराधिक घटना बढ्नुमा व्यक्तिको मनोविज्ञान, आर्थिक अवस्था, सम्बन्ध तथा पारिवारिक दुश्मनि जस्ता विविध कारणहरु देखिएका छन् । समाजमा अहिले साइबर अपराध बढ्दो छ । अघिल्लो वर्षको तुलनामा ७ प्रतिशतले अपराधिक घटना बढेको प्रहरीको तथ्यांक छ ।

केहि समय अगाडि ललितपुरको गोदावरीमा जेठाजुले आफनै बुहारीलाई खुकुरी प्रहार गरि निर्मम हत्या गरे । उक्त घटना सेलाउन नपाउँदै गत आइतबार भक्तपुरको चाँगुनारायणमा २७ वर्षकी इश्वरी भट्टराईले आफनै आमा ६० वर्षीया लक्ष्मी भट्टराईलाई भारतीय नागरिकलाई नेपाल भित्र्याएर सुपारी दिइ हत्या गर्न लगाइन् ।

यी त भए उपत्यका भित्र भएका जघन्य अपराध । जिल्ला जिल्लामा पनि यस्ता अपराधिक घटना भइ नै रहेका छन् । यस्ता किसिमका घटनाहरुले परिवार भित्रै एउटा सदस्य अर्काे सदस्यसंग सुरक्षित हुन नसकेको देखिन्छ ।

यी घटनाहरु त एउटा उदाहरण मात्र हुन । यी र यस्ता घटना समाजमा अहिले त्रासको रुपमा फैलिरहेका छन् । यस्ता किसिमका जघन्य अपराध हुनुमा मुख्य तिनवटा कारणहरु देखिन्छन । ति हुन लागुऔषध, उत्तेजना र महिला ।

कुनै पनि व्यक्तिले अपराध गर्नु वा त्यस्तो किसिमको आपराधिक घटनामा संलग्न हुनुको विविध कारणहरु मध्ये प्रमुख कारण उस्को मनोविज्ञानलाई मानिन्छ । त्यस्तै उस्को मानसिक सन्तुलन ठिक नभएको कारण पनि यस्तो मान्न सकिन्छ । कानुनको प्रभावकारी कार्यान्वयन हुन नसक्दा यस्ता किसिमका आपराधिक घटना बढ्दै गएको छ ।

महानगरीय अपराध महाशाखा टेकुका अनुसार आर्थिक वर्ष २०७५।७६ को अपराध संख्याको लिष्ट हेर्ने हो भने अघिल्लो वर्षको भन्दा केहि घटेको देखिन्छ । तर साइबर सम्बन्धी अपराध भने बढ्दै गएको छ ।

महानगरीय अपराध महाशाखाले गरेको अनुसन्धानमा आर्थिक वर्ष २०७५।७६ को कर्तव्य ज्यान सम्बन्धी कसुरमा ११ वटा मुद्दा दर्ता भएका छन् । जसमा २२ जना पुरुष र ४ जना महिला गरि जम्मा २६ जना अपराधको दायरा भित्र परेका छन् ।

सबै किसिमका अपराधमा संलग्नको संख्या जम्मा जम्मी ६०४ जना रहेको छ । यसरी दैनिक जस्तो अनेक नाम र बहानामा हुने अपराधिक घटनाले सर्वसाधरणले असुरक्षित महशुस गरेका छन् ।

ताजा समाचार