केदार शर्मा
चितवन, ३० भदौ । चितवनमा करीब पाँच सय माझी मुसहरहरुको रोजगारी खोसिएको छ । चितवन स्थित राष्ट्रिय निकुञ्जले २ बर्ष देखि खोला, नदीमा माछा मार्न रोक लगाएपछि उनीहरुको आय आम्दानीको वाटो नै बन्द भएको हो ।
चितवनको खैरहनी नगरपालिका कठारमा बिगत चार पुस्तादेखि बसोबास गर्दै आएका २१ घर माझी मुसहरलाई, यतिबेला खाने लाउनेको समस्याले पिरोल्न थालेको छ ।
माछा मारेर आफ्नो जीविका चलाउँदै आएका माझी मुसहर नजिकका नदी तथा खोलामा माछा मार्न चितवन स्थित राष्ट्रिय निकुञ्जले रोक लगाएपछि उनीहरुलाई हातमुख जोर्न समस्या भएको हो ।
माझीले पुर्खादेखि गदैै आएको पेशा सरकारले बन्द गरेपछि उनीहरुले स्थानीय प्रतिनिधीसंग सुनुवाईको माग समेत गरेका थिए । तर, कुनै सनुवाई नभएको अगुवा माझी बताउँछन् ।
मुशहर अहिले कण्ठेश्वरी मध्यवर्ती सामुदायिक वन सिमानामा कठार माविको स्वामित्वमा रहेको ऐलानी जग्गामा बस्दै आएका छन् । उनीहरुको नाममा नागरिकता पनि नभएको र बालबालिकाको जन्मदर्ता गराउन समेत समस्या भएका कारण व्यवस्थापन कठिन भएको खैरहनी नगरपालिकाले जनाएको छ ।
चितवनमा करीब ५ सय जना माझी मुसहरहरु बस्ने गरेका छन् । लामो सयमदेखि वसोवास गदै आएका यी समुदायलाई व्यवस्थापनका लागि बिभिन्न ठाउँबाट सहयोग पाप्त भएपनि त्यसको सदुपयोग भने भएको छैन ।