खोटाङ । स्थानीय तह निर्वाचनबाट खोटाङमा माझी समुदायका तीन जनाले जनप्रतिनिधिका रूपमा चुनिने अवसर पाएका छन् ।
जिल्लाका १० स्थानीय तहमध्ये दिप्रुङ चुइचुम्मा गाउँपालिका–४, बतासे भँडारेघाटका सुब्बा माझी, रावाबेँसी गाउँपालिका–३ लामीडाँडा माझीगाउँका सोमबहादुर माझी र हलेसी तुवाचुङ नगरपालिका–४ बडहरे घोपाटारका वीरबहादुर माझीले जनप्रतिनिधिका रूपमा प्रतिनिधित्व गर्ने अवसर पाएका हुन् ।सोमबहादुर र वीरबहादुर ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनबाट वडा सदस्यमा विजयी हुँदा सुब्बा भने कार्यपालिका निर्वाचनबाट सदस्य चुनिएका हुन् ।३६ वर्षीय सुब्बा एमालेकातर्फबाट कार्यपालिका सदस्यमा विजयी भएका हुन् । ३७ वर्षीय सोमबहादुर कांग्रेस र ६१ वर्षीय वीरबहादुर एमालेकातर्फबाट वडा सदस्य निर्वाचित भएका हुन् ।निर्वाचनको मुखमा वीरबहादुर कांग्रेसबाट एमाले प्रवेश गरेका थिए । उनी पूर्वहवल्दार हुन् । निर्वाचनमा सोमबहादुरले ७०२ र वीरबहादुरले ४२३ मत पाएका थिए । पाँच वर्ष साउदीअरब बसेर दुई वर्षअघि गाउँ फर्किएका सोमबहादुर गाउँको सेवा गर्नका लागि जनप्रतिनिधि बनेको बताउँछन् ।विगतमा कांग्रेसमा आस्था राख्दै आएका माझीले दुई वर्षअघि मात्र क्रियाशील सदस्यता लिएका थिए ।
‘पाँच वर्ष विदेशमा बसेँ । अब विदेश जान्नँ । यही ठाउँको सेवा गर्छु’ माझीले भने, ‘पछि परेको समुदायको उत्थानमा समय खर्च गर्छु ।’२०७४ सालको स्थानीय तहको निर्वाचनमा लामीडाँडामा कांग्रेसबाट सोमबहादुर माझी नामको अर्कै उम्मेदवार वडा सदस्यमा विजयी भएका थिए ।
यस्तै, दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासे भँडारेघाटका ज्ञानबहादुर माझी कार्यपालिका सदस्यमा चुनिएका थिए ।जिल्लाको लामीडाँडा रभुँवा, घोपाटार, जयराम, भँडारेघाट, सानोभँडारे, रसुवाघाट, गोडुलीघाटलगायतका सुनकोसी र दुधकोसी किनारमा डुङ्गा चलाउने र माछा मार्ने पुख्र्यौली पेसा भएका माझी समुदायले राज्यबाट अवसर नपाएको गुनासो गर्दै आएका छन् ।




